कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एलिनालाई निरन्तर पाँचौं स्वर्ण

दीपक परियार

पोखरा — नवौं राष्ट्रिय खेलकुदले अन्तर्राष्ट्रिय प्रतियोगिताले सुरुवाती खेलाडी छनोटको आधार तयार गरेको छ । खेलाडीको पदक जित्नुसँगै अर्को लक्ष्य छ, अन्तर्राष्ट्रिय प्रतियोगितालाई छनोटमा पर्नु ।

एलिनालाई निरन्तर पाँचौं स्वर्ण

पोखरा रंगशालामा बिहीबार उसुतर्फ २३ स्वर्ण छिनोफानो हुँदा आर्मीको भागमा १२ स्वर्ण पर्‍यो । राष्ट्रिय खेलकुदमा निरन्तर पाँच स्वर्ण जित्नेमा थिइन्, आर्मीकी एलिना चौधरी । पाँचौं, छैटौं, सातौं र आठौं राष्ट्रिय खेलकुदमा उनले आफ्नो तौल समूहमा स्वर्ण जितेकी थिइन् । पोखरामा उनले ५२ केजी तौल समूहमा पहिलो हुँदै स्वर्ण यात्रालाई कायम राखिन् । ०६४ बाट १६ वर्षको उमेरमा खेल जीवनमा प्रवेश गरेकी कैलालीकी एलिनाले एक वर्षपछि सुदूरपश्चिमबाट सहभागी भएर स्वर्ण जित्न सुरु गरिन् । छैटौं र सातौंमा पनि सुदूरपश्चिमलाई स्वर्ण दिलाएकी उनले ११ औं दक्षिण एसियाली खेलकुद (साग) मा कांस्य तथा १३ औं सागमा रजत जितिन् । ‘अझै अन्तर्राष्ट्रिय म्याच खेल्न पाए राम्रो प्रदर्शन गर्ने थिएँ,’ २८ वर्षीया उनले भनिन् ।

स्वर्ण शृंखलामा उनलाई पछयाउँदै छिन्, आर्मीकै सुस्मिता तामाङ । नौ वर्षकै उमेरमा पाँचांै राष्ट्रिय खेलकुदमा सहभागी भएर उसुको महिला छाङ छ्वानमा रजत पदक जितेर चर्चा कमाएकी उनले त्यसपछि छैटौं, सातौं र आठौंमा लगातार स्वर्ण जितिन् । छाङ छ्वानमा निरन्तर ४ स्वर्ण जितेकी उनले १२ औं सागमा रजत र १३ औं सागमा स्वर्ण जितिन् । २२ वर्षीया उनले उमेर बढ्दै जाँदा र प्रतियोगितामा पदक जित्दै जाँदा थप अनुभवी भएको बताइन् । ‘एसियन गेम्सकै लागि भनेर तयारी गरेको थिएँ,’ उनले भनिन्, ‘त्यसकै तयारीले नवौंमा स्वर्ण जितें । अबको लक्ष्य एसियन गेम्स नै हो ।’

एपीएफका अशोक खालिङले पुरुष ५२ केजी समूहमा स्वर्ण जिते । राष्ट्रिय खेलकुदको संस्करणमा यो उनको चौथो स्वर्ण हो । छैटौं र सातौंमा ४८ केजी समूहमा स्वर्ण जितेका उनले आठौंदेखि ५२ केजीमा प्रवेश गरे । १३ औं सागमा कांस्य जितेको ३२ वर्षे उनले भने, ‘एकपल्ट स्वर्ण जित्नु भन्दा स्वर्णलाई निरन्तरता दिन सक्नु चुनौती रहेछ । हरेक प्रतियोगितामा जुनियर खेलाडीले जित्ने हुन् कि भन्ने चिन्ता रहन्छ । सागमा सहभागी भएर देशलाई स्वर्ण पदक दिलाउने ठूलो सपना छ ।’

एसियन गेम्समा तीनपल्ट सहभागी भइसकेका एपीएफका मंगलप्रसाद थारूले पनि राष्ट्रिय खेलकुदमा लगातार चार स्वर्ण पुर्‍याए । उनले नवौंमा ६० केजी तौल समूहमा स्वर्ण जिते । छैटौं, सातौं र आठौंमा स्वर्ण जितेका उनले १३ औं सागमा रजत पाएका थिए । खुट्टामा चोट लागेकाले उनले फाइनल खेल्न पाएका थिएनन् । ‘अबको लक्ष्य एसियन गेम्समा मेडल टच नै हो,’ उनले भने, ‘त्यसैका लागि तयारी गरिरहेको छु ।’ १९ औं एसियन गेम्स चीनमा सन् २०२३ मा हुँदै छ ।

प्रकाशित : कार्तिक ४, २०७९ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?