कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संन्यासतिर फेडेरर

एएफपी

जेनेभा — स्विस टेनिस लिजेन्ड रोजर फेडेररले अर्को साताको लेभर कपपछि संन्यास लिने भएका छन् । उनले आफ्नो घुँडाको चोट निको नभएपछि संन्यास लिनुपर्ने भएको बिहीबार बताएका छन् । उनले ट्विटमा लेखेका छन्, ‘अर्को साता लन्डनमा हुने लेभर कप मेरो अन्तिम एटीपी प्रतियोगिता हुनेछ ।’

संन्यासतिर फेडेरर

सन् २०२१ को विम्बल्डनयता कोर्टमा नदेखिएका ४१ वर्षीय फेडेररले २० ग्रान्ड स्लाम उपाधि जितेका छन् । त्यसयताका १८ महिनामा उनी घुँडाको तीन शल्यक्रियाबाट गुज्रिएका थिए । उनका समकालीन खेलाडी सेरेना विलियम्स पनि संन्यासको संघारमा छिन् । यूएस ओपनको तेस्रो सेटमा पराजित भएयता सेरेनाले फेरि दोहोर्‍याएर नखेल्ने विश्वास गरिएको छ ।

फेडेररले आफ्नो शरीरले यो नै संन्यास लिनका लागि उपयुक्त समय भएको जनाइसकेको बताएका छन् । उनले लेखेका छन्, ‘मैले प्रतिस्पर्धात्मक टेनिसमा फर्कन धेरै मिहिनेत गरें, तर शरीरको पनि सीमा हुने रहेछ । शरीरले मलाई स्पष्ट भनेको छ । म ४१ वर्षका भएँ, पछिल्लो २४ वर्षमा मैले १ हजार ५ सयभन्दा बढी खेले खेलें होला ।’

उनले थपेका छन्, ‘मैले सोचेभन्दा पनि टेनिसले मलाई धेरै दिएको छ । अहिले त्यस्तो समय आएको छ, जहाँ मैले आफ्नो खेलजीवनमा समाप्त भएको मान्नुपर्छ ।’

सन् २००४ को फेब्रुअरीमा विश्व नम्बर एकको वरीयता हासिल गरेका फेडेररले आफ्नो खेलाडी जीवनमा १ सय ३ उपाधि जितेका छन् । त्यसमा २० ग्रान्ड स्लाम समावेश छ । अस्ट्रेलियन ओपन ६, फ्रेन्च ओपन एक, विम्बल्डन ८ र युएस ओपन ५ पटक जितेका छन् । एटीपी टुर फाइनल ६ पटक जितेका उनको जित–हारको रेकर्ड १२५१–२७५ रहेको छ । त्यसबाहेक उनले ओलम्पिकमा डबल्सतर्फ स्वर्ण पदकसहित डेविस कप र होपम्यान कपको उपाधि पनि जितेका छन् । सन् १९९८ मा व्यावसायिक खेलाडी बनेका फेडेरर ३१० साता विश्व नम्बर एकमा रहेका थिए ।

प्रकाशित : भाद्र ३१, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?