कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘हामी सक्छौं, हामी गर्छौं’

साफ फाइनलमा बंगलादेशलाई हराएर च्याम्पियन बन्न चाहन्छ नेपाल
राजु घिसिङ

काठमाडौँ — उपाधिविहीन यात्रामा पूर्णविराम लगाउने लक्ष्यसहित नेपाली महिला फुटबल टिमले छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध सोमबार प्रतिस्पर्धा गर्दै छ । नेपाली टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग्यले खासै साथ दिएको छैन ।

‘हामी सक्छौं, हामी गर्छौं’

हालसम्म नौवटा फाइनल खेलेको छ । १२ वर्षयता ती सबै फाइनलको नतिजा नेपालको पक्षमा भएनन् । ठूला टिमविरुद्ध गरिएको कमजोर प्रदर्शनको नतिजा थिए– फाइनलका हारहरू । त्यसैलाई चिर्दै नेपाल पहिलो उपाधि चुम्न चाहन्छ ।

साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) का ६ फाइनल सबैमा भारतसँग हारेपछि नेपाल उपाधिविमुख भएको थियो । साफमा पाँचपल्टै च्याम्पियन भएको भारतलाई सेमिफाइनलमा १–० ले पन्छाउँदै ऐतिहासिक जित निकालेकाले नेपाली टिम उच्च मनोबलका साथ उत्रँदै छ ।

लगातार फाइनल हारेकाले हुन सक्छ, नेपाली टिमले यो साफमा नारा नै बनाएको छ– ‘हामी सक्छौं, हामी गर्छौं’ । यो नारालाई खेलको दिन ‘ड्रेसिङ रुम’ मा ह्वाइट–बोर्डमा प्रत्येकपल्ट लेख्दै आएको छ, प्रत्येक ट्रेनिङ सेसनको अन्त्य र खेलअघिको प्रार्थनामा ‘हामी सक्छौं, हामी गर्छौं’ उच्च आवाजमा वाचा गरिँदै आएको छ ।

नेपालले चार फाइनल त सन् २०१९ मा गुमाएको थियो । लगातार फाइनलमा हार्ने क्रममा त्यो साल हिरो वुमेन्स गोल्डकप (भुवनेश्वर), पाँचौं साफ (विराटनगर), नाडेज्दा कप (काराकोल) र १३ औं साग (पोखरा) मा पनि निरन्तरता पाएको थियो ।

भुवनेश्वरमा म्यान्मार र काराकोलमा उज्वेकिस्तानसँग हारेको नेपाली टिमलाई घरेलु भूमि विराटनगर र पोखराको उपाधि होडमा भारतले निराश पारेको थियो । त्यही टिमका अधिकांश खेलाडीसहित काठमाडौं आएको भारतलाई हराएर नेपालले साफमा पाँचौंपल्ट फाइनलमा स्थान बनाएको हो । त्यसैले नेपाली टिम पहिलो उपाधि जित्न उत्साहित छ, आतुर छ ।

साफका पाँचै संस्करणमा नेपाली टिम भारतसँग मात्रै हारेको डरलाई यसपटक चिरिसकेको छ । राष्ट्रिय टिमका सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी (३९ खेलमा ४० गोल) र प्रभावशाली विंगर मञ्जलीकुमारी योञ्जन (डेंगु संक्रमित) को अनुपस्थितिमै भारतमाथि ऐतिहासिक जित हासिल गरेको हो । सावित्रा पहिलो खेलमा दुई गोल गरेपछि मैदानबाहिरै छिन् । मञ्जलीले मैदानमा फर्कन पाएकी छैनन् । यी दुवै खेलाडी प्रशिक्षणमा फर्किसकेका छन् । स्ट्राइकरका रूपमा अग्रपंक्तिमा रश्मिकुमारी घिसिङ र प्रीति राईको जोडीले राम्रो प्रभाव छाडे । प्रीतिकै लोभलाग्दो पासमा रश्मिले उत्कृष्ट गोल गरेकी थिइन् ।

समूह चरणमा भुटानलाई ४–० र श्रीलंकलाई ६–० ले पराजित गर्दा नेपालका गोलकिपर र डिफेन्सको परीक्षण भएको थिएन । सेमिफाइनलमा भारतले केही हदसम्म दुःख दियो । विशेषगरी दोस्रो हाफमा नेपाली डिफेन्सलाई व्यस्त राख्यो । तर, त्यसमा नेपाली टिम सफल रह्यो । पेनाल्टी क्षेत्रमा तीनपल्ट गीता रानाले गरेकी ट्याकल निकै सटीक रह्यो । पुनम जर्घामगर र अमृता जैशीले पनि राम्रो प्रदर्शन गरे । मिडफिल्डमा नयाँ प्लेमेकर दीपा शाही छाइरहेकी छन् । सरु लिम्बूको प्रदर्शन पनि उच्चस्तरको छ । विङ्समा अनिता केसी ढिला भए पनि राम्रै देखिएकी छन् । अनिता बस्नेत श्रीलंका र भारतविरुद्ध संघर्षरत थिइन् । सेमिफाइनल पार गर्दासम्म समग्रमा टिमको प्रदर्शन राम्रो रह्यो । मुख्य खेलाडीबिना भारतविरुद्ध हात पारेको जितले नेपाली टिमलाई उपाधि जित्ने होडमा आत्मविश्वासी बनाएको छ ।

पछिल्लोपल्ट नेपाल र बंगलादेश दशरथ रंगशालामै भएको मैत्रीपूर्ण खेलमा भिडेका थिए । पहिलो खेल २–१ ले जितेको नेपालले दोस्रो खेल गोलरहित टुंग्याएको थियो । उसलाई नेपालले साफमा दुईपल्ट सेमिफाइनल (२०१० र २०१४) र एकपल्ट (२०१९) मा समूह चरणमा पराजित गरेको थियो । त्यस बेला नेपाललाई जित निकाल्न गाह्रो भएन ।

अहिलेको बंगलादेशी टिम परिष्कृत छ, खारिएको छ, निकै राम्रो भएको छ, सुन्दर खेल पस्किने भएर आएको छ । यो छैटौं साफको सेमिफाइनलसम्म सबैभन्दा राम्रो प्रदर्शन गरेको पनि उसैले हो । उसले समूह चरणको अन्तिम खेलमा भारतलाई त ‘आउटप्लेड’ नै गरेको थियो । त्यो खेल ३–० ले जित्नुअघि बंगलादेशले माल्दिभ्सलाई ३–० र पाकिस्तानलाई ६–० ले हराएको थियो । उसले सेमिफाइनलमा भुटानलाई ८–० ले पन्छाएर दोस्रोपल्ट फाइनलमा स्थान बनाएको हो । उसले भारतसँग बराबरी गर्दै समूह विजेता भएको सिलिगुडी (२०१६) मा पहिलोपल्ट साफको फाइनल खेलेको थियो । फाइनलमा उही भारतीय टिमको सिकार बनेको थियो ।

त्यो चौथो साफमा नेपाली टिम प्रशिक्षक कुमार थापाले सम्हालेका थिए । उनको टिमलाई भारतले सेमिफाइनलबाटै स्वदेश फर्काइदिएको थियो । ६ वर्षपछि फेरि महिला टिमको मुख्य प्रशिक्षक भएर फर्कंदा उनको टिमले लगातार छैटौंपल्ट उपाधि जित्ने योजनामा आएको भारतलाई सिलिगुडीको बदला लिँदै अन्तिम चारबाटै बिदाइ गरिदियो । दक्षिण एसियाली फुटबलमा भारतपछिको सबभन्दा बलियो नेपाल नै हो, पाँचमध्ये चार संस्करणको फाइनल खेलेको तथ्यांकले यही भन्छ । यो साफमा बंगलादेशी टिम ‘बंगाली टाइगर’ भएर उदाएको छ । भारतको अपराजित यात्रालाई २५ खेलमा टुंग्याइदिएको उसले फाइनलमा नेपाललाई पनि सजिलोसँग खेल्न दिने छैन ।

लोभलाग्दो खेल देखाउँदै गोलको वर्षात गरिरहेका बंगलादेशी खेलाडीहरू निकै छरिता छन् । सन् २०१० मा कक्स बजार (बंगलादेश) बाट सुरु भएको साफका सबै संस्करणमा राम्रो प्रदर्शन गर्दै आएकी कप्तान सविना खातुन नेतृत्वको टिमवर्क राम्रो छ । आठ वर्षयता टिममा रहेर यसैपालि नयाँ कप्तान बनेकी एन्जिला तुम्बापो सुब्बा नेतृत्वको नेपाली टिमको बलियो पक्ष पनि टिमवर्क नै हो । बंगलादेशी टिमले तीव्र गतिमा आक्रामक खेल खेलिरहेको छ । त्यही गतिलाई रोक्ने प्रयास नेपालले गर्नेछ । आक्रमणमा बंगलादेश जति तेज छ, डिफेन्समा त्यस्तो देखिएको छैन, केही सुस्त छ । त्यसैको फाइदा प्रीति र रश्मिले लिन सक्छन् ।

प्रकाशित : आश्विन ३, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?