अन्ततः स्टोक्सले पाए मुक्ति- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्ततः स्टोक्सले पाए मुक्ति

पाकिस्तानलाई पराजित गर्दै इंग्ल्यान्ड च्याम्पियन
द गार्डियन

मेलबर्न — मौसमको भविष्यवाणी पूर्णतः गलत रह्यो । इंग्ल्यान्डका लागि भने सबथोक ठीकठाक रह्यो । आखिरमा पानीले खेल बिथोल्न सकेन र जस बटलरको टिम मेलबर्नमा बन्यो, नयाँ ट्वान्टी–२० विश्वकप च्याम्पियन । खेलका खास नायक भने बेन स्टोक्स रहे । उनको बानी नै छ, ठूलो महत्त्वको खेलमा ठूलै खेल्ने । उनकै निर्णायक इनिङ्सको मद्दतले इंग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हरायो र दोस्रोपल्ट ट्वान्टी–२० विश्व च्याम्पियन बन्यो ।

इंग्ल्यान्डले पछिल्लोपटक सन् २०१६ मा यस विश्वकपको फाइनल खेलेको थियो । त्यसमा स्टोक्सकै अन्तिम ओभरमा इंग्ल्यान्ड पराजित रह्यो । निकै महँगो ओभर थियो, त्यो । उनी खलनायक सावित भए । उनी आफैं स्तब्ध भएका थिए । त्यसको ६ वर्षपछि उनैले इंग्ल्यान्डलाई उपाधि दिलाएका छन्, त्यो पनि एक ओभरको खेल बाँकी छँदै । इंग्लिस टेस्ट टिमका कप्तान आफैंमा नाटकबाज हुन्, उनले आफ्नो पहिलो ट्वान्टी–२० अर्धशतकका लागि ठूलै अवसर खोजे । पाकिस्तानले सुरुमा कमजोर ब्याटिङ गरेको थियो ।

पछि इंग्ल्यान्डले ब्याटिङ गर्दा सुरुमै केही विकेट लिए । त्यसैले खेल तनावपूर्ण अन्त्यतिर अग्रसर देखिएको थियो । तर पाकिस्तानको जितको सम्भावना यसरी एकाएक गायब भयो कि कसैले चालै पाएनन् । कुनै–कुनै खेलमा कति बेला निर्णायक मोड आयो भनेर भन्नै गाह्रो छ । तर फाइनल यस्तो थिएन । अपेक्षाभन्दा कम १ सय ३७ रनमै समेटिएपछि पाकिस्तानका लागि नसिम शाहले फास्ट बलिङको राम्रो नमुना पेस गरे तर पुरस्कार भने पाएनन् ।

खेलको १३ औं ओभरको मध्य भागमा ह्यारी ब्रोकले लङ–अफतिर बल माथि उठाएर प्रहार गरे । त्यसमा साहिद अफ्रिदीले मीठो क्याच लिए । तर खुसीयाली मनाउनुको स्थानमा २२ वर्षीय अफ्रिदीले आफू चोट बोकेको संकेत गरे र सहयोग मागे । खुट्टा खुम्च्याउँदै उनले मैदान छाडे । तर आश्चर्यजनक रूपमा फेरि एक ओभर बलिङ गर्न मैदानमा फर्के । उनी एकै बल मात्र टिक्न सके । त्यसपछि उनले फेरि मैदान छाडे र फर्नेनन् । त्यो ओभर सकाउने जिम्मेवारी इफ्टिखर अहमदले पाए ।

स्टोक्स यही मौका त कुरिरहेका थिए । उनले त्यसमा एक चौका र एक छक्का प्रहार गरे । मोहम्मद वासिमको अर्को ओभरमा मोइन अलिले सुरुमै दुई चौका प्रहार गरे । इंग्ल्यान्डले चार बलमा १८ रन बटुलेको थियो र खेल एकाएक पूर्णतः इंग्ल्यान्डको पक्षमा मोडियो । अली सात रन चाहिएको बेला आउट भए, १९ जबरदस्त रन बनाए । तर स्टोक्स मैदानमा डटिरहे । उनले ५२ रन बनाई अविजित पनि रहे । अनि १९ औं ओभरमा अन्तिम बलमा विजयी रन बनाए ।

पूरा इनिङ्सका क्रममा स्टोक्स शान्त र संयमित रहे । तर बलिङमा उनको सुरुआत कहाँ राम्रो थियो र ? उनको पहिलो बल नो–बल थियो अनि लगत्तै वाइड फ्याले । लगत्तै क्रिस वक्सले पनि वाइडसँगै आफ्नो ओभर सुरु गरे । त्यति बेला लागिरहेको थियो, ठूलो अवसरको दबाबले उनीहरू पिसिएका छन् । तर बलबाटै आदिल रसिद र साम करन भने सटीक रहे । विशेषतः करनको बलिङ खुबै धारिलो रह्यो । उनका चार ओभरमा दुई अन्त्यमा थिए ।

यसबीच उनले जम्माजम्मी १२ रन खर्चे र तीन विकेट लिए । रसिदले भने २२ रनमा दुई विकेट लिए । त्यसमध्ये १२ औं ओभरमा उनले एक विकेट मात्र लिएनन्, त्यो मेडन पनि रह्यो, त्यो पनि विश्वकप फाइनलमा । पाकिस्तानी इनिङ्समा खालि एक ओभर उल्लेखनीय रह्यो । लियाम लिभिङस्टोनको एक मात्र ओभरमा सन मसुदले आक्रामक भएर रन बटुले । त्यसबाहेक पाकिस्तानको बलिङ आफैंमा सटीक हुन सकेन, जति अपेक्षा गरिएको थियो ।

पाकिस्तानलाई कोही न कोही बलरमाथि आक्रामक गर्नु नै थियो, त्यही दबाबमा उसले लगातार विकेट पनि गुमाएको थियो । फेरि इंग्ल्यान्डको ब्याटिङ क्रम कति बलियो थियो भने त्यस अगाडि पाकिस्तानको त्यो स्कोर चुनौतीको पहाड सावित भएन । पाकिस्तानको त्यो स्कोर रक्षा गर्नका लागि पाकिस्तानसँग योभन्दा अझ उम्दा बलिङ आक्रामक चाहिन्थ्यो । अन्त्यमा इंग्ल्यान्ड जित मात्र होइन, उपाधिकै हकदार देखियो । अनि यससँगै स्टोक्सले मुक्ति पनि पाएका छन् ।

प्रकाशित : कार्तिक २८, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्

मेडलाई विश्वकपप्रति सम्मान छैन

‘यसपल्टको विश्वकपप्रति मेरो समर्थन छैन, यो प्रतियोगितालाई प्रचारप्रसार गर्न मैले कुनै भूमिका खेल्ने छैन । वास्तवमा म निकै निराश छु । पक्कै पनि यो फुटबलको प्रतियोगिता हो, तर कतारमा हुने विश्वकपप्रति मेरो पटक्कै सम्मान भन्ने नै छैन ।’
द गार्डियन

लन्डन —  इंग्लिस फरवार्ड बेथ मेडले कतारमा हुने पुरुष विश्वकपमा आफ्नो कुनै समर्थन नरहेको बताएकी छन् । कतारमा समलैंगिक सम्बन्ध गैरकानुनी रहेको हुनाले मेडको समर्थन नगरेको बताइन् ।

उनी आर्सनलकी सहकर्मी भिभिन मेडेमासँगको सम्बन्धमा छिन् । हालै बेलायती मिडियासँग कुराकानी गर्दै उनले कतारमा समलैंगिक सम्बन्ध प्रतिबन्धमा रहनु आफ्नो विश्वास र आस्था विपरीत रहेको बताइन् ।

मेडले भनिन्, ‘यसपल्टको विश्वकपप्रति मेरो समर्थन छैन, यो प्रतियोगितालाई प्रचारप्रसार गर्न मैले कुनै भूमिका खेल्ने छैन । वास्तवमा म निकै निराश छु । पक्कै पनि यो फुटबलको प्रतियोगिता हो, तर कतारमा हुने विश्वकपप्रति मेरो पटक्कै सम्मान भन्ने नै छैन ।’

मेडसँगै धेरै अन्तर्राष्ट्रिय फुटबल खेलाडीले नैतिक रूपमा यसपल्टको विश्वकपप्रति आफ्नो विमति रहेको बताएका छन् । इंग्लिस कप्तान ह्यारी केनसँगै सात युरोपेली देशका कप्तानले विश्वकपका खेलमा क्रममा कुनै प्रकारको विभेदविरुद्धको ‘आर्मब्यान्ड’ लगाएर खेल्ने बताइसकेका छन् । मेड भन्छिन्, ‘इंग्लिस पुरुष टिमप्रति मेरो समर्थन रहने छ । तर जतिबेला कतारमा विश्वकप आयोजना गर्ने निर्णय भयो, त्यही बेलादेखि मलाई यो ठीक लागेको थिएन ।’

उनले थपिन्, ‘हामी अहिले २१ औं शताब्दीमा छौं । हामी त्यहीसँग मायामा पर्छौं, जसलाई साँच्चै माया लाग्छ । माया कसलाई हुन्छ, त्यसले केही फरक पर्दैन ।’ मेडले मेडेमासँगको आफ्नो सम्बन्ध कहिले पनि लुकाएकी छैनन् । यसै वर्षको वुमेन्स युरोपेली च्याम्पियन्सिपमा २७ वर्षीया मेडले गोल्डेन बुट अवार्डसँगै उत्कृष्ट खेलाडीको अवार्ड जितेकी थिइन् ।

प्रकाशित : कार्तिक २३, २०७९ ०८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×