साफमा चम्किने दाउमा फुटसलकी स्टार

केटाहरुका टिममा एक्ली केटीका रुपमा खेल्ने गरेकी प्रीति राई राष्ट्रिय टिमबाट साफ महिला च्याम्पियनसिपमा
राजु घिसिङ

काठमाडौँ — कुनै उमेर समूहमा अवसर पाएकी थिइनन् । राष्ट्रिय टिममा पुग्ने त टाढाकै विषय थियो । तर, ‘कान्छी खेलाडी’ का रूपमा परिचित भइसकेकी थिइन्, जो कपनका मैदान र फुटसल प्रतिस्पर्धामा केटाहरूको टिममा एक्ली ‘केटी’ भएर पनि छाइरहेकी हुन्थिन् । केही वर्षअघि फुटसल र स्थानीय खेलमै रमाइरहेकी उनै प्रीति राई अहिले नेपाली राष्ट्रिय महिला फुटबल टिमकै महत्त्वपूर्ण सदस्य भएकी छन् ।

दशरथ रंगशालामा मंगलबार सुरु हुने छैटौं साफ महिला च्याम्पियनसिपको अन्तिम तयारीमा रहेकी प्रीति मिडफिल्डर हुन् । अट्याकिङ मिडफिल्डर । ४ फिट १० इन्च अग्ली उनको ‘फुट वर्क’ निकै राम्रो छ । उनलाई पनि आफ्नो फुट वर्क नै सबभन्दा बलियो हतियार लाग्छ । मैदानमा उनको ‘ड्रिब्लिङ’ लोभलाग्दो हुने गर्छ । दुवै खुट्टा उत्तिकै चलाउने खुबी छ ।

शारीरिक रूपमा सानी देखिए पनि उनी घरेलु फुटबलमा एक–दुई जना विपक्षीलई सजिलै छक्याउने गर्छिन् । यसरी विपक्षीलाई पन्छाउँदै गोलका लागि स्ट्राइकरलाई बल उपलब्ध गराउनु उनको कला नै हो । गोल हान्ने कौशल पनि उस्तै राम्रो छ । विशेषगरी पेनाल्टी क्षेत्रनजिकबाट पोस्टमा सटीक प्रहार गर्न उनी सिपालु छिन् । विपक्षीलाई रोक्नका लागि ‘ट्याकल’ गर्न कत्ति पनि हिच्किचाउँदिनन् ।

गुंदेल, सोलुखुम्बु पुर्ख्यौली घर भएकी १७ वर्षीय प्रीतिको अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ पनि सानदार रहेको थियो । २०७८ साल भदौ २४ गते दशरथ रंगशालामा महिला टिमले पहिलोपल्ट खेल्ने अवसर पाएको थियो । बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलको उक्त अवसरमा तत्कालीन प्रशिक्षक ग्यारी फिलिप्सले प्रीतिसहित, सविता राना, सिर्जना सिंह र रश्मिकुमारी घिसिङलाई डेब्यु गराएका थिए । पहिलो रोजाइमा मौका पाएका प्रीति र सविताकै गोलमा नेपाल २–१ ले विजयी भयो । प्रीति ‘प्लेयर अफ द म्याच’ नै भइन् ।

तस्बिर : हेमन्त श्रेष्ठ

गत वर्ष तीजकै दिन भएको खेल सम्झँदै प्रीतिले भनिन्, ‘अभ्यासमा गोल गरिरहेकी थिएँ । त्यसैले खेलमा गोल गर्छुजस्तो भइरहेको थियो । राम्रो गर्न सक्नेमा डर भने थियो । तर, राम्रो गर्न सकें, गोल पनि गरें ।’ उनले बंगलादेशविरुद्धका मैत्रीपूर्ण दुई खेल र उज्वेकिस्तानको तास्कन्दमा गत वर्ष भएको एसियन कप छनोटमा गरी चार ‘क्याप’ जितेकी छन् । छनोटमा नेपालले फिलिपिन्सविरुद्ध २–१ ले हारेको थियो भने हङकङसँग गोलरहित खेलेको थियो । विमला चौधरीको गोलमा अग्रता लिए पनि इन्ज्युरी समयमा दुई गोल बेहोरेपछि फिलिपिन्सविरुद्ध हारेको थियो, जसको कारण नेपालको एसियन कप खेल्ने ढोका बन्द भएको थियो । फिलिपिन्स एसियन कपको सेमिफाइनलमै पुग्यो, विश्वकपमा पनि छनोट भयो ।

नेपाललाई फिलिपिन्सविरुद्ध त्यो हारले सधैं पीडा दिनेछ । ‘साह्रै नराम्रो लाग्छ,’ तास्कन्दमा बेहोरेको हार ताजै रहेको उल्लेख गर्दै प्रीतिले भनिन्, ‘हाम्रा लागि धेरै ठूलो अवसर थियो । त्यो खेल जितेको भए छनोट भएर भारतमा एसियन कप खेल्न पाउँथ्यौं । एसियन कपको शीर्ष ६ मा रहने विश्वकप खेल्न पाउँथ्यो । हामी एसियन छनोटमै रोकियौं । फिलिपिन्स विश्वकपमै पुग्यो । त्यो सम्झँदा साह्रै नराम्रो लाग्छ ।’ उनले थपिन्, ‘हामीले अझै मिहिनेत गरेको भए त्यस्तो पश्चाताप हुँदैनथ्यो । हामी १–० ले अगाडि थियौं । धेरै समय नभएकाले त्यो खेल अवश्यै जित्न सक्ने अवस्थामा थियौं । अन्तिम समयमा फिलिपिन्सले २ गोल फर्कायो । हाम्रो खेल राम्रो थियो, समस्या स्कोरिङमै हो ।’ कीर्तिमानी गोलकर्ता सावित्रा भण्डारीले चोटका कारण छनोट गुमाएकी थिइन् ।

साफमा सकारात्मक

साफ महिला च्याम्पियनसिपको १२ वर्षे इतिहासमा सधैं च्याम्पियन बन्ने योजना बनाएको नेपालको सपना पाँचै संस्करणमा भारतले तुहाइदियो । नेपाल चारपल्ट उपविजेता भयो र एकपल्ट सेमिफाइनलमै रोकियो । मुख्य प्रशिक्षक कुमार थापाको टिमले फेरि एकपल्ट च्याम्पियन बन्ने लक्ष्य राखेको छ । पहिलोपल्ट साफ च्याम्पियनसिप खेल्न लागेकी प्रीति भन्छिन्, ‘यो साफमा सकारात्मक छु । घरेलु मैदान हो । घरेलु दर्शक/समर्थक हुन्छन् । टिममा अनुभवी दिदीहरू थुप्रै हुनुहुन्छ । नयाँ खेलाडीहरूले धेरै राम्रो गरिरहेका छन् । कति जित्न सक्छौंभन्दा पनि हामीले गर्नैपर्छ, जित्नैपर्छ भन्ने महसुस भइरहेको छ ।’

‘यसपालिको अट्याकिङ, डिफेन्स, मिडफिल्ड सबै राम्रो छ,’ उनले भनिन्, ‘टिम–वर्क राम्रो छ । टिम संयोजन राम्रो छ । पहिला ‘स्टामिना’ मा हामी पछाडि पर्थ्यौं, यसपालि त्यस्तो हुँदैन भन्ने लाग्छ । किनभने एसियन गेम्सको तयारीमा ४० दिन ट्रेनिङ गरेका थियौं । त्यसपछि कुमार सर (प्रशिक्षक) ले टिमको टेक्निकल पक्ष धेरै राम्रो बनाउनुभएको छ । त्यसैले यो टिमले धेरै राम्रो गर्छजस्तो लाग्छ ।’ कुमार थापाले साउन १० गतेदेखि टिम सम्हालेका हुन् । उनी तीन वर्षअघि विराटनगरमा भएको पाँचौं साफ महिला च्याम्पियनसिपको छनोटमा ३० खेलाडीको सूचीसम्म पुगेकी थिइन् । त्यसपछि यू–१५, यू–१६, यू–१८, यू–१९ का अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिन् । यू–१५, यू–१६ र यू–१८ साफ च्याम्पियनसिपमा नेपाली टिमको कप्तानी पनि गरिन् । कोकाकोला कप (अन्तरविद्यालय) खेलिन् । काठमाडौं जिल्लाबाट उपमेयर कपमा मैदानमा उत्रिएपछि नेपाली महिला फुटबलकै सबभन्दा शक्तिशाली एपीएफ क्लबमा आबद्ध भइन् । राष्ट्रिय लिग च्याम्पियन पनि भइन् । उनले एपीएफमा पहिलो रोजाइमा कमै अवसर पाएकी छन् । जति समय मौका पाएकी छन्, त्यसमा उत्कृष्ट खेलाडी भएको उनले सावित गरेकी छन् । गोल गरेकी छन्, असिस्ट गरेकी छन् ।

‘एपीएफ च्याम्पियन टिम हो, राम्रो कुरा सिक्न पाउँछु भन्ने लाग्यो अनि गएकी हुँ,’ तत्कालीन यू–१५ टिमकी प्रशिक्षक गंगा गुरुङले बोलाएपछि सशस्त्र प्रहरी बलको टिममा पुगेकी उनले भनिन्, ‘एपीएफमा सबै स्थानमा प्रतिस्पर्धा हुन्छ । त्यसैले सबैले उत्तिकै मिहिनेत गर्छन्, उत्तिकै ‘इफोर्ट’ दिन्छन् । राम्रो भइरहेको छ ।’

चर्को प्रतिस्पर्धा

प्रीति निकै प्रतिभाशाली खेलाडी हुन् । उनलाई चोटका कारण साफ च्याम्पियनसिप गुमाएकी प्लेमेकर रेनुका नगरकोटेको स्थान लिने अवसर छ । उनलाई पहिलो रोजाइमै अवसर पाउन भने सजिलो छैन ।

‘हामीसँग मिडफिल्डमा पाँच खेलाडी (प्रीति, सरु लिम्बू, दीपा राई, दीपा शाही र इन्दिरा राई) छन् । यसमध्ये ४–४–२ को सिस्टममा सेन्टर–मिडफिल्डमा दुई जनाले खेल्नेछन्,’ मुख्य प्रशिक्षक थापा भन्छन्, ‘प्रीति युवा खेलाडी हुन् । राम्रो खेल्छिन् । जोसिली छन् । उनको लय राम्रो छ । पोस्टमा प्रहार गर्ने र स्कोरिङ राम्रो छ । स्वार्थी खेल्दिनन् । तर, उत्कृष्ट टिम खेलाउने हो, त्यहाँ जो पनि पर्न सक्छ । प्रीतिले खेल्न पाउँछिन् तर पहिलो रोजाइमै हुन्छिन् भन्ने निश्चित छैन । किनभने सेन्टर मिडफिल्डमा कडा प्रतिस्पर्धा छ । कोही अनुभवी छन्, कोही नयाँ । तर, पाँचै खेलाडी राम्रा छन् । प्रीतिले जुनबेला मौका पाउँछिन्, त्यसबेला राम्रो खेल्नेमा विश्वस्त छु ।’

समूह चरणमा भुटान र श्रीलंकाविरुद्ध हुने खेलमा पहिलो रोजाइमै अवसर पाउनेमा प्रीति पनि ढुक्क छैनन् । ‘पाउँछु/पाउँदिनँ भन्दा पनि खेल्ने अवसर पाएपछि उत्कृष्ट प्रदर्शन गर्छु भन्ने सोचेकी छु,’ उनले भनिन् । मुख्यतः पहिलो रोजाइको प्रतिस्पर्धामा उनलाई ‘सानो शरीर’ ले पछाडि पारेको देखिन्छ । भविष्यबारे बोलिन्, ‘यत्तिकै मिहिनेत गर्दै जाने हो । यहाँ पुग्छु, त्यहाँ पुग्छु भन्दा पनि आफूलाई सुधार गर्दै लग्ने हो । आफ्नो ‘बेटर भर्सन’ बन्छु भन्ने सोचिरहेकी हुन्छु । कहिलेकाहीं यताउता हुन्छ तर त्यसलाई पन्छाएर आफ्नो लक्ष्यमा केन्द्रित हुँदै मिहिनेत गर्दै जान्छु । जहाँसम्म पुग्छ, पुग्छ ।’

मेसीकी फ्यान

उनी अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीकी ‘फ्यान’ हुन् । ‘मन पर्ने खेलाडी मेसी नै हो,’ उनले भनिन्, ‘मेसीको गेम कपी गर्न सकिन्न । नेयमर, रोनाल्डोको कपी गर्न सकिन्छ । मेसीको गेम छुट्टै छ ।’ परिवारको साथमा ६–७ वर्षकै उमेरमा भाइहरूसँग खेल्दाखेल्दै फुटबलमा रमाउन थालेकी उनी सुरुमा अग्रपंक्तिमा खेल्थिन् । स्ट्राइकर थिइन् । बल कुर्ने र पाएका बेला गोल गर्नै उनको जिम्मेवारी हुन्थ्यो । मिडफिल्डर कसरी भइयो त ? भन्छिन्, ‘मलाई कुद्न मन पर्छ, बल धेरै खेल्न मन पर्छ, जुन अवसर मिडफिल्डरले पाउँछ । त्यसैका लागि मिडफिल्डर भएकी हुँ । मलाई गोल गर्न मन लाग्छ, असिस्ट गर्न मन लाग्छ, डिफेन्स गर्न पनि मन लाग्छ । त्यसैका लागि स्ट्राइकरबाट मिडफिल्डर बनेकी हुँ । उनका बुबा ट्रेकिङमा काम गर्छन् । आमा होटल चलाउँछिन् । हालै कक्षा १२ को परीक्षा दिएकी प्रीतिले भनिन्, ‘पहिला फुटसल खुबै खेलियो । खेलेबापत पैसा पनि दिन्थे । केटाहरूको टिममा म एक्लै केटी हुन्थें । दैनिक ६–७ घण्टासम्मै खेल्थें । रमाइलै हुन्थ्यो । क्लबमा आबद्ध भएपछि भने फुटबलमा पहिलाजस्तै सधैं गएकी छैन ।’ उनले आफ्नो शरीर सानो भए पनि बलियो विपक्षीविरुद्ध सटीक ट्याकल गर्न सक्ने विश्वास छ । भन्छिन्, ‘जति बलियो विपक्षी भयो भने पनि दिमाग लायो भने उसलाई भेट्छु जस्तो लाग्छ । त्यहीअनुसार ट्याकल गर्छु ।’

बच्चैदखि उनलाई बल धेरै समय खुट्टामा राख्ने, खेलाउने बानी थियो । ड्रिब्लिङ गर्न मन लाग्थ्यो, गर्थिन् पनि । त्यस्तै दखेर सिकेकी थिइन् । एक्लै बल लगेर गोल हान्न खुबै रमाइलो लाग्थ्यो । तर, क्लब र राष्ट्रिय टिममा पुगेर आफूले खेलेका भिडियो हेरेपछि टिमका लागि स्वार्थरहित खेल खेल्नुपर्ने बुझेकी छन् । भन्छिन्, ‘जिल्लाको टिम र फुटसलमा खेल्नुभन्दा राष्ट्रिय टिममा धेरै भिन्नता हुँदोरहेछ । पहिला आफैंले बल खेलाउनुपर्छ, गोल आफैंले गर्नुपर्छ भन्ने लाग्थ्यो । अहिले आफैंमा केन्द्रित र स्वार्थी भएर खेल्नु हँॅुदैन भन्ने भएको छ । टिमसँगै खेल्नुपर्छ, एक्लै खेलेर हुँदैन भन्ने महसुस भएको छ । टिमका अरू खेलाडीमाथि विश्वास गर्नुपर्छ । उनीहरूले गर्छन्, मैले पनि गर्नुपर्छ भन्ने भावना हुन्छ ।’

प्रकाशित : भाद्र १९, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्

वैदेशिक ऋण र अनुदानको साढे ३७ अर्ब शोधभर्ना बाँकी

सरकारी निकायको हेलचेक्र्याइँ र दातृ निकायका झन्झटिला मापदण्डले समस्या, शोधभर्नामा ढिलाइको असर सरकारी कोष र मुद्रा सञ्चितिमा
हेमन्त जोशी

काठमाडौँ — नेपालले विभिन्न दातृ निकायबाट करिब साढे ३७ अर्ब रुपैयाँ शोधभर्ना लिन बाँकी रहेको देखिएको छ । वैदेशिक ऋण र सहायताबाट स्रोत बेहोरिने गरी बजेटमा राखिएका कार्यक्रमको शोधभर्नामा सरकारी निकायको ढिलासुस्तीले यस्तो रकम सरकारी खातामा आउन नसकेको हो । महालेखा नियन्त्रक कार्यालयको प्रारम्भिक विवरणअनुसार गत असार मसान्तसम्ममा ३७ अर्ब ४३ करोड १५ लाख ३४ हजार रुपैयाँ बराबर शोधभर्ना हुन बाँकी छ । यस्तो रकममध्ये १५ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ अनुदान र २१ अर्ब ९१ करोड ६३ लाख रुपैयाँ ऋण शीर्षकको हो ।

सरकारले आफ्ना वार्षिक योजना तथा कार्यक्रममा वैदेशिक ऋण र अनुदान रकमलाई पनि स्रोतका रूपमा देखाउँछ । त्यस्ता धेरैजसो आयोजना तथा कार्यक्रममा सुरुमा आन्तरिक स्रोतबाट खर्च बेहोर्ने र पछि सम्बन्धित दातृ निकायबाट त्यसको शोधभर्ना भुक्तानी माग्ने गरिन्छ । तर अन्तर्राष्ट्रिय विकास सहायतामा सञ्चालित केही कार्यक्रम, परियोजना तथा आयोजनामा लामो समयदेखि शोधभर्ना व्यवस्थापनको काम भएको देखिँदैन । भुक्तानी नपाउने प्रवृत्ति बढ्दै गएको र वैदेशिक मुद्रा सञ्चितिमा यसको असर देखिएको भन्दै राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक) को ४९ औं बैठकले शोधभर्ना लिन बाँकी रहेको रकमबारे कार्यदल नै गठन गरेर अध्ययन गर्ने निर्णय गरेको थियो । उक्त कार्यदलले अहिले प्रतिवेदन निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको र अध्ययनबाट सरकारी निकायको अक्षमताका कारण शोधभर्नामा ढिलाइ हुने गरेको निष्कर्षमा राष्ट्रिय योजना आयोग पुगेको एक अधिकारीले बताए ।

वैदेशिक ऋण र अनुदानको हिसाब मिलान तथा फर्छ्योटमा सम्बन्धित परियोजना र मन्त्रालयहरूको मुख्य भूमिका रहन्छ । सम्बन्धित निकायको लेखा उत्तरदायी अधिकृत त्यसको जिम्मेवार हुन्छन् । तर उनीहरूले समयमा शोधभर्ना माग नगर्दा यस्तो रकम बढ्दै गएको हो । योजना आयोग स्रोतका अनुसार हाल बन्द भइसकेका आयोजनाको समेत शोधभर्ना हुन बाँकी छ । ‘विगतमा नेपालमा सञ्चालनमा रहेका तर अहिले बाहिरिसकेका अथवा उनीहरूको समयावधि सकिसकेका प्रोजेक्टबाट पनि शोधभर्ना पाउन बाँकी छ,’ स्रोतले भन्यो, ‘जसमध्ये २२ करोड रुपैयाँ बराबर अनुदान र ३३ करोड रुपैयाँ बराबर ऋण रकमको शोधभर्ना आयोजना बन्द भइसक्दा पनि लिन बाँकी छ ।’

शोधभर्ना हुनुपर्ने रकम बढ्दै जानुमा मुख्यगरी तीन कारण जिम्मेवार रहने पूर्वअर्थमन्त्री युवराज खतिवडा बताउँछन् । पहिलो, शोधभर्ना लिन सम्बन्धित निकायले पहल नगर्नु, दोस्रो दातृ निकायको मापदण्डअनुसार खर्च नगर्नु र तेस्रो दातृ निकायबाटै भुक्तानीमा ढिलाइ हुनु । ‘आयोजनामा पैसा आइसकेपछि सम्बन्धित मन्त्रालयले शोधभर्नाका लागि पहल नै गर्दैनन् । आन्तरिक स्रोतबाट परिचालित रकम शोधभर्ना लिन अर्थ मन्त्रालयले ताकेता नगरुन्जेल कर्मचारीले पनि चासो राख्दैनन्,’ खतिवडा भन्छन् । वैदेशिक ऋण वा अनुदान स्रोत देखाइएका आयोजना तोकिएको मापदण्डअनुसार सम्पन्न नहुँदा पनि शोधभर्ना पाउन अप्ठ्यारो हुने गरेको खतिवडाको भनाइ छ ।

‘कहीँ न कहीँ केही कैफियत भएका हुन्छन् । खर्च भइसकेको हुन्छ । तर दातृ निकायलाई चित्त बुझेको हुँदैन,’ खतिवडाले भने, ‘दातृ निकायको लेखापरीक्षणले मापदण्डअनुसार काम भएको देखिँदैन र भुक्तानीमा आनाकानी गर्छ ।’ दातृ निकायको झन्झटिलो भुक्तानी प्रक्रियाका कारण पनि शोधभर्नामा ढिलाइ हुन्छ । उनीहरूले सामान्य निर्णय गर्न पनि महिनौं लगाउने गरेको अनुभव खतिवडा सुनाउँछन् । ‘आयोजना सकियो, शोधभर्नाका लागि मन्त्रालयले फाइल पनि पठाउँछ । तर दातृ निकायका यहाँका अफिसले नै शोधभर्नाको स्वीकृत दिन सक्दैनन् । उनीहरूका प्रक्रिया यति केन्द्रीकृत छन् कि सामान्य निर्णय गर्न पनि महिनौं लाग्छ,’ खतिवडाले भने । यसरी शोधभर्ना लिने विषयमा पहिलो जिम्मेवार सम्बन्धित आयोजना र त्यसको कार्यान्वयन गर्ने मन्त्रालयको अधिकारी जिम्मेवार हुन्छन् । सम्झौताअनुसार काम भएको छ वा छैन भनेर हेर्ने र शोधभर्नाका लागि ताकेता गर्ने काम अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको हो । ती निकायबाट समयमा ताकेता नहुँदा र सम्बधित दातृ निकायका नेपालस्थित कार्यालयले भुक्तानीमा ढिलाइ गर्दा शोधभर्नाको काम महिनौं अड्किन्छन् ।

महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले पनि समयमा शोधभर्ना लिनुपर्ने आवस्यकता औंल्याएको छ । ‘शोधभर्ना प्राप्त हुनुपर्ने ऋण तथा अनुदानको स्पष्ट देखिने गरी आयोजनागत, दातागत तथा प्रदेश तथा स्थानीय तहगत देखिने गरी लेखाङ्कन र अभिलेख गरिनुपर्छ,’ महालेखाको पछिल्लो प्रतिवेदनमा भनिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली ०७७ को नियम ४२ मा नेपाल सरकारको स्रोतबाट खर्च गरी दातृपक्षबाट शोधभर्ना लिनुपर्ने व्यवस्था छ । सरकारको स्रोतबाट खर्च गरी दातृ पक्षबाट शोधभर्ना लिनुपर्ने वैदेशिक सहायताबाट सञ्चालित आयोजनाको सम्बन्धमा अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयको सिफारिस र दातृ पक्षसँग भएको सम्झौताको आधारमा प्रत्येक आयोजनाले खर्च गरेको रकम शोधभर्ना वा सोझै भुक्तानी माग गर्ने अधिकारी तोक्नुपर्ने व्यवस्था पनि नियमावलीमा छ । नियमावलीको नियम ४२ को उपनियम ११ मा ‘नियमबमोजिम राख्नुपर्ने स्रेस्ता तथा अभिलेख नराखेको, शोधभर्ना नहुने किसिमको खर्च गरेको र शोधभर्ना नमागेका कारण शोधभर्ना हुन नसकी नेपाल सरकारलाई कुनै हानिनोक्सानी भएको हदसम्म सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुख जिम्मेवारी हुनेछ भनी उल्लेख गरेको छ ।’ शोधभर्ना माग गरेको वा नगरेको सम्बन्धमा महालेखा नियन्त्रकको कार्यालयले अनुगमन गर्ने जिम्मा पाएको छ । नेपालले विभिन्न दातृ निकायबाट शोधभर्ना लिन बाँकी रहेको मात्र नभई केही दातृ निकायबाट बढी रकमसमेत आएको देखिन्छ । काम भइसकेको आयोजनामा शोधभर्ना माग्ने हो तर दातृ निकायबाट पैसा पाइसकेर पनि काम नभएको अवस्थामा त्यो बढी प्राप्ति हुन जान्छ । यसरी काम नसकीकनै भुक्तानी लिएको रकमको अंक पनि ठूलो छ । ऋण र अनुदानको स्रोतगत विवरणअनुसार महालेखा नियन्त्रक कार्यालयले अघिल्लो आर्थिक वर्षको जिम्मेवारी र गत वर्षको समेत गरेर विभिन्न आयोजनाको खर्चभन्दा बढी प्राप्त भएको भनी देखाएको छ ।

खर्चभन्दा बढी प्राप्त भएको रकम १० अर्ब ९२ करोड ४९ लाख रुपैयाँ बराबर देखिन्छ, जसमध्ये सबैभन्दा धेरै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा ५ अर्ब ४२ करोड ७८ लाख २९ हजार रुपैयाँ बराबर खर्च भन्दा बढी प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकबाट देखिन्छ । त्यस्तै शिक्षा मन्त्रालयअन्तर्गतका कार्यक्रममा ३ अर्ब २८ करोड २९ लाख बढी प्राप्त भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि ८८ करोड ११ लाख ४७ हजार रुपैयाँ बराबर बढी सहायता लिएको देखिन्छ । यस्तो रकम खानेपानी मन्त्रालयको ११ करोड १७ लाख, वन मन्त्रालयको १९ करोड १६ लाख, श्रम मन्त्रालयको ६० करोड ३५ लाख, राष्ट्रिय योजना आयोगको २५ लाख ७३ हजार र शान्ति तथा पुनर्निर्माण मन्त्रालयको १ लाख ४२ हजार रुपैयाँ बराबर बढी प्राप्ति रहेको देखिन्छ । आयोजनाको नाम खुल्न बाँकी रकम पनि सरकारी खातामा आएर बसेको देखिन्छ । महालेखा नियन्त्रकको विवरणअनुसार ४१ करोड ९७ लाख रुपैयाँ बराबर रकम कुनै आयोजना वा कार्यक्रमका लागि सरकारी खातामा आएको हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।

यस्तो ऋणात्मक रकमलाई समायोजन गरी वास्तविक शोधभर्ना रकम निकालिन्छ । सबैभन्दा धेरै स्थानीय तहमा गएका आयोजना तथा कार्यक्रमको १८ अर्ब ४३ करोड रुपैयाँ बराबर शोधभर्ना हुन बाँकी देखिन्छ । त्यसैगरी प्रदेशहरूको १० अर्ब ४७ करोड १८ लाख रुपैयाँ बराबरको वैदेशिक सहायता रकमको शोधभर्ना हुन सकेको छैन । अर्थ मन्त्रालयले वित्तीय व्यवस्था शीर्षकमा खर्च गरेको रकमको १४ अर्ब ८० करोड ३० लाख रुपैयाँ शोधभर्ना बाँकी रहेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ करोड ९५ लाख ४४ हजार रुपैयाँ शोधभर्ना लिएको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको १ अर्ब २१ करोड ९२ लाख रुपैयाँ बराबर शोधभर्ना हुन बाँकी छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ अर्ब ६९ करोड ४६ लाख ७२ हजार र सहरी विकास मन्त्रालयले १५ करोड २ लाख ७९ हजार रुपैयाँ बराबर शोधभर्ना लिन सकेको देखिँदैन । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय १ करोड २० लाख ९२ हजार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ करोड ७९ लाख रुपैयाँ शोधभर्ना लिन सकेको छैन । गृह मन्त्रालयले १८ करोड १२ लाख २५ हजार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ८० करोड ८१ लाख ३१ हजार, उद्योग मन्त्रालयले २३ करोड १८ लाख ९६ हजार अर्थ मन्त्रालयले १३ करोड ५८ लाख ९२ हजार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १ करोड ८६ लाख रुपैयाँ बराबर शोधभर्ना लिन बाँकी छ ।

प्रकाशित : भाद्र १९, २०७९ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×