कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानमा १७ वर्षपछि इंग्ल्यान्डको खेल

एएफपी

कराँची — टिममा पुनरागमन गरिरहेका एलेक्स हेल्सको ५३ र डेब्यु गरिरहेका लुक उडले २४ रनमा ३ विकेट लिएपछि इंग्ल्यान्डले पाकिस्तानलाई पहिलो ट्वान्टी–२० मा मंगलबार ६ विकेटले पराजित गरेको छ । इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तानी भूमिमा खेलेको यो पहिलो खेल रह्यो । जितका लागि १ सय ५९ रन पछ्याइरहेको इंग्ल्यान्डबाट सन् २०१९ यता पहिलोपल्ट खेलेका हेल्सले ७ चौका प्रहार गरे ।

पाकिस्तानमा १७ वर्षपछि इंग्ल्यान्डको खेल

ह्यारी ब्रुक्सले २५ बलमा नटआउट ४२ रन बनाएपछि इंग्ल्यान्ड ४ बल बाँकी छँदै जितसम्म पुगेको थियो । यसअघि पाकिस्तानले ७ विकेटमा १ सय ५८ रन बनाएको थियो । सुरक्षाको कारण देखाएर इंग्ल्यान्डले १७ वर्षयता पाकिस्तानमा खेलेको थिएन । इंग्ल्यान्डले अन्तिम पटक सन् २००५ मा पाकिस्तान भ्रमण गरेको हो । गत वर्ष इंग्ल्यान्डले पाकिस्तानमा खेल्ने कार्यक्रम तय थियो, तर अन्तिम क्षणमा इंग्ल्यान्डले त्यसलाई रद्द गरेको थियो ।

त्यससँगै न्युजिल्यान्डले पनि पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि पाकिस्तानी क्रिकेट बोर्डले त्यसलाई आफूहरूप्रति अनादार भएको भन्दै रोष प्रकट गरेको थियो । सन् २००९ मा भ्रमणकारी श्रीलंकाली टिम चढेको बसमाथि आतंककारी आक्रमण भएयता पाकिस्तानले तटस्थ भूमिको रूपमा यूएईलाई आफ्नो गृह मैदान बनाएर खेलिरहेको थियो । सन् २०१२ र २०१५ मा पाकिस्तानले इंग्ल्यान्डविरुद्ध त्यही दुई शृंखला खेलेको थियो । पछिल्लो ५ वर्षयता भने पाकिस्तानमा विस्तारै अन्तर्राष्ट्रिय क्रिकेट फर्केको छ । यसै वर्षमात्र अस्ट्रेलियाले लामो समय अन्तरमा पहिलोपल्ट पाकिस्तानमा खेलेको थियो । पाकिस्तानी क्रिकेट बोर्डले अस्ट्रेलिया भ्रमणमा कुनै बाधा व्यवधान नआएको दाबी गर्दै इंग्ल्यान्डविरुद्धको शृंखला पनि सफलतापूर्वक अगाडि बढ्ने विश्वास पोखेको छ । इंग्ल्यान्ड र पाकिस्तानबीच जति खेल हुनेछ, त्यसक्रममा टिमले तय गर्ने बाटो र खेलस्थल सबै सैनिक सुरक्षामा रहने छ ।

इंग्लिस टिमले तय गर्ने बाटो हेलिकप्टरको निगरानी हुनेछ । खेलस्थलतर्फ फर्केका सबै पसल र कार्यालयलाई पनि खेल अगाडि बन्द गर्न आदेश दिइएको छ । इंग्ल्यान्डले अन्तिम पटक पाकिस्तानका भ्रमण गर्दा पनि आतंककारी गतिविधि बढिरहेको अवस्था थियो । त्यतिबेला तालिवानी समस्याले पाकिस्तानलाई पिरोलिरहेको थियो । अफगानिस्तानमा तालिवानी सरकार फर्केपछि पाकिस्तानमा फेरि छिटफुट आतंककारी आक्रमण सुरु भइसकेको छ ।

मार्चमा अल्पसंख्यक शिया मुसलमानको उत्तर दक्षिणी सहर पेवारमा रहेको मस्जिदमा आईएसआईएसले आत्मघाती बम विष्फोट गराएको थियो । त्यस क्रममा ६४ को मृत्यु भएको थियो । यो सन् २०१८ को पहिलो यस्तो घटना थियो । अधिकांश हिंसात्मक घटना पाकिस्तान र अफगानिस्तानी सिमामा भइरहेको छ । यो नै आंतकारी गतिविधिको मुख्यकेन्द्र रहेको छ । पाकिस्तानका दुई मुख्य सहर कराँची र लाहोरमा पनि पृथकतावादी बलुच आक्रामण भइरहेको छ ।

प्रकाशित : आश्विन ६, २०७९ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?