इन्ज्युरी टाइमको त्यो एक मिनेट
काठमाडौँ — नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले साफ महिला च्याम्पियनसिप २०२२ का लागि तयारीकै बेला भनेका थिए, ‘हामी भारतभन्दा तल नै छौं । संरचनागत रूपमै पनि । तर, फुटबलमा जे पनि हुन्छ, एकमात्र च्याम्पियन र एकमात्र बलियो हुने हो भने संसारमा फुटबलको स्वाद नै हुँदैन ।’
दक्षिण एसियाली महिला फुटबलले रोमान्चक मोड लिएको छ, स्वादिलो बनेको छ । किनभने अघिल्ला पाँचै संस्करणमा च्याम्पियन भएको भारतलाई सेमिफाइनलमा १–० ले पराजित गर्दै नेपालले घरेलु मैदानमा बंगलादेशविरुद्ध फाइनल भेट निश्चित गर्यो । फाइनल जसले जिते पनि त्यो टिम साफको नयाँ च्याम्पियन हुनेछ ।
अघिल्ला पाँचवटै साफमा नेपाली महिला टिम भारतसँग चुकेको थियो । दक्षिण एसियाली महारथीविरुद्ध चारपल्ट फाइनल र एकपल्ट सेमिफाइनलमा हारेको थियो । केही सिनियर खेलाडीविना आइपुगेको भारतको साफमा अपराजित यात्रा बंगलादेशले समूह चरणको अन्तिम खेलमा ३–० ले पन्छाउँदै २५ खेलमा टुंग्याइदिएको थियो । तर, युरोपेली क्लबमा आबद्ध खेलाडीलाई पनि बोलाएको भारतीय टिममा एसियन कप, अमेरिका, स्विडेन र ब्राजिलजस्ता बलिया टिमसँग खेलेको अनुभव थियो । भारतले तीन वर्षअघि विराटनगरमा भएको पछिल्लो फाइनलमा नेपललाई ३–१ ले हराएको थियो र त्यो टिमका अधिकांश खेलाडी यसपालि पनि छन् ।
एक वर्षपछि मैदानमा फर्किएको नेपाली टिमलाई भने डेंगुले सताइरहेको छ । विंगर मन्जलीकुमारी योन्जन मैदान फर्केकी छैनन् । कीर्तिमानी गोलकर्ता सावित्रा भण्डारी सेमिफाइनल खेल्न नसक्ने भइन् । नियमित कप्तान तथा प्लेमेकर रेनुका नगरकोटे र डिफेन्डर पूजा रानालाई चोटका कारण पहिला नै गुमाइसकेको थियो । समूह चरणमा कमजोर मानिएका भुटान र श्रीलंकाविरुद्ध एकतर्फी जित हासिल गरे पनि डिफेन्स र गोलकिपरको परीक्षण हुन पाएको थिएन । टिमको प्रदर्शनमा सुधारोन्मुख पनि थिएन । गल्तीहरू दोहोर्याइरहेका थिए । त्यसैले नेपालले साफमा भारतलाई पहिलोपल्ट पराजित गर्नेमा शंका गरिएको थियो ।
तर, दशरथ रंगशालामा पहिलोपल्ट आयोजित महिला फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा घरेलु टिमले ७ हजारभन्दा बढी दर्शकसामु आशालाग्दो सुरुआत गर्यो । विगतमा भारतविरुद्ध सधैं डराएर खेल्ने नेपाली टिम मैदानमा सम्हालिएको देखियो । पहिलो हाफमा बलमाथि नियन्त्रण राख्यो । ‘अट्याकिङ थर्ड’ (पेनाल्टी क्षेत्रभित्र) मा खासै खेल्न सकेन । मिडफिल्डबाटै भए पनि भारतमाथि लगातार दबाब सिर्जना गरिरह्यो । पहिलो अवसर भने भारतले पायो । तर, ग्रेस डाङ्मीको २४ औं मिनेटमा प्रहार सटिक भएन । सावित्राको स्थानमा पहिलो रोजाइमै अग्रपंक्तिमा खेल्ने अवसर पाएकी प्रीति राईले ३३ औं मिनेटमा पेनाल्टी क्षेत्रनजिकबाट प्रहार गरेको बल पोस्ट नजिकिँदै माथिबाट बाहिरियो । क्रोएसियाको डिनामो जाग्रेबमा आबद्ध स्ट्राइकर सौम्य गुगुलोथले ४२ औं मिनेटमा पाएको सहज अवसरमा पनि पोस्टमा बल प्रहार गर्न सकिनन् ।
रश्मीको उत्कृष्ट गोल
स्ट्राइकर रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा गरेको गोलमा नेपालले भारतलाई १–० ले हराएर साफमा पाँचौंपल्ट फाइनलमा स्थान बनाएको हो । उनले प्रीतिले मिहिनेतपूर्वक दिएको पास नियन्त्रण गर्दै पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बलमा नेपालले अग्रता लिएको थियो । ढिलागरी बल प्रहार गरे पनि त्यसमा उनको ‘फिनिसिङ’ स्तरीय थियो । उनले श्रीलंकाविरुद्ध ६–० को जितमा पनि गोल गरेकी थिइन् ।
अनिता केसीको कर्नरमा अमृता जैसीले ५० औं मिनेटमा गरेको हेडरमा इंग्लिस क्ल्ब वेस्टह्याममा पूर्वगोलकिपर अदिती चौहानले पन्च गर्दै भारतको संकट टारेकी थिइन् । लगत्तै कर्नरपछि प्रीतिले कठिन कोणबाट प्रहार गरेको बल पोलमा लागेर फर्कियो । विराटनगरमा नेपालविरुद्ध गोल गरेकी अन्जु तामाङले पनि ५५ औं मिनेटको पाएको सहज मौकामा बल प्रहार गर्न सकिनन् । रश्मीको पासमा प्रीतिले ‘सेकेन्ड बार’ च्याप्दै प्रहार गरेको बल पोस्ट नजिकबाट बाहिरिँदा नेपालले ६४ औं मिनेटमा अग्रता दोब्बर बनाउने अवसर गुमायो । भारत गोललाई हतारिन थाल्यो । गुगुलोथको डरलाग्दो क्रस ८३ औं मिनेटमा कप्तान एवं गोलकिपर एन्जिला तुम्बापो सुब्बाले असफल पारिन् ।
अन्त्यसम्म नेपाली खेलाडीहरू संयमित देखिए । सबैले मिहिनेत गरिरहे । मिडफिल्डमा नेपालको वर्चस्व रह्यो । अन्त्यतिर ‘साइड डिफेन्डर’ थकित देखिए पनि पाहुना टिमले त्यसको उपयोग गर्न सकेन । विशषेगरी सेन्टर–ब्याक गीता राना र प्लेमेकर दीपा शाहीको प्रदर्शन उत्कृष्ट रह्यो । जम्मा चार फिट १० इन्च अग्ली भए पनि छरितो खेल पस्कँदै केही अवसर सिर्जना गरेकी प्रीतिले ‘प्लेयर अफ दि म्याच’ को अवार्ड हात पारिन् ।
‘१२ वर्षको प्रतीक्षा’
मुख्य प्रशिक्षक थापाले भने, ‘यो जितको लागि १२ वर्षदेखि प्रतीक्षा गरिरहेका थियौं । खेलाडीले गरेको मिहिनेतलाई हामीले प्रशंसा गर्नुपर्छ । उत्कृष्ट खेल्ने प्रयास गर्यौं, कडा मिहिनेत गर्यौं र खेलाडीले पूरा (भारतलाई पराजित गर्ने वाचा) गरे ।’ ६ वर्षअघि सिलिगुढीमा भएको सेमिफाइनलमा भारतसँग ३–१ ले हारेको नेपाली टिमका प्रशिक्षक पनि हुन् थापा । नेपालले भारतविरुद्ध साफमा पहिलोपल्ट समग्रमा १५ खेलमा दोस्रो जित हात पारेको हो ।
तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर
पूर्वराष्ट्रिय खेलाडी रहेका प्रशिक्षक थापाले भने, ‘पुरुष वा महिला साफमा २५ वर्ष भयो हामीले भारतलाई जितेका थिएनौं । त्यसलाई तोडेका छौं । महिला फुटबलमा फाइनल पुगिरहेको हो । ट्रफी स्वदेशमै राख्नसके खुसी हुन्छौं, यसमा आशावादी छौं ।’ सेमिफाइनलको प्रदर्शनबारे उनी बोले, ‘मुर्खतापूर्ण गल्ती गरेनौं । गल्ती कम गर्यौं । हामी फाइनल पुग्नुको आधार नै पाएको अवसर उपयोग गर्नु हो ।’
साफमा पहिलो हार बंगलादेशसँग बेहोरेको भारत लगातार दोस्रो हारसँगै सेमिफाइनलबाटै बाहिरियो । टोलीका प्रशिक्षक सुरेन क्षत्रीले भने, ‘धेरै राम्रो खेल्यौं तर हार्यौं । यसलाई स्वीकार्छौं । हामीले पाएका अवसर उपयोग गर्न सकेनौं । नेपालले एउटा मौका पायो, गोल भयो र जित्यौं ।’
सविनाको ह्याट्रिक
यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले कप्तान सविना खातुनको ह्याट्रिकसँगै भुटानमाथि ८–० को जित हात पारेको थियो । उनले १८, ५३ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दै यो साफमा दोस्रोपल्ट ह्याट्रिक गरिन् । पाकिस्तानविरुद्ध पनि तीन गोल गरेकी उनले सर्वाधिक ८ गोल गरेकी छन् ।
यो साफमा सबैभन्दा राम्रो प्रदर्शन गरिरहेको बंगलादेशले जाहन सोपनाको गोलमा दोस्रो मिनेटमै अग्रता लिएको थियो । उसको फराकिलो जितमा कृष्णरानी सरकारले ३०, रितु चकमाले ३५, मसुरा परविन ५६ र तोहुरा खातुनले ८७ औं मिनेटमा गोल गरिन् । सन् २०१० मा सुरु भएको साफ महिला च्याम्पियनसिपमा बंगलादेश दोस्रोपल्ट फाइनल पुगेको हो । यसअघि उसले २०१६ को फाइनल खेलेको थियो, जहाँ भारत ३–१ ले विजयी भएको थियो ।
प्रकाशित : आश्विन १, २०७९ ०६:२४