कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्वाइज युनियन ‘कनेक्सन’

ब्वाइज युनियन क्लबका बोधबहादुर राउत आफू नेतृत्वमा रहँदा क्लबबाट फुटबल, ब्याडमिन्टन, टेबलटेनिस र क्रिकेट खेलेका खेलाडीको पुनर्मिलन गराउँदा केन्द्रमा रहे फुटबल लिजेन्ड श्याम थापा
हिमेश

काठमाडौँ — नेपाली घरेलु फुटबलको इतिहासबारे चर्चा गर्दा बारम्बार ठोकिने एउटा नाम हो, बोधबहादुर राउत क्षेत्री । सन् ७० को दशकतिर घरेलु फुटबलमा त्रिपुरेश्वरको ब्वाइज युनियन एक शक्ति थियो । दशरथ रंगशाला छेउकै ब्वाइज युनियनले एक खालखण्डमा त्रिभुवन च्यालन्ज सिल्ड र शुभजन्मोत्सव कपमा तहल्का नै मच्चाएको थियो । यसका लागि क्षेत्रीले के मात्र गरेनन् । सबथोक गरे र गराए । उनी ब्वाइज युनियनका अध्यक्ष थिए । भनिन्छ, उनी क्लबका लागि ज्यानै फाल्ने खालका थिए ।

ब्वाइज युनियन ‘कनेक्सन’

नेपाली फुटबलमा उनले लगाएको सबैभन्दा ठूलो गुन हो श्याम थापालाई ब्वाइज युनियनका लागि खेलाउनु । इस्ट बंगाल र मोहन बगानका लागि खेलेका थापाको मनमा थियो, आफ्नो जन्मभूमिमा कुनै न कुनै रूपमा फुटबल त खेल्नुपर्छ । जतिबेला क्षेत्रीले थापालाई ब्वाइज युनियनका लागि खेल्ने प्रस्ताव राखे । किन हो थापाले ‘नाइँ’ भन्नै सकेनन् । कुरा ०३२ सालतिरको हो । त्यसपछि एक दशकजति समय थापा प्रत्येक वर्षजसो नेपाल आएर खेले ।

अन्यत्र कतै खेलेनन् । ब्वाइज युनियनकै लागि मात्र खेले । थापाको ब्वाइज युनियनसँग यस्तो कहिल्यै नटुट्ने सम्बन्ध बनेको थियो ।

कुरा त्यत्तिकैमा मात्र सकिन्न । ब्वाइज युनियनबाट भारतको पश्चिम बंगालका धेरै नामी खेलाडीले पनि खेले । त्यो १० वर्षजतिको समय घरेलु फुटबलको एउटा गर्विलो, रोमाञ्चक, सनसनीपूर्ण अवधि थियो । यसका लागि धेरैभन्दा धेरै श्रेय तिनै क्षेत्रीलाई दिनैपर्छ । अचेल उनी अमेरिकातिर बस्छन् ।

केही दिन भयो काठमाडौं आएको । कोरोना कालयता उनलाई एक दिन के लागेछ भने ती दिनका सबै साथीहरू एकै थलोमा मिल्दा कस्तो होला ? फेरि अहिले नभेटे कहिले भेट्ने त ? त्यसकै नतिजा हो, शनिबार काठमाडौंमा जुरेको बेजोड भेला । त्यसमा उनले ब्वाइज युनियनको नेतृत्व लिँदा क्लबबाट फुटबल, ब्याडमिन्टन, टेबलटेनिस र क्रिकेट खेलेका खेलाडीको सहभागिता थियो । त्यो भेला अन्य खेलाडीका लागि पनि थियो, तर मुख्य आकर्षण त थापा हुने नै भए ।

पूरा कार्यक्रममा उनी छाए । यो अपेक्षित थियो । थापा पनि यही कार्यक्रमका लागि भनेर कोलकाताबाट काठमाडौं झरेका थिए, त्यो पनि श्रीमती कञ्जन थापासँगै । कार्यक्रमका क्रममा थापा, उनकी श्रीमती र क्षेत्री एकैथलोमा भेट भएपछि पुराना कुरा उप्किने त भयो नै । क्षेत्रीले मज्जाको एउटा प्रसंग सुनाए । भएको के थियो भन्दा थापा श्रीमतीको कुरा कम सुन्थे । तर, क्षेत्रीले भनेपछि जे पनि ‘हुन्छ’ भनिहाल्थे । दायाँबायाँ केही हेर्दैनथे ।

त्यति नै बेला भारतीय सिनेमामा एउटा त्रिकोणात्मक प्रेम प्रसंग चलिरहेको थियो । एकातर्फ राजेश खन्ना थिए भने अर्कोतर्फ श्रीमती डिम्पल कपाडिया र प्रेमिका टिना मुनिम । साथीभाइबीच भनिन्थ्यो, थापा ‘राजेश खन्ना’ हुन् । श्रीमती कञ्चन डिम्पल र क्षेत्री टिना । आखिरमा थापा क्षेत्रीकै कुरा बढी सुन्थे, श्रीमतीको कम, जसरी राजेश खन्नाले पनि टिनाकै कुरामात्र सुने । क्षेत्रीले बोलाएको यही कार्यक्रमका लागि भने थापाले ‘नाइँ’ भन्नै सकेनन् ।

नत्र परिवारले उनलाई काठमाडौं नजाउ भनिरहेको थियो । क्षेत्रीले आफ्नो नितान्त व्यक्तिगत पहलमा भएको कार्यक्रम सकेपछि भने, ‘श्याम थापा हामी सबैका लागि श्याम दाइ । उहाँ जत्तिको भलाद्मी मान्छे बिरलै होला । मेरा लागि उहाँ दाइ हुन्, त्यो पनि कस्तोभन्दा आफ्नै सहोदर दाइजस्तो । आफ्नै परिवारको सदस्य जस्तो । उहाँलाई मेरो दाइ भन्न खोज्दा मात्र पनि खुसी हुने ।’ तय छ, जतिबेला नेपाली फुटबलको इतिहास लेखिनेछ, ब्वाइज युनियन र थापाको प्रसंग छुट्ने छैन ।

कसरी आए थापा ब्वाइज युनियनमा ?

अनि क्षेत्रीले के पनि भन्न बिर्सेनन् भने ब्वाइज युनियन उनका लागि सबथोक हो । यही क्लबकै कारण उनी पनि अहिलेको अस्तित्वमा रहे । उनी अध्यक्ष रहेको समय ब्वाइज युनियनका लागि वास्तवमै स्वर्णिमकाल थियो । यही समय त हो, जतिबेला ब्वाइज युनियनले सहिद स्मारक लिग ‘ए’ डिभिजनमात्र जितेन, त्रिभुवन च्यालेन्ज सिल्ड दुईपल्ट र शुभजन्मोत्सव कप एकपल्ट जितेको थियो । थापाले लिग त खेलेनन् । तर, ती दुई नकआउट प्रतियोगिता लगभग नियमितजस्तै खेले ।

एउटा प्रश्न उठ्छ, थापा कसरी ब्वाइज युनियनसँग जोडिए त ? यसबारे केही फरक फरक धारणा पाइन्छ । धेरै वर्ष भयो, ०३२ सालको घटनालाई लिएर कथा केही यताउता फरक सुनिन्छ । तर निकै आत्मविश्वासी देखिएका क्षेत्रीले वास्तविक घटना यही हो भनेर सबैका अगाडि आफ्नो कुरा सुनाए । त्यसअनुसार क्षेत्रीले त्रिभुवन च्यालेन्ज सिल्ड हुनुअगाडि उनी बाबुराम गुरुङलाई लिन रूपन्देही गएका रहेछन् । त्यहीं सुनेछन्, श्याम थापा त्यतै आएका छन्, आफ्ना आमाबुवा भेट्न ।

अब कहाँ बाबुराम गुरुङ, कहाँ श्याम थापा । क्षेत्री मंगलपुरस्थित थापाको घर पुगे र ब्वाइज युनियनबाट खेल्न प्रस्ताव राखे । तुरुन्तै ‘हुन्छ’ भन्ने उत्तर आयो, लगभग अप्रत्याशित जस्तै । प्रतियोगिताको आफ्नो पहिलो खेलमा ब्वाइज युनियन पर्सा–११ सँग भिड्नु थियो । त्यही दिन दिउँसो थापा र क्षेत्री सानो विमान चढेर भैरहवाबाट काठमाडौं आए । खेल सुरु हुन लागेको थियो, बल्लतल्ल दुवै दशरथ रंगशालासम्म पुगे । यो खेलमा ब्वाइज युनियन ११–१ ले विजयी रह्यो ।

पहिलो गोल पर्साले गरेको थियो । त्यसपछि ११ गोल ब्वाइज युनियनले फर्काएको थियो । त्यतिबेला एउटा अनौठो चलन के थियो भने जुन टिमले १२ गोल खान्छ, त्यसले जर्सी फुकालेर विजयी टिमलाई दिनुपर्छ । त्यसैले ब्वाइज युनियन ११ गोलमै अड्कियो, १२ गोल गरेन । अनि त्यो पहिलो खेलमा दर्शकको सामान्य उपस्थिति मात्र थियो । ती सीमित दर्शकलाई पनि के लागेको थियो भने यी श्याम थापा सक्कली होइनन्, पक्कै नक्कली हुनुपर्छ ।

त्यसको भोलिपल्ट पूरा सहर के समाचार फैलियो भने थापा फुटबल खेल्न काठमाडौं आएका छन् । यी पक्का सक्कली श्याम थापा हुन् । त्यसपछि ब्वाइज युनियनले दुई खेल खेल्यो, सबै खेलमा दर्शक भरिभराउ । ब्वाइज युनियनले सेमिफाइनलमा दिल्लीको मुगल–११ लाई हरायो १–० ले । फाइनल पनि भारतकै बर्डसविरुद्ध थियो । खेल गोलरहित बराबरीमा रह्यो । यस्तोमा दुवैलाई संयुक्त विजेता घोषणा गरियो । कारण थियो, फाइनलको भोलिपल्ट नै थापा कोलकाता फर्किनुपर्ने थियो ।

प्रकाशित : श्रावण २९, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?