१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

नवौं राष्ट्रिय खेलकुद : पोखरा महानगरद्वारा विजेता खेलाडीलाई पुरस्कार घोषणा

रासस

पोखरा — नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको पोखरा महानगरपालिकाले प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कार घोषणा गरेको छ ।

नवौं राष्ट्रिय खेलकुद : पोखरा महानगरद्वारा विजेता खेलाडीलाई पुरस्कार घोषणा

राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक जित्ने महानगरका खेलाडीलाई नगदसहित सम्मान गरिने महानगरले जनाएको छ । महानगर प्रमुख धनराज आचार्यका अनुसार व्यक्तिगत विधातर्फ स्वर्ण, रजत र कास्यपदक विजेता खेलाडीलाई क्रमश : १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिने निर्णय भएको छ ।

उनका अनुसार कुनै पनि टिम खेलतर्फ विजेतालाई नगद पाँच/पाँच हजार रुपैयाँ दरले पुरस्कार प्रदान गरेर खेलाडीलाई प्रोत्साहित गरिनेछ । महानगरबाट राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई बुधबार शुभकामना व्यक्त गर्दै महानगर प्रमुख आचार्यले महानगरवासीलाई एकताबद्ध भएर खेलाडीलाई हौसला बढाउन आग्रह गरे ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले खेलाडीलाई जीतको शुभकामना दिँदै गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेको नवौं राष्ट्रिय प्रतियोगिताको ट्रफी प्रतियोगिता जितेर यहीँ राख्ने गरी मिहनेत गर्न आग्रह गरिन् ।

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले राष्ट्रिय खेलकुदमा महानगरका २०० खेलाडीले गण्डकी प्रदेशबाट ३२ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी दिए ।

गण्डकी प्रदेशका आठ जिल्लामा नवौं राष्ट्रिय खेलकुदका ३६ खेल सञ्चालन हुनेछन् । प्रतियोगिता औपचारिकरुपमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने भए पनि केही खेल असोज २३ देखि पोखरामा जारी छन् । प्रतियोगिताको उद्घाटन र समापन पोखरा रंगशालामा हुनेछ ।

प्रकाशित : आश्विन २६, २०७९ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?