छनोट खेलमा ज्ञानेन्द्रको शतक- खेलकुद - कान्तिपुर समाचार

छनोट खेलमा ज्ञानेन्द्रको शतक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आइतबार शतक प्रहार गरेका छन् । प्रधानमन्त्री कप क्रिकेटका लागि भएको वाग्मती प्रदेश छनोट खेलमा काठमाडौं जिल्लाका कप्तान ज्ञानेन्द्रले भक्तपुरविरुद्ध १ सय १३ रन बनाएका हुन् । 

मुलपानी क्रिकेट मैदानमा उनले ९८ बल खेली ६ चौका र ६ छक्का प्रहार गरे । निर्धारित ४० ओभरको खेलमा उनी अन्तिम बलमा आउट भए । ज्ञानेन्द्रको प्रयासमा काठमाडौंले ५ विकेट गुमाई २ सय २८ रन बनायो । ज्ञानेन्द्र ४० ओभरको अन्तिम बलमा विनित दासबाट बोल्ड भए ।

ओपनर इशान पाण्डेले ८९ बल खेली ४ चौका र १ छक्कासहित ५३ रन बनाए । रित गौतम १३, रविन जोशी २ रनमा आउट भए । उत्तम थापाले २३ बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए । प्रतिस जिसी २ रनमा अविजित रहे । भक्तपुरका रामाशिस महतोले ३ र विनितले २ विकेट लिए ।

जवाफमा आएको भक्तपुरले ९ विकेट गुमाई १ सय ७८ रनमात्र बनाउन सक्यो । ओपनर सौरभ साखकर्मीले ६० रन बनाए । उनले ८८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर सर्वोच्च बस्नेतले २३ बलमा १ चौका र ३ छक्का प्रहार गरी २७ रन बनाए । क्यान्डी कामीले १५ र सुवास खत्रीले १३ रन बनाए । काठमाडौंका आरियो पौडेल र दीपक महतोले ३–३ विकेट लिए ।

अर्को खेलमा ललितपुरले नुवाकोटलाई १ सय १८ रनले पराजित गरेको छ । दुर्गेश थापाले १ सय १५ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाएपछि ललितपुरले निर्धारित ४० ओभरमा ४ विकेट गुमाई २ सय ४ रन बनायो । आदिल खानले २४, विवेक रानामगरले ५९ बलमा २ चौका र १ छक्कासहित ५५ रन बनाए । नुवाकोटका अभिराज यादवले २ तथा दीपेश कुमाल र अशोक पौडेलले १–१ विकेट लिए ।

नुवाकोट जबाफमा २५.५ ओभरमा ९१ रनमा अलआउट भयो । योगेश भट्टले ४१ रन बनाए । उनले ३६ बल खेली समान ३ चौका र छक्का प्रहार गरे । ललितपुरका तिलक राजभण्डारीले ३ तथा योनेश थापा, सुर्य तामाङ र हरिओम जोशीले २–२ विकेट लिए ।

प्रकाशित : आश्विन ३०, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्ज कारागारका ३८ कैदीबन्दीले मात्र मतदान गर्न पाउने 

शंकर आचार्य

पर्सा — १ हजार ४ सय ४१ कैदीबन्दीले भरीभराउ वीरगन्ज कारागारमा यस पटक ३८ कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएका छन् । अघिल्ला दुई वटा संसदीय निर्वाचनमा कारागारमा रहेका सम्पूर्ण नेपाली कैदीबन्दीले मतदान गर्न पाएका थिए । 

कारागारका चौकीदार दिनेश सोनारले आफूले अघिल्लो दुई संसदीय निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाएकोमा यसपटक आफूनै मतदानबाट बन्चित भएको बताए । ‘अघिल्ला निर्वाचनमा हामीले नागरिकता प्रमाणपत्रको आधारमा मतदान गर्न पाएका थियौं,’ उनले भने, ‘यसपटक भने मतदाता नामावलीमा नाम रहेका कैदीबन्दीहरुलाई मात्र कारागारबाट मतदान गर्न दिने प्रावधान राखिएकाले हामी पनि मतदान गर्नबाट बन्चित हुने भएका छौं ।’

मतदान गर्न पाउने मध्येका एक कैदी शेष सलिमले आफूले कारागारमा पहिलो पटक मतदान गर्न लागेको बताए । ‘कारागारमै भए पनि मतदान गर्न पाउने अवसरबाट मैले बन्चित हुनु परेन,’ उनले भने, ‘म खुसी छु, मताधिकारको यहाँबाटै सदुपयोग गर्ने छु ।’

अर्का कैदी किसुनदेव राउत कुर्मीले यस पटक समेत गरी कारागारबाट तेस्रो पटक मतदान गर्न लागेको बताए । ‘म कारागार आएको १६ वर्ष भयो,’ उनले भने, ‘हालसम्म मताधिकारबाट बन्चित हुनु परेको छैन, सबै कैदीले हामीले जस्तै मतदान गर्ने अवसर नपाएकोमा भने खल्लो लागेको छ ।’

कारागारका जेलर मदन घिमिरेले यसपटक निर्वाचन आयोगले मतदाता नामावली फारम कैदीबन्दी आफैले भर्नुपर्ने प्रावधान राखेको बताए । ‘कारागारमा आउनुअघि मतदाता नामावलीमा नाम उल्लेख भएका र मतदाता परिचय पत्र भएकाहरुले सहजै यसरी फारम भर्न पाउने व्यवस्था आयोगले गरेको छ,’ उनले भने, ‘जति कैदीबन्दीले यस्तो फारम भरेर दिए हामीले उनीहरुको फारम निर्वाचन आयोगमा पठाइदियौं, अन्यले चासो नदिएकाले पनि उनीहरु मतदानको अवसरबाट बन्चित भएको हुनुपर्छ ।’

यस पटक कारागारबाट मतदान गर्ने सबै ३८ मतदाता पुरुष कैदीबन्दी नै रहेको उनले बताए । कारागारमा आइतबार कूल १ हजार ४ सय ४१ कैदीबन्दी रहेकोमा तीमध्ये ६७ महिला कैदीबन्दी छन् । कुल कैदीबन्दीमध्ये १ सय ७३ पुरुष र ९ महिला गरी १ सय ८२ विदेशी कैदीबन्दी छन् । तीनमा धेरैजसो भारतीय हुन् ।

प्रकाशित : आश्विन ३०, २०७९ १८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×