कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाललाई पहिलो घरेलु शृंखला

नेपालले सन् २०१८ मा नेदरल्यान्ड्ससँग खेल्दै एकदिवसीय क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा सुरू गरेको थियो
विनोद पाण्डे

काठमाडौँ — नेपाली ब्याटरहरू यूएईसँगको पहिलो दुई एकदिवसीय अन्तर्राष्ट्रियमा रन बनाउनमै संघर्षरत रहे । शुक्रबारको स्थिति ठीक फरक थियो । आसिफ शेख र ज्ञानेन्द्र मल्लले शतकीय साझेदारी गरेपछि नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेलमा ६ विकेटको विजय हात पार्‍यो । 

नेपाललाई पहिलो घरेलु शृंखला

नेपालले टस हारेपछि ब्याटिङमा निम्त्याइएको यूएईले त्रिवि क्रिकेट मैदानमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ७६ रनमात्र बनाउन सकेको थियो । आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटमा १ सय २२ रनको साझेदारी गरेपछि नेपालले ४०.१ ओभरमा १ सय ८० रन बनाउँदै विजय लक्ष्य पूरा गर्‍यो ।

यससँगै नेपालले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको छ । पहिलो खेलमा यूएईसँग ८४ रनले घुँडा टेकेको नेपालले दोस्रो खेलमा ३ विकेटको रोमाञ्चक जित हात पार्दै शृंखला बराबरीमा ल्याएको थियो । सन् २०१९ मा पनि नेपालले दुबईमा गएर तीन खेलको शृंखला खेल्दा पहिलो खेलमा पराजित भए पनि अन्त्यमा २–१ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

पहिलो घरेलु द्विपक्षीय शृंखला

यूएईसँगको विजय नेपालले घरेलु मैदानमा प्राप्त गरेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय द्विपक्षीय शृंखला हो । चार वर्षअघि जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता गरेको नेपालले त्यसयता केवल दोस्रो द्विपक्षीय शृंखला खेलिरहेको हो । मार्चमा पपुवा न्युगिनीसँग भएको पहिलो द्विपक्षीय शृंखलामा नेपाल दुवै खेलमा पराजित भएको थियो । नेपालले द्विपक्षीय शृंखला खेलेको यही एक अवसरमात्र हो ।

नेपालले सन् २०१८ मा नेदरल्यान्ड्ससँग खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको थियो । एम्स्ट्रर्डम भएको उक्त शृंखला नेपालले १–१ को बराबरीमा टुंग्याएको थियो । गत वर्षको सेप्टेम्बरमा यूएईमा भएको पपुवा न्युगिनीसँगको द्विपक्षीय शृंखलामा भने नेपालले २–० ले जितेको थियो ।

‘नतिजा सबैको अगाडि छ, हाम्रो टिमले जसरी खेल्यो त्यसको म उच्च सम्मान गर्छु । यो उनीहरूको सिकाइको प्रक्रिया हो र उनीहरू मैले चाहे जसरी चाँडो गतिमा सिकिरहेका छन्,’ नेपालका प्रशिक्षक मनोज प्रभाकरले भने, ‘यो एकदमै युवा टोली हो, यसको भविष्य राम्रो छ । उनीहरू अझै अपरिपक्व छन् । फिल्डिङ सजावट, कप्तानी अझै उनीहरूले सिक्न बाँकी छ । उनीहरूले समय आएपछि यो सुधार्ने छन् ।’

दोस्रो उच्च साझेदारी र पाँचौं अर्धशतक

आसिफ र ज्ञानेन्द्रले ठूलो साझेदारीका क्रममा केही कीर्तिमान पनि बनाए । उनीहरूले जोडेको १ सय २२ रन एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको दोस्रो उच्च साझेदारी हो । मार्चमा पपुवा न्युगिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले यसअघि तेस्रो विकेटमा १ सय २९ रन जोडेका थिए ।

अर्जुन साउद ३३ बलमा ९ रनमा आउट भएपछि आसिफ र ज्ञानेन्द्र विकेटमा जमेका थिए । आफ्नो परम्परागत शैलीभन्दा फरक केही खुलेर खेलेका ज्ञानेन्द्र ६३ रन बनाई आउट भए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर हो । गत वर्ष मस्कटमा ओमानविरुद्ध अविजित ५२ रन बनाएयता उनको पहिलो अर्धशतक हो । आयन खानको बलमा एलबीडब्लु आउट हुनुअघि उनले ७३ बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गरे ।

आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पाँचौं अर्धशतक बनाउनेक्रममा म्याच विजयी ८८ रन जोडे । यो उनको दोस्रो उच्च स्कोर हो । गत वर्षको सेप्टेम्बरमा उनले ओमानविरुद्ध ९० रन बनाएका थिए । उनले १ सय १९ बल खेल्दै १२ चौका प्रहार गरे । स्कोर बराबर भएको अवस्थामा प्लेयर अफ द म्याच आसिफले विजयी चौका प्रहार गरे । ५ रनमै हुँदा पाएको जीवनदानको उनले भरपूर फाइदा उठाए । कप्तान रोहित पौडेल १० र दीपेन्द्र खाता खोल्नुअघि आउट भए । दुवै रनआउट भएका हुन् ।

आसिफ र ज्ञानेन्द्र दुवैले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पाँचौं अर्धशतक बनाए । नेपालबाट सर्वाधिक अर्धशतक बनाउने सूचीमा उनीहरू रोहित पौडेलको समकक्षमा पुगेका छन् । आसिफले १९, ज्ञानेन्द्रले २२ र रोहितले २८ खेल खेल्दै यो सफलता हात पारेका हुन् । उनीहरूलाई पछ्याइरहेका आरिफ शेखले चार अर्धशतक बनाएका छन् । नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने सूचीमा पनि रोहित, आसिफ, ज्ञानेन्द्र र आरिफ पहिलो चार स्थानमा छन् ।

अन्तिम विकेटको साझेदारी

यूएईले खराब सुरुआत गरेको थियो । टोलीले ९३ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो । आयन खान र हजरत बिलालले अन्तिम विकेटमा अविजित ८३ रनको साझेदारी गरेपछि यूएई केही बलियो बनेको थियो । दसौं विकेटमा यौ चौथो ठूलो साझेदारी हो । वेस्ट इन्डिजका भिभियन रिचर्डसले माइकल होल्डिङसँग मिलेर सन् १९८४ मा इंग्ल्यान्डविरुद्ध म्यानचेस्टरमा अविजित १ सय ६ रन जोडेका थिए, जुन १० औं विकेटको अहिलेसम्मकै उच्च साझेदारी हो ।

यसै शृंखलाबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका आयनले ६३ बलमा अविजित ५४ रन बनाए । उनले ७ चौका र १ छक्का प्रहार गरे । बिलालले ५४ बल खेल्दै १ छक्कासहित २० रन बनाए । दुवैको एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च स्कोर हो । त्यसअघि एलिसन सराफुले ३३ र रोहन मुस्तफाले २४ रन बनाएका थिए । सराफुले ६९ बल खेल्दै ४ चौका प्रहार गरे । पूर्वकप्तान मुस्तफाले ५६ बलको इनिङ्समा २ चौका प्रहार गरे । ओपनर मोहम्मद वासिमले ११ रन बनाए । दोस्रो ओभरको पहिलो बलमै वासिमले गुलशन झाको बलमा छक्का प्रहार गरेका थिए । त्यसको अर्को बलमा गुलशनले वासिमलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराए । अर्का ओपनर वृत्य आनन्दलाई सोमपाल कामीले शून्यमा बोल्ड गरे । गुलशनले यूएईका कप्तान सीपी रिजवानलाई ४ रनमा आसिफबाटै क्याच गराएपछि नेपालले खेल नियन्त्रणमा लिएको थियो । सराफु र मुस्तफाले चौथो विकेटमा ६३ रनको साझेदारी गरे । दीपेन्द्रसिंह ऐरीले मुस्तफालाई कुशलबाट उत्कृष्ट क्याच गराएपछि यूएईको पतन पुनः सुरु भएको थियो । सराफुलाई कुशलले आफ्नो लेग स्पिनबाट बोल्ड गरे । बसिल हमिद ८ र विष्णु सुकुमरन २ रनमा आउट भए । पूर्वकप्तान अहमद राजा र जाहुर खानले खाता खोल्न सकेनन् । जाहुर रनआउट भए ।

नेपालबाट गुलशन, दीपेन्द्र र कुशलले २–२ विकेट लिए । दीपेन्द्रले १० ओभरमा ३ मेडन राख्दै २२ रन खर्चे । ललित राजवंशीले १० ओभरमा २ मेडन राख्दै २० रनमात्र खर्चेर १ विकेट लिए । नेपालले अलराउन्डर करण केसीको स्थानमा हरिशंकर शाहलाई प्लेयिङ ११ मा राखेको थियो । हरिशंकरले यसै शृंखलाको पहिलो खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

प्रकाशित : मंसिर ३, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?