कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन दिनमै दक्षिण अफ्रिकाको इनिङ्स जित

एएफपी

लन्डन — दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई पहिलो टेस्टमा एक इनिङ्स र १२ रनले पराजित गरेको छ । इंग्ल्यान्डको दोस्रो इनिङ्सलाई शुक्रबार १ सय ४९ रनमा समेट्दै दक्षिण अफ्रिकाले दुई दिनभन्दा बढीको खेल बाँकीको अवस्थामा जित हात पारेको हो ।

तीन दिनमै दक्षिण अफ्रिकाको इनिङ्स जित

तेस्रो दिन चियाअगाडि नै इंग्ल्यान्ड धराशायी हुन पुग्यो । बुधबार पहिलो दिनको अधिकांश समयको खेल वर्षाले प्रभावित पारेको अवस्थामा दक्षिण अफ्रिकाले ६ सत्रको खेलबाटै टेस्ट आफ्नो पक्षमा पारेको हो ।

देव्रेहाते स्पिनर केशव महाराजले २ विकेट लिएपछि तीव्र गतिका बलर एनरिच नोकियाले १० बलको आफ्नो सानदार स्पेलमा विना रन ३ विकेट लिँदा दक्षिण अफ्रिका विजय नजिक पुगेको थियो । विश्व टेस्ट च्याम्पियनसिपको शीर्षस्थानको दक्षिण अफ्रिकाले यस जितसँगै तीन टेस्टको शृंखलामा अग्रता लिएको छ ।

बेन स्टोक्स कप्तान र ब्रेन्डन म्याकलम प्रशिक्षक भएयता इंग्ल्यान्डले यसअघिका सबै चार टेस्टमा विजय हात पारेको थियो । यी सबै टेस्टमा ठूलो स्कोर बनाउनुभन्दा चौथो इनिङ्समा आक्रामक ब्याटिङ गर्दै इंग्ल्यान्डले जितेको थियो ।

इंग्ल्यान्डको पहिलो इनिङ्स १ सय ६५ रनमा समेटिँदा बलिङ नगरेका महाराजले भोजन सत्रअगाडि ३ ओभर बलिङ गर्दै ज्याक क्रावली र ओलि पोपलाई एलबीडब्लू आउट गरेका थिए । दक्षिण अफ्रिकाका कप्तान डिन एल्गरले सातौं ओभरमै महाराजलाई बलिङ आक्रामणमा ल्याएका थिए ।

क्रावलीले १३ रन बनाए । पहिलो इनिङ्समा ७३ रन बनाएका पोपले ५ रनमात्र जोड्न सके । लुङ्गी एनगिडीले स्टार ब्याटर जो रुटलाई स्लिपमा ६ रनमै आउट गरेपछि पहिलो इनिङ्सका आधारमा १ सय ६१ रनले पछाडि रहेको इंग्ल्यान्ड ५७–३ को अवस्थामा पुगेको थियो । पछिल्ला चार टेस्टमै शतक बनाएका जोनी बेरिस्टोमाथि इंग्ल्यान्डको धेरै आस थियो । उनले पनि १८ रनमात्र बनाउन सके र नोकियाको पहिलो सिकार भए ।

नोकियाले बेन फोक्सलाई पनि खाता खोल्न दिएनन् । ओपनर एलेक्स लिज र स्टुवार्ट ब्रोडले इंग्ल्यान्डबाट समान ३५ रन बनाए । ब्रोडले नोकियाको बलमा छक्का प्रहार गरेका थिए । कप्तान बेन स्टोक्स २० रनमा आउट भए । इंग्ल्यान्डको पहिलो इनिङ्समा ५२ रन खर्चेर ५ विकेट लिएका कागिसो राबाडा २ विकेट थप्दै प्लेयर अफ द म्याच बने । दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ३ सय २६ रन बनाएको थियो ।

प्रकाशित : भाद्र ३, २०७९ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?