कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एनएसएलपछि सहिद स्मारक लिग हुने

कतारमा विश्वकप सकिएको एक साताभित्रै नेपालका मुख्य प्रतियोगिता
कान्तिपुर संवाददाता

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरू जिम्मेवारीको लोभमा आन्तरिक खिचातानी रुमल्लिएर प्रतियोगिताहरूलाई अनिश्चित बनाएको भन्दै खेलाडीहरूले सामाजिक सन्जालमा आवाज उठाउन थालेपछि एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग र नेपाल सुपर लिग (एनएसएल) को मिति तोकेको छ ।

एनएसएलपछि सहिद स्मारक लिग हुने

एन्फा कार्यसमितिको बिहीबार भएको बैठकपछि महासचिव किरण राईले भने, ‘ए डिभिजन लिग पुस ८ देखि चैत ४ सम्म आयोजना गर्ने निर्णय गरेका छौं । यसलाई विशेष साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनको प्रक्रियामा जानेछौं । ‘बी र ‘सी’ डिभिजन लिगको मिति साधारणसभामै प्रस्ताव गरिनेछ । राष्ट्रिय लिगसहित वार्षिक क्यालेन्डरकै बारोमा छलफल भयो तर निर्णय भएको छैन । एनएसएल आयोजनाका लागि पनि मिति तोकिदिएका छौं ।’ कतारमा विश्वकप फुटबल सकिएको एक साताभित्रै नेपालको मुख्य प्रतियोगिताको मिति तोकिएको हो । विशेष साधारणसभा असोज १२ गते गर्ने निर्णय भएको छ । त्यसमा कार्यसमितिका दुई सदस्यका निम्ति निर्वाचन हुनेछ ।

दुईपल्ट स्थगित भएर सम्भव भएको नयाँ कार्यसमितिको दोस्रो बैठकपछि सार्वजनिक गरिएको १९ बुँदे निर्णयमा ए डिभिजन लिग समावेश छैन । ‘प्रेस विज्ञप्तिमा ‘ए’ डिभिजन लिग छुटेको हो, जसको मिति तोक्ने निर्णय भइसक्यो,’ महासचिव राईले भने । बैठकले सी डिभिजन लिगको

छनोट असोज १ देखि ३० गतेसम्म सञ्चालन गर्ने निर्णय गर्‍यो ।’

एन्फाले चौधरी ग्रुप निकट कम्पनी नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) लाई सञ्चालन गर्न दिइएको एनएसएलको सम्झौता त्रुटिपूर्ण भएको ठहर गर्दै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको संयोकत्वमा सात सदस्यीय समिति बनाएर सम्झौता नवीकरण गरी असोज २३ देखि मंसिर २ सम्म सन्चालन गर्नका लागि समय उपलब्ध गराउने निर्णय गरेको हो ।

गत चैतमा आयोजना गर्ने मिति तोकेर पनि एनएसईएमले खेलाडीको सम्झौतालाई लिएर ‘ए’ डिभिजन क्लबहरूसँगको सम्बन्ध चिसिएपछि फ्रेन्चाइज टिमको प्रतियोगिता दोस्रो संस्करण सञ्चालन गर्न सकेको थिएन । पटकपटक मिति तोकेर पनि एनएसएल स्थगित गरिएको थियो ।

बैठकले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा महिला साफ च्याम्पियनसिपका लागि गठन गरिएको मूल आयोजक कमिटीलाई अनुमोदन गर्‍यो । तीन वर्षअघि विराटनगरमा भारतले उपाधि रक्षा गरेपछि पहिलोपल्ट आयोजना हुन लागेको च्याम्पियनसिप भदौ २१ देख असोज ३ सम्म काठमाडौंमा हुनेछ । साथै, राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा कुमार थापा र टिम व्यवस्थापकमा विन्द्रा देवानको नियुक्तिलाई पनि अनुमोदन गरेको छ । उक्त साफ च्याम्पियनसिपपछि विराटनगरमा राष्ट्रिय महिला लिगको दोस्रो चरण सञ्चालन गर्ने र ललित स्मृति यू–१८ प्रतियोगिता २०८० जेठ–असारमा आयोजना गर्ने निर्णय भएको छ ।

हुमागाईंले राष्ट्रिय टिम सम्हाल्ने

‘ए’ डिभिजन लिग क्लब थ्रीस्टार र एनएसएल टिम ललितपुर सिटीका पूर्वप्रशिक्षक प्रदीप हुमागाईंलाई बंगलादेशविरुद्ध असोज ११ गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलमा पुरुष राष्ट्रिय फुटबल टिमको कार्यबाहक मुख्य प्रशिक्षक मनोनयन गर्ने निर्णय बैठकले गरेको छ । हाल अमेरिकामा रहेका उनलाई विवादास्पद कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको स्थानमा राष्ट्रिय टिमको जिम्मेवारी दिइएको हो ।

यसबारे महासचिव राईले भने, ‘उनी (अब्दुल्लाह) बिदामा छन्, बिरामी छन्, उनको सम्बन्धमा छानबिन समितिले बनाएको प्रतिवेदनको कार्यान्वयनबारे निर्णय भइसकेको छैन । त्यसैले राष्ट्रिय टिमको जिम्मेवारी हुमागाईंलाई दिने सर्वसम्मत निर्णय गरिएको हो ।’

बन्द प्रशिक्षणमा होटलमा बस्न पाउनुपर्ने माग गरेका रोहित चन्दलाई टिमबाट तत्कालै हटाएपछि निस्किएको विवादमा नियमित कप्तान किरण चेम्जोङसहित ११ सिनियर खेलाडीलाई टिम बाहिरै राख्दै अल्मुताइरीले गत जेठमा कुवेतमा सम्पन्न एसियन कप छनोट (तेस्रो चरण) मा नेपाली टिमलाई खेलाएका थिए । नतिजा खास गतिलो भएन । त्यसयता उनी कुवेतबाट फर्किएका छैनन् ।

मानार्थ अध्यक्षमा श्रेष्ठ

बैठकले एन्फाका पूर्वअध्यक्ष नरेन्द्रलाल श्रेष्ठलाई मानार्थ अध्यक्ष, किशोर राईलाई मानार्थ वरिष्ठ उपाध्यक्ष र सुरेश शाहलाई प्रवक्ता नियुक्त गरेको छ । श्रेष्ठ र शाह भ्रष्टाचारको अभियोगमा विश्व फुटबल महासंघ (फिफा)द्वारा प्रतिबन्धित गणेश थापा निकट मानिन्छन् । उनै थापाका छोरा गौरव थापालाई सहायक महासचिव नियुक्त गर्ने उपाध्यक्ष विराटजंग शाहीले प्रस्ताव गरे पनि सदस्य मनीष जोशीले उनलाई ल्याउन नहुने भन्दै विरोध गरेका थिए । अर्का सदस्य अनिल मल्लले पनि विवादित व्यक्तिलाई तत्काल एन्फामा नियुक्त नगर्न भनेका थिए ।

एन्फामा दुई दशक राज गरेका गणेश थापा आफैंले छोरालाई सीईओ वा सहायक महासचिव बनाउन खुबै प्रयास गरेका थिए । यही विषयलाई लिएर चर्को विवाद भएपछि यो कार्यसमितिको दोस्रो बैठक दुईपल्ट स्थगित भएको थियो । अध्यक्ष नेम्वाङले विशेष साधारणसभापछि मात्रै सहायक महासचिव नियुक्तिबारे छलफल गर्ने कुरा राखेपछि गौरवलाई एन्फामा भित्र्याउने शाहीको प्रस्ताव असफल भएको हो । गौरवलाई एन्फा प्रवेश गराउने प्रयासमै अर्का उपाध्यक्ष दीपक खतिवडाको प्रस्तावमा सीईओ र सहायक महासचिव नियुक्तिलाई कार्यसमिति बैठकको एजेन्डामा थपिएको थियो ।

एसियाली फुटबल महासंघ (एएफसी) मा कार्यरत रहँदा छोरा गौरवले एएफसीका तत्कालीन अध्यक्ष मोहम्मद बिन हमामबाट लिएको १ लाख डलरकै आधारमा गणेश थापामाथि भ्रष्टाचार गरेको ठहर गर्दै फिफाले १० वर्ष प्रतिबन्ध र २० हजार स्विस फ्रान्क जरिबाना गर्ने निर्णय सन् २०१५ नोभेम्बरमा गरेको थियो । उक्त रकम लिएको रहस्य बेलायती मिडियाले बाहिर ल्याएलगत्तै गौरवले एएफसीको जागिर त्याग्नुपरेको थियो ।

यो कार्यसमिति निर्वाचित भएको दुई दिनपछि असार ८ गते भएको पहिलो बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नियुक्त गरिएका नवीन पाँडेको जिम्मेवारी परिवर्तन गर्दै उनलाई अध्यक्षको प्रमुख सल्लाहकार नियुक्त गर्ने निर्णय गर्‍यो । अध्यक्ष नेम्वाङ निकट पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट बर्खास्त गर्न माग गर्दै गणेश थापा पक्षमा खुलेर लागेका वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्ष खतिवडा र शाही, सदस्य महेन्द्र क्षेत्री, रवीन्द्र चन्दलगायत १३ जनाले एन्फामा निवेदन दर्ता गरेका थिए । त्यसपछि बैठकले जर्मन नागरिकका रूपमा रहेका गैरआवासीय नेपाली पाँडेको जिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको हो ।

प्रकाशित : श्रावण २७, २०७९ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×