नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिबाट गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरा रंगशालामा असोज २८ मा हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने भएको छ । त्यसका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार राष्ट्रपति भण्डारीलाई उद्घाटनका लागि निमन्त्रणापत्र प्रदान गरेको छ ।

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिबाट गरिने

परिषद्का अध्यक्ष युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा रहेको टोलीले शीतल निवासमा पुगेर निमन्त्रणापत्र प्रदान गरेको थियो ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीलाई राष्ट्रिय खेलकुदका विषयमा हालसम्म भएका कार्य प्रगतिबारे जानकारी गराइएको राखेपले जनाएको छ ।

९ हजार जनाको बिमा

राखेपले नवौं राष्ट्रिय खेलकुदमा भाग लिने खेलाडीसहित ९ हजार जनाको बिमा गरिदिने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बिमा कम्पनीबीच मंगलबार सम्झौता भएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

बिमित खेलाडी संख्या ६ हजार छ भने बाँकी ३ हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसियल रहेको नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको सचिवालय प्रमुख फणीन्द्र पौडेलले जनाएका छन् ।

बिमा अवधि १ महिना हुनेछ । प्रत्येकको १० लाख रुपैयाँबराबरको बिमा गरिएको हो ।

यसैबीच नवौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने भएको छ । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले मंगलबार हस्ताक्षर गरे ।

सम्झौताअनुसार नेपाल टेलिभिजनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन तथा विभिन्न खेलका सेमिफाइनलदेखि प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने छ भने ३६ खेलको हाइलाइट्स र प्रोमो प्रसारण गर्नेछ ।

प्रकाशित : आश्विन ११, २०७९ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?