कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मीलाई चितवन गोल्डकपको उपाधि 

रमेशकुमार पौडेल

चितवन — त्रिभुवन आर्मी क्लब नारायणगढ क्याम्पाचौरमा सम्पन्न इसुजु चितवन गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को विजेता भएको छ ।सोमबार सम्पन्न प्रतियोगिताको फाइनलमा आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ)को फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

आर्मीलाई चितवन गोल्डकपको उपाधि 

विजेता आर्मीले सात लाख रुपैयाँ नगद पुरस्कार पायो । उपविजेता एपिएफले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो ।

उपाधि भीडन्तमा उत्रेका दुवै विभागीय टिम मध्यान्तरअघि गोलरहत बराबरीमा रहेका थिए । मध्यान्तरपछि आर्मीले दबाब बढाउँदै गयो । खेल सुरु भएको तेस्रो मिनेटमै आर्मीका सुदिल राईले गोल गरेका थिए । उनै सुदिलले खेल सकिन लगभग एक मिनेट बाँकी रहँदा गोल थपेका हुन् । फाइनल खेलको म्यान अफ दि म्याच पनि सुदिल नै भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफका हरि कार्की घोषित भए । त्यसैगरी सात गोल गरेका भरतपुर फुटबल क्लबका युवा खेलाडी राज भुषालले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए । उत्कृष्ट गोल रक्षक आर्मीका विवश चौधरी भए । प्रतियोगिताका उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ नगद पुरस्कार पाए । चितवन–२ का निवर्तमान सांसद कृष्णभक्त पोखरेलले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

भरतपुर फुटबल क्लबको आयोजनामा भदौ २५ गते शनिबारदेखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा अफ्रिकन टोली एभिनर फुटबल क्लब, भारत बिहार मोतिहारीको टोलीसहित १० टिमले प्रतिस्पर्धा गरेका थिए । यो प्रतियोगिता चितवनमा सञ्चालित अहिलेसम्मको सवैभन्दा धेरै पुरस्कार राशिको प्रतियोगिता भएको इसुजु चितवन गोल्डकप–२०७९ का संयोजक ध्रुव भुषालले बताएका छन् ।

प्रकाशित : आश्विन ३, २०७९ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?