कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानचेस्टरबाट सुरु, म्यानचेस्टरबाटै अन्त्य

ठ्याक्कै ३० वर्षयता पहिलोपल्ट यस्तो भएको छ, म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको पुछारमा
कान्तिपुर संवाददाता

म्यानचेस्टर — ठ्याक्कै तीस वर्षयता पहिलोपल्ट यस्तो भएको छ, म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको पुछारमा । लिगले भर्खर दोस्रो साता छोएको छ । तर त्यसको ताप अहिले नै प्रचण्ड हुन थालेको छ । यसमा सबैभन्दा बढी सेकिने युनाइटेड नै रहेको छ, उसले ३५ मिनेटभित्र ब्रेन्टफोर्डसँग चार गोल खायो । नतिजा रह्यो ४–० ।

म्यानचेस्टरबाट सुरु, म्यानचेस्टरबाटै अन्त्य

म्यानचेस्टर सिटीले पनि यस्तै नतिजा निकाल्यो ४–० को । तर बर्नमाउथविरुद्ध विजेता टिमका रूपमा । अहिले लिगको अंकतालिका यस्तो छ, म्यानचेस्टरबाट सुरु म्यानचेस्टरबाट अन्त्य । यसै साता चेल्सी र टोटेनहमले २–२ बराबरीको तनावपूर्ण खेल पनि खेले । दुई व्यवस्थापक थोमस टचेल र एन्टोनियो कोन्टेबीचको तुसका लागि यो खेललाई सम्झिनेछ ।

वास्तवमै यो साता लिगमा के कस्तो भयो त ? एएफपीले तयार पारेको गन्थनका लागि तीन विषय :

टचेलले कोन्टेसँग लडाइँ जिते, युद्ध होइन

कोन्टे फेरि एकपल्ट स्टामफोर्ड ब्रिज फर्के । त्यसमै टचेलले रणनीतिक लडाइँ जितेका छन् । तर यो जित युद्धको जस्तो थिएन । चेल्सीले घरमै स्पष्ट जित निकाल्न सकेन । पारम्परिक रूपमा शीर्ष छ टिमबीच हुने खेलमा ३ अंक जित्नु र एकै अंकमा चित्त बुझाउनुमा धेरै फरक हुने गर्छ । नयाँ सिजनका लागि टोटेनहम खुबै उत्साहित थियो । यसको एउटा कारण के थियो भने पछिल्लो सिजनको अन्त्यतिर स्पर्सको प्रदर्शन उम्दा रह्यो ।

अबको सिजनका लागि यही बेला ६ नयाँ खेलाडी भित्रिएका छन् । कोन्टे आफैं टोटेनहम पहिलोपल्ट पूरा सिजन सम्हाल्नेक्रममा छन् । अर्कोतर्फ अमेरिकामा चेल्सीको प्रि–सिजन मज्जाको रहेन । खेलाडी सरुवा बजारमा चेल्सी सुस्तै रह्यो । टचेलले पनि भनिहाले, नयाँ सिजनका लागि टिम पूर्णतः तयार छैन । तर क्लबका नयाँ अध्यक्ष टड बोहली स्टामफोर्ड ब्रिजको दर्शकदीर्घामा देखिएका छन् । उनले संकेत गरिरहेका छन् नयाँ सुरुआतको ।

उपाधिको होडमा सिटी र लिभरपुललाई चुनौती दिने प्रमुख टिम चेल्सी नै मानिएको छ । टोटेनहमविरुद्ध उनले रुबेन लोफ्टस चेकलाई खेलाए, कप्तान सिसर असपिलिक्वेटाको स्थानमा । यो आश्चर्यजनक चयन थियो । तर यसले देखाउँछ, चेल्सी रक्षापंक्तिका ५ वा ४ खेलाडीमा परिवर्तन गरिरहन सक्छ । यही काम चेल्सीले टोटेनहमविरुद्ध गरेको थियो । टचेलले पछि भने, ‘यो राम्रो योजना थियो र परिणाम पनि राम्रै रह्यो ।’

उनलाई चेल्सीले देखाएको समर्पण, एकाग्रता र तीव्रता मन परेको छ । उनले बराबरीको नतिजाका लागि सारा दोष ती दुई निर्णयलाई मानेका छन्, जसका क्रममा टोटेनहमको दुई गोल पनि भएको थियो । टोटेनहमले अर्कोतर्फ एकपल्ट होइन, दुईपल्ट खेलमा पुनरागमन रच्यो । मैदानबाहिर कोन्टेको रिस हेरिनसक्नु थियो, मैदानभित्र खेलाडीले कम्तीमा त्यत्तिकै जोस देखाएर अन्त्यसम्म खेले । यसकै नतिजा हो ह्यारी केनले ९६ औं मिनेटमा गरेको गोल ।

युनाइटेड डुब्दै छ, तर कति गहिराइमा ?

म्यानचेस्टर युनाइटेडले लिगमा नयाँ सुरुआत त लिएको छ । तर, यसले क्लबलाई अझ गहिराइभित्र धकेलेको छ । ओल्ड ट्राफोर्डमा ब्राइटनले पहिलो ऐतिहासिक जित निकालेको पीडा आलै थियो, युनाइटेड ब्रेन्टफोर्डमा त अझ समस्यामा फस्यो । एरिक टेन हागको नाममा खराबै कीर्तिमान बस्यो, उनी सन् १९२१ यता सिजनका सुरुआती दुई खेल गुमाउने पहिलो व्यवस्थापक बने । त्यतिबेला यस्तै खराब नियति जोन च्यापम्यानले बेहोरेका थिए ।

खासमा टेन हाग तरबारको धारमा हिँडिरहेका छन् । क्लब व्यवस्थापनमाथि समर्थकको विश्वास हट्न थालेको छ । क्लबका मालिक हुन् अमेरिकी ग्लेजर परिवार । सबै समर्थक तिनै विरोधमा देखिन्छन् । अगस्ट २२ मा युनाइटेडले घरमा लिभरपुलको सामना गर्नेछ । तर डर छ, कतै यसको नतिजाले आगोमा घ्यु थप्ने काम त गर्दैन् ? टेन हाग आउनु अगाडि राल्फ रागनिक थिए । उनी निमित्त व्यवस्थापकमा रूपमा थिए । उनको बिसाइ पनि बिर्सनलायक मात्र रह्यो ।

उनको नेतृत्वमा क्लब छैटौं स्थानमा रह्यो । रागनिक भन्थे, युनाइटेडलाई ‘ओपन हार्ट सर्जरी’ आवश्यक छ । टिमले कम्ती १० नयाँ अनुबन्ध गर्नुपर्नेछ नयाँ सिजनका लागि । लिग दुई खेल पुरानो भइसक्यो, तर जम्माजम्मी तीन नयाँ अनुहार भित्रिएका छन्, सिलान्ड्रो मार्टिनेज, टेरेल माल्सिया र क्रिस्टियन एरिक्सन । सायद ‘ट्रान्सफर मार्केट’ का अन्तिम तीन साता युनाइटेड खासै व्यस्त रहनेछ । तर डर हो, कतै खोलाझै बगाएको पैसा गलत खेलाडीमा पर्ने त होइन ?

जेसस आएयता आर्सनलको बढेको कद

पिएर एमरिक अबामेयाङले गत सिजन बीचमा क्लब के छाडे, आर्सनलमा ‘प्राकृतिक गोलकर्ता’ को ठ्याक्कै अभाव भयो । भर्खरै आर्सनलले गत सिजनबारे एउटा वृत्तचित्र बनाएको छ । यसको आशय लगभग यही छ । त्यसैले आर्सनलको प्रदर्शन पनि उम्दा रहन सकेन । मिकेल आर्टेटाले यस अगाडि कप्तान रहेका अबामेयाङलाई ‘बेन्च’ मै सीमित राखे । व्यवस्थापकलाई आफ्ना स्टार खेलाडीको अनुशासनमै चित्त दुखाइ थियो । फेरि आर्सनलको आफ्नै प्रदर्शन राम्रो रहेन, त्यसैले युरोपेली च्याम्पियन्स लिगका पनि छनोट भएन ।

अहिले टिममा ग्याब्रियल जेसस आएका छन् । यसैसँग टिमको कद बढेको छ । लेस्टरमाथि प्राप्त ४–२ जितमा यी ब्राजिली खेलाडीले दुई गोल गरे । ह्याट्रिकबाटै मात्र चुके । आर्टेटा भन्छन्, ‘जेसस खेलपछि दुःखी छन्, किनभने उनले ह्याट्रिक गर्न सकेनन् । यो हो नि टिमले चाहेको स्तर र मानसिकता ।’ गत सिजन आर्सनलले ६७ वर्षयताकै सर्वाधिक खराब सुरुआत लिएको थियो । अहिले यही आर्सनल टिममा ‘स्तर’ देखिएको छ । त्यसैले त शीर्षस्थानमा उसले सिटीसँग ६ अंकमा कुममा कुम मिलाएर बसिरहेको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?