कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लाइभ बेटिङ गर्ने ५० जना पक्राउ

काठमाडौँ — नेपाल र यूएईको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलका क्रममा ‘लाइभ बेटिङ’ गर्दै गरेको अवस्थामा नेपाल प्रहरीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरबाट एक हूललाई पक्राउ गरेको छ । उनीहरूलाई दर्शकदीर्घाबाट पक्राउ गरिएको हो ।

लाइभ बेटिङ गर्ने ५० जना पक्राउ

हरेक बलपिच्छे लाइभ बेटिङ राखेको, ब्याटिङ र पूरै खेलको पनि बाजी लगाएको, पैसा अनलाइनबाटै लेनदेन गरेको पाइएपछि कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५० जनालाई नियन्त्रणमा लिएको थियो । त्यसमा ६ जनाको संग्लग्नता नदेखिएपछि उनीहरूलाई छाडिएको छ । बाँकी पक्राउ परेका ४४ जना सबै भारतीय भएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ८० थान मोबाइल बरामद गरिएको छ ।

लाइभ बेटिङ प्रकरणको सीआईबी र साइबर ब्युरोले संयुक्त रूपमा अनुसन्धान गरिरहेको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम सुवेदीले बताए । यूएईले ब्याटिङ गरिरहेको अवस्थामा सुरुआती घन्टामै दर्शकदीर्घामा रहेका शंकास्पद व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सबैलाई सीआईबीको नियन्त्रणमा राखिएको छ । सोमबार भएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलबाटै उनीहरूलाई निगरानीमा राखेर शुक्रबार प्रमाण भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ३, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?