कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४४
नवौं राष्ट्रिय खेलकुद

दीप प्रज्वलित गर्ने प्रदेशका ओलम्पियन

ध्रुव तुलाधर

पोखरा — धावक टीकाबहादुर बोगटीले खेल्न छाडेको धेरै भइसकेको छ । अहिले त आफ्नै गाउँमा कृषि पेसामा रमाउन थालेका छन् । तर खेलकुदमा आफूले गरेको मिहिनेतकै कारण आफ्नो प्रदेशको सान बढाउने मौका पाएका छन् । नवौं राष्ट्रिय खेलकुदको आज (शुक्रबार) पोखरा रंगशालामा हुने उद्घाटन समारोहमा ओलम्पिक टर्च उनको नेतृत्वमा प्रज्वलित गरिनेछ । 

दीप प्रज्वलित गर्ने प्रदेशका ओलम्पियन

म्याराथन धावक बोगटीले सन् १९८८ को सोल र १९९६ को एटलान्टा ओलम्पिकमा सहभागिता जनाएका थिए । सन् १९९५ को सातौं मद्रास सागमा म्याराथनबाट स्वर्ण पदक दिलाएका बोगटीसँग सागकै अरू दुई पदक पनि छ । चौथो इस्लामाबाद साग (तत्कालीन साफ) देखि सहभागिता जनाउँदै आएका उनले पाँचौं र छैटौं सागमा कांस्य जितेका थिए ।

गोरखा नगरपालिका–२ कोठे बोहरा गाउँका स्थायी बासिन्दा उनी अहिले उतै कृषि कर्ममा रमाइरहेका छन् । भन्छन्, ‘घर व्यावहारिक कारणले गर्दा अहिले कृषि पेसामा छु । फुर्सदका बेला वडा, जिल्लामा खेलकुदतिर लाग्छु अनि सामाजिक कार्यतिर पनि सक्रिय हुन्छु ।’ उनी ६० वर्षका भइसके । ०५४ सालमा नेपाली सेनाबाट रिटायर्ड भएपछि उनी खेलकुद प्रशिक्षणतिर लागेका थिए ।

ओलम्पियन खेलाडी भएको नाताले उनी ओलम्पिक टर्च टिममा यसअघि पनि समावेश भएका छन् । उनले आफ्नै देशमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा वैकुण्ठ मानन्धरले नेतृत्व गरेको ओलम्पिक टर्च टिममा सहभागी भएका थिए । राष्ट्रिय खेलकुदमा भने उनले सातौं संस्करणमा भाग लिएका थिए ।

‘ओलम्पिक बाल्न पाउनुलाई मैले भाग्यमानी ठानेको छु, खेलाडी हुनुको नाताले यो अवसर पाउॅदा गौरवान्वित भएको छु,’ अघिल्लो दिन बोगटीले आफ्नो खुसी यसरी व्यक्त गरेका थिए । जुनसुकै देशको ठूल्ठूला खेलकुद महोत्सवहरूमा ओलम्पियन खेलाडीको कदर गर्दै उद्घाटन समारोहमा ओलम्पिक टर्च बाल्ने मौका दिइन्छ । जुन प्रतियोगिता अवधिभर प्रज्वलित भइरहन्छ ।

संघीय संरचनामा राष्ट्रिय खेलकुद आयोजना भएकाले यसपालि गण्डकी प्रदेशमै रहेका ओलम्पिक खेलाडीले उद्घाटनमा ओलम्पिक ज्योति प्रज्वलित गर्ने भएका हुन् । बोगटीको नेतृत्वमा रहने टर्च टिममा सागका अर्का स्वर्णधारी धावक राजेन्द्र भण्डारी, अर्का धावक ज्ञानबहादुर बोहरा, पौडीका सीताराम शाही, सुटिङकी भगवती केसी र तेक्वान्दोका नारायण गुरुङ रहनेछन् । १० औं सागमा स्वर्ण जितेका राजेन्द्रले २००४ को एथेन्स ओलम्पिक खेलेका थिए । ज्ञानबहादुर र भगवतीले २००४ को सिड्नी ओलम्पिक, सीतारामले १९९६ को एटलान्टा र नारायणले ११९२ को बार्सिलोना ओलम्पिक खेलेका थिए ।

उक्त टिमलाई ओलम्पिक टर्च हस्तान्तरण गर्नुअघि बुद्ध जन्मस्थल लुम्बिनीबाट दीप प्रज्वलन गरेर ल्याइएको थियो । काठमाडौंबाट गएको उक्त ओलम्पिक टर्च टिममा ओलम्पियन खेलाडीहरू बक्सिङका उमेश मास्के, भारोत्तोलनका राजेन्द्र प्रधान, एथलेटिक्सका मुकुन्दहरि श्रेष्ठ, एथलेटिक्सकै राजकुमारी पाण्डे, बक्सिङका रामबहादुर गिरी, एथलेटिक्सका अर्जॅन पण्डित र भगवती केसी रहेका थिए ।

प्रकाशित : आश्विन २८, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×