इंग्ल्यान्ड बन्यो ट्वान्टी-२० विश्वकप च्याम्पियन- खेलकुद - कान्तिपुर समाचार

इंग्ल्यान्ड बन्यो ट्वान्टी-२० विश्वकप च्याम्पियन

एजेन्सी

मेलबर्न — ब्याटसम्यान बेन स्टोक्सको बहादुरीपूर्ण प्रदर्शनको मद्दतले इंग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै आइतबार ट्वान्टी-२० विश्वकप जितेको छ । इंग्ल्यान्ड वान डे विश्वकपको पनि च्याम्पियन हो ।

यस्तैमा इंग्ल्यान्ड वान डे तथा ट्वान्टी-२० विश्वकप दुवैको एकै समय विजेता रह्यो र दुर्लभ उपलब्धी आत्मसात् गर्न सफल रह्यो ।

मेलबर्न क्रिकेट मैदानमा जितका लागि १ सय ३८ रनको लक्ष्य पाएको इंग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर विजयी रन बनायो । स्टोक्सले दबाबको स्थितिमा ५२ रन बनाउँदै नटआउट रहे । ट्वान्टी-२० क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो । उनलाई मोइन अलिले बलियो साथ दिए र उनले महत्त्वपूर्ण १९ रन बनाए । त्यसअघि कप्तान जस बटलरलले २६ रन बनाएका थिए ।

पाकिस्तानी बलर साहीन अफ्रिदी चोटका कारण मैदान छाड्न बाध्य रहेपछि खेल इंग्ल्यान्डको पक्षमा मोडिएको हो । इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङको निर्णय गरेको थियो । त्यस क्रममा उसले कसिलो बलिङ तथा सटिक फिल्डिङको मद्दतले पाकिस्तानलाई २० ओभरमा आठ विकेट गुमाएर १ सय ३७ रनमा रोकेको थियो ।

पाकिस्तानका लागि सन मसुदले ३८ रन बनाए र यो नै व्यक्तिगत उच्च स्कोर रह्यो । यस्तै कप्तान बाबर आजमले ३२ तथा सादब खानले २० रन बनाए । पाकिस्तानले नियमित अन्तरमा विकेट गुमाएपछि चुनौतीपूर्ण स्कोर खडा गर्न सकेन । इंग्लिस बलरमध्ये साम करन सबैभन्दा सफल रहे र उनले १२ रनमा तीन विकेट लिए । यस्तै अदिल रसिद र क्रिस जोर्डनले दुई दुई विकेट हात पारे ।

प्रकाशित : कार्तिक २७, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्

क्रिप्टोकरेन्सी एक्स्चेन्ज कम्पनी 'एफटीएक्स' संकटमा

एजेन्सी

काठमाडौँ — विश्वकै दोस्रो ठूलो क्रिप्टोकरेन्सी एक्स्चेन्ज कम्पनीका रुपमा स्थापित हुन सफल भएको ‘एफटीएक्स’ संकटमा परेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अबको केही सातामा यो कम्पनीको अस्तित्व सकिनेछ । अन्य मुद्रालाई क्रिप्टोका रुपमा कारोबार गर्दै आएको एफटीएक्स संकटमा परेसँगै बिटक्वाइन, इथेरियमजस्ता डिजिटल करेन्सीको मूल्यमा थप गिरावट आएको छ ।

एफटीएक्सले अमेरिकामा ‘ब्यांक्रप्सी’को लागि निवेदन दिएको छ । यसको अर्थ सो कम्पनीले अब ऋण तिर्न नसक्नेगरी संकटमा पुगेको घोषणा गर्न चाहेको छ । अदालतको स्वीकृतिपछि अब यो कम्पनीलाई अन्य कसैले सम्पत्ति तथा दायित्व मूल्यांकन गरी स्वीकार्न चाहेमा पुर्नसंरचना गरी सञ्चालन गर्न सक्नेछन् । यसका सीईओ रहेका बैंकमेन फ्राइडले सो पदबाट राजीनामा दिनुपरेको छ । उनले शुक्रबार मात्रै आफ्नो ट्विटरमा क्षमा माग्दै ‘ब्यांकरप्सी’को लागि निवेदन दिएको पुष्टि गरेका छन् ।


कम्पनीलाई नगदको संकट परेसँगै 'ब्यांक्रप्सी'मा पुगेको हो । एफटीएक्स संकटमा परेसँगै यससँग जोडिएका क्रिप्टोकरेन्सी तथा ब्ल्कचेनसँग जोडिएका कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । पछिल्ला साता क्रिप्टो मार्केटमा भारी गिरावट देखिएको छ । पछिल्लो ७ दिनमा बिटक्वाइनको मूल्य २२ प्रतिशतले घटेको छ । हाल यसको मूल्य १६ हजार ५५० अमेरिकी डलर हाराहारीमा झरेको छ । त्यस्तै अर्को करेन्सी इथेरियमको मूल्य सोही अवधिमा २३ प्रतिशत घटेर १२२७ डलर हाराहारीमा छ । एफटीएक्सलाई अर्को उस्तै कम्पनी बाइनान्स एक्सचेन्जले अधिग्रहण गर्न खोजेपनि पछि हटेको थियो । हाल क्रिप्टोकरेन्सीको बजार पुँजीकरण घट्दै गएको छ । क्रिप्टोमा गरेको लगानीबाट लगानीकर्ता बाहिरिँदै गएका छन् ।

प्रकाशित : कार्तिक २७, २०७९ १७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×