कोन्टे चाहन्छन् पैसा, समय र धैर्य- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोन्टे चाहन्छन् पैसा, समय र धैर्य

प्रायः खेललाई लिएर बढी नै बोल्ने कोन्टेले यसपल्ट भने फरक सन्देश दिन खोजे
द गार्डियन

लन्डन — धेरै होइन, केही महिनाअघिसम्म पनि एन्टोनियो कोन्टे टोटेनहममा ‘चमत्कार’ का कुरा गरिरहेका थिए । टोटेनहम युरोपेली च्याम्पियन्स लिगमा छनोट भएकोमा पनि अथाह खुसी थियो । तर अहिले लाग्छ, ती निकै पुराना भए, धेरै दिन बितिसके ।

अब कोन्टेको चर्चा छ, तर गलत कारणका लागि । इंग्लिस प्रिमियर लिगमा ‘ब्याक टु ब्याक’ हारेपछि टोटेनहमको प्रतियोगितामा ठोस सुरुआत ओझेलमा परेको छ ।

अहिले तत्काल टोटेनहम तेस्रो स्थानमा छ । तर शीर्षस्थानका आर्सनलसँग उसको दूरी ५ अंक भइसकेको छ । त्यो पनि एक खेल बढी खेलेर । फेरि उसलाई पछाडिबाट चौथोमा रहेको न्युकालस युनाइटेडले उत्तिकै दबाब दिइरहेको छ । न्युकासल त्यही त टिम हो, जसले टोटेनहमलाई आइतबारमात्रै २–१ ले पराजित गरेको थियो । त्यो पनि उसको आफ्नै घरेलु मैदानमा । न्युकासलसँगको हारपछि कोन्टेले धेरै बोल्न चाहेनन् ।

प्रायः खेललाई लिएर बढी नै बोल्ने कोन्टेले यसपल्ट भने फरक सन्देश दिन खोजे । यो अरू कसैलाई होइन, टोटेनहमको बोर्डलाई थियो । उनले भनेका छन्, ‘हामीलाई समय चाहिएको छ अनि धैर्यता । त्यो भन्दा ठूलो हामीलाई पैसा चाहिएको छ ।’ यस सिजन टोटेनहमले प्रिमियर लिगमा तीन हारको स्वाद चाखिसकेको छ । अहिले तत्कालका लागि कोन्टे बजारबाट कम्तीमा दुई नयाँ खेलाडी किन्न चाहन्छन् ।

उनी मान्छन्, त्यसपछि मात्र टोटेनहमले प्रिमियर लिग उपाधिको होडमा आफूलाई समावेश गर्न सक्छ । सन् २०२१ को नोभेम्बरमा यी इटालीका फुटबल व्यवस्थापक नियुक्त भएका हुन् उत्तरी लन्डन क्लबमा । अहिले न्युकासलविरुद्धको खेल गुमाएपछि उनले आफ्नो टिममा सुधारका लागि वास्तवममै समय आवश्यक रहेको बताएका छन् । खेलाडीको चोटले पनि टोटेनहमलाई उत्तिकै सताइरहेको छ ।

चोटकै कारण ब्राजिली फरवार्ड रिचार्लिसन, स्वीडिस विङ्गर डेजान कुलुसेभ्स्की, अर्जेन्टिनी डिफेन्डर क्रिस्टियानो रोमेरो र डेनमार्कका मिडफिल्डर पिएरे इमिल होजबर्गले खेलिरहेका छैनन् । कोन्टेले भनेका छन्, ‘अहिले तत्कालका लागि मेरो चिन्ता भनेको थप खेलाडी कोही पनि घाइते नहोस् भन्ने नै हो । हामीसँगै धेरै खेलाडी छैन, त्यसैले टिममा गहिराइ छैन । त्यसैले हामीलाई प्रिमियर लिग र युरोपेली च्याम्पियन्स लिगमा चुनौती पेस गर्न गाह्रो छ ।’

उनले थपेका छन्, ‘मेरो संकेत कोही अन्य क्लबविरुद्ध पनि होइन । खेलाडीलाई आराम गर्न कम्तीमा खेलपछि दुई वा तीन दिन चाहिन्छ । हामीले अहिले भर्खर जसो ७ खेल लगातार खेलेका छौं । यति धेरै खेलका लागि केही खेलाडीलाई आराम दिने र केहीलाई खेलाउने विकल्प छैन । मैले सुरुदेखि नै भनिरहेको छु, टोटेनहम एउटा बलियो टिम बन्ने बाटोमा छ । यो भर्खरको सुरुआतमात्र हो ।’

‘यसका लागि हामीसँग परिस्थितिसँग जुध्ने शक्ति चाहिन्छ । यो सजिलो पनि छैन । यसका लागि निकै अनुभवी खेलाडी त चाहिन्छ, हामी टिमका रूपमा एकजुट रहन आवश्यक छ,’ उनले भने । इंग्लिस प्रिमियर लिगमा आर्सनल ११ खेलबाट २८ अंकसहित शीर्षस्थानमा छ । पछाडि डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी रहेको छ । सिटीको २६ अंक छ । त्यसपछि टोटेनहमको २३ र न्युकासलको २१ अंक छ ।

न्युकासलको फरक कथा

न्युकासलको कथा भने टोटेनहमको भन्दा ठ्याक्कै फरक छ । न्युकासलले सन् २०२१ यता नयाँ खेलाडीमा मात्र २० करोड पाउन्ड खर्चेको छ । त्यो भनेको व्यवस्थापकमा एडी हाउ आएपछि हो । अहिले त्यो लगानीले रंग देखाउन थालेको छ मज्जाले । त्यसकै परिणाम त हो, न्युकासल शीर्ष चारमा प्रवेश गर्न सफल रहनु । उनले खेलपछि भने फरक प्रतिक्रिया दिए । उनले भने, ‘पैसाबारे मात्र धेरै कुरा हुँदा खेलाडीको वास्तविक प्रदर्शन ओझेलमा पर्छ ।’

एडी हाउ

उनले भने, ‘तर म यो जितका लागि आफ्ना खेलाडीलाई बधाई दिन चाहन्छु । जुन जित हात परेका छौं, त्यसका लागि खेलाडीलाई नै श्रेय दिनुपर्छ । तर हामीलाई अझै धेरै टाढा जानु छ, धेरै लामो यात्रा तय गर्नु छ । इंग्लिस प्रिमियर लिगमा खेल्नु सजिलो पनि छैन । यो निकै उच्च प्रतिस्पर्धा चल्ने लिग हो । अहिले तत्काल भने हामी न्युकासलको प्रदर्शनमा खुसी छौं र यसलाई कायम राख्न चाहन्छौं ।’

‘हामी पक्कै पनि जित्न चाहन्छौं र यसका लागि सक्दो प्रयास पनि गर्नेछौं । मलाई थाहा छ, न्युकासलको यो यात्राबाट थरीथरीको चर्चा हुनेछ । तर म आफ खेलाडीलाई कुनै प्रकारको दबाब दिन चाहन्न ।’ न्युकासलको अहिलेसम्मको प्रदर्शनमा उत्तिकै श्रेय तिनै हाउलाई दिनुपर्छ भन्ने धेरै छन् । यसमै एक हुन् टोटेनहनका पूर्वमिडफिल्डर जेमी रेडन्याप । उनी भन्छन्, ‘हाउलाई उनले गरेको कामका लागि जस दिनुपर्छ ।’ रेडन्यापले भनेका छन्, ‘हाउ निकै राम्रा फुटबल प्रशिक्षक हुन् । धेरैका लागि व्यवस्थापकमा चर्चित नाम चाहिन्छ, सुपर स्टार रहेका प्रशिक्षक । तर हाउले निकै राम्रो गरिरहेका छन् । अहिले न्युकासल निकै राम्रो स्थितिमा छ । फेरि न्युकासल आफैंमा इंग्ल्यान्डको ठूलो क्लब हो । यसको समर्थक आधार निकै ठूलो छ । अहिले न्युकासल विस्तारै माथि चढ्दै छ । न्युकासलमा उत्तिकै राम्रो लगानी भइरहेको छ ।’

ठूला क्लबलाई चुनौती

फुटबल पण्डित रहेका एलान सिएरर न्युकासलका पूर्वखेलाडी मात्र होइनन्, आजीवन त्यस क्लबका समर्थक हुन् । उनी पनि न्युकासलको प्रदर्शनमा खुसी छन् । उनले लेखेका छन्, ‘मैले लिगको १२ खेलको समाप्तिमै न्युकासल शीर्ष चारमा पुग्नेछ भन्ने विश्वास थिएन । तर मलाई आफू गलत साबित भएको खुसी छ । मलाई लाग्छ, लिगको अन्त्यसम्म न्युकासललाई यही स्थानमा रहन सजिलो भने हुने छैन ।’

उनी विश्वासकै फुटबल टिकेको मान्छन् । ‘अर्को सिजन न्युकासलले युरोपेली च्याम्पियन्स लिग खेल्छ भने म निकै खुसी हुनेछु । तर अहिले तत्कालका लागि म न्युकासलको प्रदर्शनमा खुसी छु । एडी हाउ आएयता टिमको प्रदर्शनमा सुधार आएको छ । यसकै नतिजा त हो न्युकासलले टोटेनहमलाई हराएको । अबदेखि न्युकासलले इंग्लिस फुटबलका ठूलो टिमलाई पनि हराउने छ, यो क्रम बढ्ने छ ।’

गत सिजन न्युकासलले शीर्ष चारको सपना देखेको भए पनि अगस्टतिर एनफिल्डमा भएको खेलमा लिभरपुलको हातबाट पराजित भएको थियो । त्यो पनि ९८ मिनेटमा सम्भव गोलबाट । सिएररले थपेका छन्, ‘त्यतिबेला न्युकासल वास्तवमै अभाग्यशाली रह्यो । न्युकासलले यसरी नै खेल गुमाउने क्रम रोक्नुपर्छ र सायद अहिले सही दिशातर्फ पनि छ । न्युकासल अब पहिलाको जस्तो टिम रहेन ।’

प्रकाशित : कार्तिक ८, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

‘गोलमेसिन’ हल्यान्ड

यसै सिजन अनुबन्धित एर्लिङ हल्यान्ड प्रिमियर लिग इतिहासमा सुरूका ५ खेलमा ९ गोल गर्ने पहिलो खेलाडी भएका छन्, त्यो पनि लगातार दुई ह्याट्रिकसहित
द गार्डियन

लन्डन — दुई ह्याट्रिक । पाँच दिन । कीर्तिमान अहिले नै भत्किने क्रम सुरु भइसकेको छ । एर्लिङ हल्यान्ड के म्यानचेस्टर सिटी आए, उनको प्रभाव छताछुल्ल हुन थालिसकेको छ । म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई ६–० ले हराउँदा उनले आफ्नो दोस्रो ह्याट्रिक पूरा गरे । त्यसअघि क्रिस्टल प्यालेसविरुद्धको पुनरागमन जितमा उनले पहिलो तीन गोलको उपलब्धि छोएका थिए । त्यो चारै दिनअगाडि मात्र । यी नर्वेली खेलाडी भर्खर २२ वर्षका भए ।

तर, उनी नै इंग्लिस प्रिमियर लिग इतिहासमा सुरुआती ५ खेलमा ९ गोल गर्ने पहिलो खेलाडी भएका छन् । अझ अगस्ट महिनामा ९ गोल गर्ने पनि उनी पहिलो खेलाडी भए । त्यतिमात्र होइन, सिटीका नयाँ खेलाडी जुलियन एल्भारेजलाई पनि उनले उत्तिकै सघाए । एल्भारेजले पनि आफ्नो पूर्ण डेब्युमा दुई गोल गरे । पराजित फरेस्टका व्यवस्थापक स्टिभ कुपर पनि भन्छन्, ‘हल्यान्ड निकै राम्रा खेलाडी हुन्, उनमा सबथोक छ ।’

यस्तै पुराना खेलाडी डिओन डब्लिनले खेलको कमेन्ट्रीका क्रममा भनेका छन्, ‘अहिले तत्कालका लागि सिटीसँग हल्यान्डका रूपमा विश्वकै सबैभन्दा राम्रा स्ट्राइकर रहेको छ ।’ प्रिमियर लिग इतिहासमै हल्यान्ड लगातार दुई ह्याट्रिक गर्ने सातौं खेलाडी हुन् । टोटेनहमका ह्यारी केनले भने एकभन्दा बढी अवसरमा यस्तो उपलब्धि छोइसके । केनकै नाममा थियो, यसअघि अगस्टमा सबैभन्दा बढी गोल गरेको कीर्तिमान । उनले ७ गोल गरेका थिए ।

सिटीका लागि हल्यान्डअघि रहिम स्टर्लिङ र कार्लोस टेभेजले एकभन्दा बढी ह्याट्रिक गरेका छन् । अझ सर्जियो अगुइरोले त चार ह्याट्रिक गरेका छन् सिटीको जर्सीमा । सिटी व्यवस्थापक पेप ग्वार्डिओला मान्छन्, ‘हल्यान्डले त्यो ठाउँ लिन सक्ने छैनन्, जुन सिटीका लागि अगुइरोले बनाएका छन् ।’ तर यी स्पेनी फुटबल प्रशिक्षक के पनि मान्छन्, अगुइरोसँग जे जस्तो प्रतिभा थियो, त्यस्तो हल्यान्डसँग पनि छ । उनी के थप्छन् भने व्यक्तिगत उपलब्धि केही ठूलो होइन, यदि टिमले उपाधि जित्न सकेन भने ।

‘सर्जियो त सिटीका लेजेन्डरी खेलाडी हुन्,’ ग्वार्डिओलाले भनेका छन्, ‘कसैले पनि उनलाई छुन सक्दैनन् । उनी सिटीका समर्थकमाझ सबैभन्दा प्रिय छन् । सिटीको आधुनिक इतिहासमा सबैभन्दा निर्णायक र महत्त्वको गोल अगुइरोले नै गरेका छन् । इर्लिङसँग पनि अगुइरोको जत्तिकै क्षमता छ । उनले नर्वे, अस्ट्रिया र जर्मनीमा जे गरे, त्यही यहाँ गर्ने प्रयासमा छन् । मलाई पूरा विश्वास छ, यदि सिटीले उपाधि जितेन भने उनी आफ्नो व्यक्तिगत उपलब्धिमा खुसी हुने खेलाडी होइनन् ।’

वेल्सका पूर्वडिफेन्डर एस्ली विलियम्सले पनि कमेन्ट्रीकै क्रममा भनेका छन्, ‘खेल सुरु हुन पाएको हुन्न, हल्यान्ड विपक्षी टिमका डिफेन्डरका लागि समस्या भइहाल्छ । उनीविरुद्ध खेल्न पनि गाह्रो देखिएको छ । उनी पूर्ण स्ट्राइकर हुन्, उनमा एउटा राम्रो स्ट्राइकरमा चाहिने सबै गुण छ । अहिलेसम्म उनले लिगमा जति गोल गरेका छन्, त्यसले उनी आधिकारिक स्ट्राइकरको परिभाषा पर्छ । उनको गोल गर्ने लोभ छ । उनको खेल हेर्दा म आफैं उत्साहित हुन्छु । उनले धेरैभन्दा धेरै गोल गर्नेछन् ।’

अहिले नै हल्यान्ड यसपल्टको प्रिमियर लिग सिजनमा सर्वाधिक गोलकर्ताका लागि बलियो प्रत्याशी मान्ने क्रम सुरु भइसकेको छ । ग्वार्डिओलाले थपेका छन्, ‘मलाई के विश्वास छ भने हल्यान्डको इच्छा पनि धेरैभन्दा धेरे उपाधि जित्ने हो । यदि उनको व्यक्तिगत प्रदर्शनको कीर्तिमान र उपाधि समानान्तर अगाडि जान्छ भने त यो धेरै राम्रो । पूरा टिमले जति राम्रो खेल्न थाल्छ, उनले धेरैभन्दा धेरै गोल गर्ने सम्भावना बढ्दै जान्छ ।’

सिटीको फराकिलो जित

लन्डन– एर्लिङ हल्यान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बुधबार नटिङ्घम फरेस्टलाई ६–० ले हराएको छ । क्रिस्टल प्यालेसविरुद्धको पछिल्लो खेलमा पनि उनले तीन गोल गरेका थिए । यससँगै २२ वर्षीय नर्वेली खेलाडी प्रिमियर लिगका सुरुआती ५ खेलमा ९ गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

आर्सनलले पनि लिगमा आफ्नो शतप्रतिशत जित यात्रा कायम राख्दै एस्टन भिल्लालाई २–१ ले हरायो । लिभरपुलले पनि न्युकासल युनाइटेडलाई २–१ ले पराजित गर्‍यो । आर्सनल ५ खेलबाट १५ अंकसहित शीर्षस्थानमा छ । त्यसपछि डिफेन्डिङ च्याम्पियन सिटी १३ अंकसहित दोस्रो स्थानमा छ ।

टोटेनहम ११ अंकमा तेस्रो स्थानमा छ । टोलीले अर्को खेलमा वेस्ट ह्यामसँग १–१ को बराबरी खेल्यो । बर्नमाउथ र उल्भसबीचको खेल भने निरस गोलरहित बराबरीमा टुंगियो । सिटीको जितमा जुलियन एल्भारेजले दुई गोल गरे भने जाओ कन्सेलोले एक गोल थपे । आर्सनलले सन् २००४–०५ यता पहिलोपल्ट लिगका सुरुआती ५ खेल जितेको छ । टोलीका लागि इमिलिनो मार्टिनेजले निर्णायक गोल गरे । भिल्ला पछिल्ला ५ खेलमध्ये चारमा पराजित छ । यसले व्यवस्थापक स्टेफन जेरार्डमाथि चर्को दबाब सिर्जना भएको छ । लिभरपुलको जितमा अन्तिम समयमा फाबियो कार्भाल्होले विजयी गोल गरेसँगै एनफिल्डमा खुसीयाली छाएको थियो ।

पीएसजी अपराजित

पेरिस– पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना नयाँ प्रशिक्षक क्रिस्टोफ ग्लाटरको नेतृत्वमा फ्रान्सेली लिग वानमा अपराजित यात्रा कायम राख्दा बुधबार टुलोजलाई ३–० ले हराएको छ । नेयमरको गोलमा अग्रता लिएयता केलियन एमबाप्पेले दुई गोल थपे ।

प्रकाशित : भाद्र १७, २०७९ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×