मेडलाई विश्वकपप्रति सम्मान छैन

‘यसपल्टको विश्वकपप्रति मेरो समर्थन छैन, यो प्रतियोगितालाई प्रचारप्रसार गर्न मैले कुनै भूमिका खेल्ने छैन । वास्तवमा म निकै निराश छु । पक्कै पनि यो फुटबलको प्रतियोगिता हो, तर कतारमा हुने विश्वकपप्रति मेरो पटक्कै सम्मान भन्ने नै छैन ।’
द गार्डियन

लन्डन —  इंग्लिस फरवार्ड बेथ मेडले कतारमा हुने पुरुष विश्वकपमा आफ्नो कुनै समर्थन नरहेको बताएकी छन् । कतारमा समलैंगिक सम्बन्ध गैरकानुनी रहेको हुनाले मेडको समर्थन नगरेको बताइन् ।

उनी आर्सनलकी सहकर्मी भिभिन मेडेमासँगको सम्बन्धमा छिन् । हालै बेलायती मिडियासँग कुराकानी गर्दै उनले कतारमा समलैंगिक सम्बन्ध प्रतिबन्धमा रहनु आफ्नो विश्वास र आस्था विपरीत रहेको बताइन् ।

मेडले भनिन्, ‘यसपल्टको विश्वकपप्रति मेरो समर्थन छैन, यो प्रतियोगितालाई प्रचारप्रसार गर्न मैले कुनै भूमिका खेल्ने छैन । वास्तवमा म निकै निराश छु । पक्कै पनि यो फुटबलको प्रतियोगिता हो, तर कतारमा हुने विश्वकपप्रति मेरो पटक्कै सम्मान भन्ने नै छैन ।’

मेडसँगै धेरै अन्तर्राष्ट्रिय फुटबल खेलाडीले नैतिक रूपमा यसपल्टको विश्वकपप्रति आफ्नो विमति रहेको बताएका छन् । इंग्लिस कप्तान ह्यारी केनसँगै सात युरोपेली देशका कप्तानले विश्वकपका खेलमा क्रममा कुनै प्रकारको विभेदविरुद्धको ‘आर्मब्यान्ड’ लगाएर खेल्ने बताइसकेका छन् । मेड भन्छिन्, ‘इंग्लिस पुरुष टिमप्रति मेरो समर्थन रहने छ । तर जतिबेला कतारमा विश्वकप आयोजना गर्ने निर्णय भयो, त्यही बेलादेखि मलाई यो ठीक लागेको थिएन ।’

उनले थपिन्, ‘हामी अहिले २१ औं शताब्दीमा छौं । हामी त्यहीसँग मायामा पर्छौं, जसलाई साँच्चै माया लाग्छ । माया कसलाई हुन्छ, त्यसले केही फरक पर्दैन ।’ मेडले मेडेमासँगको आफ्नो सम्बन्ध कहिले पनि लुकाएकी छैनन् । यसै वर्षको वुमेन्स युरोपेली च्याम्पियन्सिपमा २७ वर्षीया मेडले गोल्डेन बुट अवार्डसँगै उत्कृष्ट खेलाडीको अवार्ड जितेकी थिइन् ।

प्रकाशित : कार्तिक २३, २०७९ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्

कतारलाई विश्वकप दिनु भुल : ब्लाटर

एपी

लन्डन — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का पूर्व अध्यक्ष सेप ब्लाटरले आसन्न विश्वकप २०२२ को आयोजना अधिकार कतारलाई दिनु भुल भएको मंगलबार बताएका छन् ।सन् २०१० मा कतारलाई विश्वकप आयोजनाको अधिकार दिँदा ब्लाटर फिफाका अध्यक्ष थिए । समलिंगी सम्बन्ध, मानव अधिकार र आप्रवासी कामदारप्रतिको दृष्टिकोणलाई लिएर खाडी देश कतारको चर्को आलोचना हुँदै आएको छ । 

अहिले ८६ वर्षका ब्लाटरले स्विस पत्रिका टागेस एनजेगरलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘कतार निकै सानो देश हो, फुटबल र विश्वकप योभन्दा निकै ठूलो छ ।’ विश्वकपको ९२ वर्ष लामो इतिहासमा यो प्रतियोगिताको आयोजना गर्ने कतार पहिलो मध्यपूर्वको देश हो । यस्तै विश्वकप पहिलोपल्ट नोभेम्बर–डिसेम्बर महिनामा हुँदै छ ।

फिफाको कार्यकारी कमिटीमा भएको मतदान कतारको पक्षमा १४–८ रहेको थियो । कतारले १२ वर्षअगाडिको त्यस मतदानमा अमेरिकालाई पछाडि पारेको थियो ।

त्यही बेला सन् २०१८ को विश्वकप रुसमा गर्ने निर्णय पनि भएको थियो । आफूले अमेरिकाको पक्षमा मतदान गरेको दाबी गर्दै ब्लाटरले कतार विजयी रहनु पछाडि युरोपेली फुटबल महासंघका तत्कालीन अध्यक्ष मिचेल प्लाटिनी जिम्मेवार रहेको आरोप पनि लगाए ।

ब्लाटरले भनेका छन्, ‘यो निकै खराब निर्णय थियो र तत्कालीन अध्यक्षको आधारमा म यसको जिम्मेवारी भने लिन्छु । अमेरिकाको स्थानमा कतारमा विश्वकप आयोजनाको अधिकार जानु पछाडि प्लाटिनी र उनको टिमको भूमिका थियो । यो सत्य हो ।’ ब्लाटरका अनुसार यही कारणले सन् २०१२ मा फिफाले विश्वकप आयोजक देशको छनोटका लागि फरक मापदण्ड बनाएको थियो ।

कतारमा विश्वकप आयोजनाका लागि निर्माण गरिएका रंगशालामा काम गरेका विदेशी कामदारप्रतिको व्यवहारलाई लिएर चारैतर्फबाट प्रश्न उठेपछि फिफाले यस्तो निर्णय गरेको थियो । ब्लाटरले थपेका छन्, ‘त्यसपछि सामाजिक उत्तरदायित्व र मानवअधिकारको मापदण्ड पनि आवश्यक मानिए ।’ ब्लाटरले १७ वर्ष फिफा अध्यक्षका रूपमा बिताएका थिए ।

सन् २०१५ मा भने आर्थिक अनियमितताको आरोप लागेपछि उनी पद छाड्न बाध्य भए । उनले प्लाटिनीलाई २१ लाख ९० हजार डलर बराबरको रकम प्रदान गर्न सहयोग गरेको आरोप लागेको थियो । यही मुद्दामा प्लाटिनीले पनि फिफाको पदबाट राजीनामा दिएका थिए । यसै काण्डमा ब्लाटरलाई ८ वर्षको प्रतिबन्ध लगाइएकामा पछि त्यसलाई ६ वर्षमा झारिएको थियो ।

प्रकाशित : कार्तिक २३, २०७९ ०८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×