ब्वाइज युनियनका पूर्वकप्तानको अन्त्येष्टि- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्वाइज युनियनका पूर्वकप्तानको अन्त्येष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — ब्वाइज युनियन क्लबका पूर्वकप्तान यज्ञलाल श्रेष्ठको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको आइतबार डेंगीका कारण ८० वर्षको उमेरमा निधन भएको थियो ।

उनी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए । त्यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि क्लब हातामा राखिएको थियो ।

श्रेष्ठले ०२३ देखि ०२८ सम्म ब्वाइज युनियनको कप्तानी सम्हालेका थिए । उनी ०५१ देखि ०६१ सम्म क्लबका अध्यक्ष पनि रहे । श्रेष्ठ एथलेटिक्समा पूर्वराष्ट्रिय खेलाडीसमेत हुन् । उनको नाममा राष्ट्रिय कीर्तिमान समेत कायम भएको थियो ।

प्रकाशित : आश्विन ५, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्

बंगलादेशी सफलताको 'खुला रहस्य'

सरकारले महिला फुटबललाई आफ्नो प्राथमिकतामा राखेपछि बंगलादेश एफएको सक्रियतामा महिला टिमले छोटो समयमै सफलता पाएको हो
हिमेश

काठमाडौँ — दशरथ रंगशालामा फाइनल खेल के सकिएको थियो, ह्वाट्सएपमा एउटा सन्देश बजिहाल्यो । बंगलादेशी पत्रकार तृष्णाले लेखेकी थिइन्, ‘सरी ब्रो, हामी उपाधिका लागि हकदार थियौं ।’ उनले पछि थपिन्, ‘यो जितले समग्र बंगलादेशी महिलाका लागि पनि धेरै अर्थ राख्नेछ ।’

साफ महिला च्याम्पियनसिप २०२२ को फाइनल हेर्न उनी ढाकामै थिइन् । उनका एक दर्जन पत्रकार साथी भने काठमाडौंमै थिए । तिनीहरू भने भाग्यमानी ठहरिए । उनीहरूले बंगलादेशले दशरथ रंगशालामा नेपाललाई हराएको हेर्न पाए ।

तीमध्ये एक थिए फैजल रहमान । उनले पनि पछि सामाजिक सञ्जालमा लेखे, ‘मैले इतिहास बनेको देखें । म बंगलादेशी महिला फुटबलले जितेको पहिलो उपाधिको साक्षी बन्न पाएँ।’ मंगलबार प्रकाशित जति पनि प्रमुख बंगलादेशी पत्रिका छन्, सबैको मुख्यपृष्ठमा यिनै महिला टिमले हात पारेको ऐतिहासिक सफलताको कथा थियो । तस्बिर पनि ठुल्ठूलै छापिए । अनलाइन त अनलाइन भइहाल्यो, तुरुन्तै लगभग सबै प्रमुख अनलाइनले समाचार दिन हतार गरे ।

अधिकांश समाचार टेलिभिजनले तुरुन्तै ठुलै महत्त्व दिएर समाचार फुके । बंगलादेशका सबै मिडियाका लागि आफ्नो महिला टिमले जितेको उपाधि राम्रै मसला बन्यो । यो अवसर नै यस्तो थियो, जसका लागि बंगलादेशी फुटबलले नै लामो प्रतीक्षा गरेको थियो । खेल सकिएको मात्र थियो, बंगलादेशी राष्ट्रपति र प्रधानमन्त्रीबाट पनि तुरुन्तै सन्देश आइहाल्यो बधाई अनि शुभकामनाको । पत्रकार तृष्णाले भने जस्तै बंगलादेशी महिलाकै लागि पनि साफ च्याम्पियनसिपमा पाएको सफलताले धेरै महत्त्व राख्नेछ ।

फुटबलमा सफलताको सूत्र के हो त ? यसको जवाफ कसैले पनि दिन सक्दैनन् । हामीले दिनदिनै नाम सुनेका पेप ग्वार्डिओला वा योर्गन क्लोपले पनि सक्दैनन् । यस्तो किनभन्दा त्यस्तो कुनै सूत्र बनेकै छैन । बन्ने पनि छैन होला । तर, एउटा तथ्य निश्चित छ, सफलतासम्म पुग्ने खास बाटो भने छन्, जसलाई पछ्याउन सक्नुपर्छ । बंगलादेशले किन साफ महिला च्याम्पियनसिप जित्यो त ? यसको जवाफ तिनै बाटोमा टिकेको छ । खासमा बंगलादेशको यो सफलताको रहस्य ‘खुला’ छ ।

बंगलादेशको महिला फुटबलको इतिहास धेरै लामो छैन । दुई दशकजति मात्र हो । सुरुमा बंगलादेश आफैं कसैविरुद्ध खेल्यो कि आधा दर्जन गोल खाने बानी थियो । सन् २०१० मा बंगलादेशले नेपालविरुद्ध पहिलोपल्ट खेलेको थियो । त्यसयता उसले नेपाललाई हराउन सकेको थिएन । बल्लतल्ल यही फाइनलमा हराएको हो । त्यो दुई दशकमा पनि एक दशकमात्र भएको छ बंगलादेशले महिला फुटबललाई गम्भीर भएर सोचेको ।

सुरुआती दिन पक्कै सजिलो थिएन । अनेक बाधाअड्चन आए । खेलाडी नै हुँदैनथ्यो । यस्तै परिस्थितिमा बंगलादेशी फुटबल संघले मात्र होइन, सरकारले नै महिला फुटबलको विकासका लागि जोड दिने निर्णय गरेको थियो । बंगलादेशी पत्रकारहरूकै भनाइ मान्ने हो भने बंगलादेशी सरकारले नै महिला फुटबललाई आफ्नो प्राथमिकतामा राखेको थियो । सरकारकै सहयोग पाएपछि संघको पनि उत्तिकै सक्रियता रह्यो । लगभग चार वर्षजति अगाडि पुरुष साफ च्याम्पियनसिपका बेला ढाका जाने अवसर प्राप्त भएको थियो । त्यहाँ एउटा पत्रकार सम्मेलन थियो । त्यही बेला स–साना कलिला चेलीहरू नजिकैको मैदानमा अभ्यास गरेर आफ्नो होस्टेल फर्किरहेका थिए । साथमा थिए प्रशिक्षक गोलाम रब्बानी छोटन । सबै उनलाई ‘छोटन भाइ’ भन्छन् । उनी बंगलादेशी महिला फुटबलका भीष्म पितामहजस्तै हुन् । पछिल्लो एक दशकमा बंगलादेशले जति महिला फुटबलमा अन्तर्राष्ट्रिय सहभागिता जनाएको छ, ती सबैमा प्रशिक्षक उनी नै छन् । चाहे त्यो राष्ट्रिय टिम होस् वा उमेर समूहको ।

यी छोटन खेलाडीका रूपमा खासै उम्दा थिएनन् । आफ्नो समयमा बंगलादेशको क्लब फुटबलमै सीमित रहे । भनिन्छ, ठिक्कका खेलाडी बढी सफल प्रशिक्षक हुनसक्छन् । यिनी पनि यस्तै रहे । उनले लामो समयदेखि बंगलादेशी महिला फुटबलको जिम्मेवारी सम्हालिरहेका छन् । त्यो पनि इमान्दारीपूर्वक । केही समय भयो, बंगलादेशी महिला फुटबलले उमेर समूहमा एकपछि अर्को सफलता हात पार्न थालेको छ । तर, यो राष्ट्रिय टिमसम्म सर्न पाएको थिएन ।

अब यो पूरा भएको छ । अब त छोटन पनि यस्तो भन्ने भइसके, ‘हो हामी अब दक्षिण एसियाको फुटबल शक्ति बनेका छौं ।’ बंगलादेशी महिला फुटबलको विशेषता के भने यसमा त्यहाँका ढाकाबाहिरका आदिवासी चेलीहरूको राम्रो प्रतिनिधित्व छ । कप्तान सविना खातुन जस्ता खेलाडी त हुने नै भए । बंगलादेशी पुरुष फुटबलमा निकै नाम चलेका अनेक पुराना खेलाडी छन्, जसलाई आम खेलप्रेमीले मज्जाले चिन्छन् । अब सविना जस्ता महिला खेलाडी तयार भएका छन्, जसको नाम उत्तिकै गर्वले लिन सुरु भएको छ ।

ठ्याक्कैभन्दा छोटनले बंगलादेशी महिला फुटबल सम्हाल्न थालेको १० वर्षभन्दा बढी भयो । सन् २०१० यता । उमेर समूहमा केही उपाधि जितेयता उनलाई प्रायः सोध्ने गरिन्थ्यो, राष्ट्रिय टिमले नै जित्ने चाहिँ कहिले हो त ? उनी पनि भन्थें, ‘आउँछ, त्यस्तो दिन पक्कै आउँछ । हाम्रा खेलाडी कच्चै छन्, केही वर्षमा उनीहरू अनुभवी र परिपक्व हुनेछन् । त्यसपछि तिनले भारत र नेपालजस्ता टिमलाई हराउने छन् अनि उपाधि पनि हात पार्नेछन् ।’

अहिले यस्तै भएको छ । यसपल्टको साफ वुमेन्स च्याम्पियनसिप २०२२ को मूल सार हो, बंगलादेश वास्तविक विजेता रह्यो । सायद ‘ट्र्यु विनर’ भन्दा बढी मीठो सुनिन्छ । सबैभन्दा पहिले उसले समूह ‘ए’ जितेको थियो, जुन नेपालसम्मिलित समूह ‘बी’ भन्दा पक्कै केही कठिन थियो । वास्तविक प्रश्न थियो, समूह कसले जित्ने छ । बंगलादेशले लगातारको डिफेन्डिङ च्याम्पियन भारतलाई ३–० ले हराएपछि त्यसको जवाफ आइहाल्यो ।

त्यसअगाडि लिग चरणमा बंगलादेशले माल्दिभ्सलाई ३–० र पाकिस्तानलाई ६–० ले हराएको थियो । सेमिफाइनल त झन् साह्रो एकोहोरो रह्यो, बंगलादेश भुटानविरुद्ध ८–० ले विजयी रह्यो । यता नेपालले आफ्नो समूह जितेपछि भारतलाई हराएको थियो । यसरी भारत लगातार दुई खेलमा पराजित रह्यो । त्यसमध्ये बंगलादेशसँगको हार त साफ च्याम्पियनसिप इतिहासमै भारतको पहिलो हार थियो । प्रतियोगिताको भविष्यका लागि भारत यसरी हार्नु राम्रै थियो, आखिरमा एक टिमको एकछत्र राज सकिएको छ ।

बंगलादेश र नेपालबीचको फाइनल पक्कै पनि रोमाञ्चक रह्यो । नेपाल पराजित त रह्यो, तर यसमा प्रदर्शन खराब रहेन । बंगलादेश वास्तवमै जितको हकदार देखिन्थ्यो । बंगलादेशले गरेका तीन गोलमध्ये साम सुन्नहारको गोल निकै उम्दा थियो, विश्वस्तरकै । कृष्णरानी सरकारका दुई गोल पनि कम्तीका रहेनन् । बंगलादेशले यहाँसम्म पुग्न कडाभन्दा कडा मिहिनेत गरेको थियो । अब त्यसको फल प्राप्त भएको छ । त्यसैले बंगलादेशी सफलताको रहस्य पक्कै पनि रहस्यमय थिएन ।

सन् २००३ मा बंगलादेशी पुरुष टिमले पनि साफ च्याम्पियनसिप जितेको थियो । त्यति बेला पनि बंगलादेशमा एक प्रकारको फुटबलको लहर आएको थियो । तर त्यो लामो समय टिकेन । सबैले माने, पुरुष फुटबलमा प्रगति गर्न बंगलादेशलाई गाह्रै छ । यस्तोमा एउटा उपाय जस्तो निस्क्यो, किन महिला फुटबलमा लगानी नगर्ने त ? सुरुमै उत्साहका लागि भनिएको थियो, पुरुष खेलाडी जति राम्रा छन्, महिला खेलाडी उत्तिकै राम्रा हुन सक्छन्, सायद अझ बढी । यसकै फल हो, सुरुमा उमेर समूहको सफलता र अहिले राष्ट्रिय टिमकै ।

अहिलेको बंगलादेशी टिमकी प्रमुख सदस्य हुन्, सन्जिदा अख्तर । उनले फाइनल अगाडि सामाजिक सन्जालमा लेखेका केही शब्दले धेरैथोक बयान गर्छ । उनले लेखेकी थिइन्, ‘केहीले निकै संयमित भएर हामीले उपाधि जितेको पर्खिरहेका छन् । हामी उनीहरूकै लागि जित्न चाहन्छौं । हामीले पाउँदै आएको विनासर्तको समर्थनका लागि हामी जित्न चाहन्छौं । उपाधि जितेपछि हामी ओपन बसमा बसेर विजयी यात्रा गर्नेबारे सोचिरहेका छैनौं । हामी त तिनका लागि जित्न चाहन्छौं, जसले सामाजिक अवरोध तोडेर फुटबलको मैदानमा खेल्ने साहस गरेका छन् ।’

प्रकाशित : आश्विन ५, २०७९ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×