सिटीलाई राहत, युनाइटेडलाई आहत- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिटीलाई राहत, युनाइटेडलाई आहत

द गार्डियन

लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजन सुरु भइसकेको छ । यस सप्ताहन्त ‘डे–वान’ का खेल सकिएका छन् । टोटेनहम र आर्सनलले ठोस सुरुआत लिनु, चेल्सीको संघर्षपूर्ण जित अनि लिभरपुलको बराबरी । यी यिनै खेलका प्रमुख विशेषता रहे । तर त्योभन्दा ठूलो विशेषता रह्यो, म्यानचेस्टरका दुई क्लबले बेहोरेको फरक परिस्थिति । जहाँ म्यानचेस्टर सिटीले सानदार सुरुआत लिएको छ, त्यहीं म्यानचेस्टर युनाइटेड फेरि खराब सुरुआतको सिकार बनेको छ ।

यो एक प्रकारले सिटीलाई राहत र युनाइटेडलाई आहत जस्तै भयो । ईपीएलमा अहिले कोही एक प्रशिक्षक असाध्यै खुसी छन् भने ती हुन् सिटीका पेप ग्वार्डिओला । उनी मान्छन्, इर्लिङ हल्यान्ड गोल गर्नकै लागि जन्मेका खेलाडी हुन् । उनकै दुई गोल मदतमा सिटीले वेस्ट ह्याममाथि आरामदायी २–० को जित निकाल्यो । लन्डन स्टेडियममा यी नर्वेली खेलाडी ह्याट्रिक गर्नबाट भने चुके । तर उनको खेल नै कस्तो रह्यो भने त्यसले ग्वार्डिओलाको अनुहार नै धपक्क बले जस्तै भयो ।

उनी भन्छन्, ‘हल्यान्डले ५ वर्षको अनुबन्ध गरेका छन् । विश्वास गरौं, त्यो समयभन्दा बढी उनी सिटीमा रहनेछन् । हामी चाहन्छौं, उनी जस्ता नयाँ खेलाडी सिटीमा रहेर खुसी रहोस् । हाम्रो काम भनेको उनीबाट अझ केही बढी प्रदर्शन निकाल्ने नै हो । उनी निकै प्रतिभाशाली खेलाडी हुन् । हामी उनलाई अझ उन्नत खेलाडी बनाउन चाहन्छौं । उनले गोल त गरोस् नै, यो पनि महत्त्वपूर्ण छ । तर हामी उनी वास्तवमै अझ राम्रा खेलाडी होस् भन्ने चाहन्छौं ।’ ग्वार्डिओलाले दोस्रो हाफमा हल्यान्डलाई ‘सब्स्टिच्युट’ गरे । त्यसका लागि माफी माग्न चाहेनन् । लिभरपुलविरुद्ध कम्युनिटी सिल्डमा २२ वर्षीय हल्यान्डको प्रदर्शनलाई लिएर आलोचना सुरु भएको थियो । त्यसतर्फ इंगित गर्दै ग्वार्डिओलाले भने, ‘एक साताअगाडिसम्म उनी ईपीएलमा अभ्यस्त हुन नसक्ने पनि बताइएको थियो । तर अहिले उनको तुलनामा थिएरी हेनरी, एलान सिएरर र क्रिस्टियानो रोनाल्डोसँग हुन थालेको छ ।’ हल्यान्डले पहिलो गोल पेनाल्टीबाट गरेका हुन् ।

पेनाल्टी जित्ने काम पनि उनकै थियो । त्यसपछि दोस्रो गोल थपे । ‘मलाई थाहा थियो, हल्यान्ड सबैखाले आलोचना सहन सक्छन् । अभ्यासका बेला उनमा कुनै प्रकारको दबाब देखिएन । तर जसरी उनले पेनाल्टी प्रहार गर्न उत्सुकता देखाए, त्यसमा म खुसी छु ।’

हल्यान्ड आफैं पनि आफ्नो खेल अझ सुधार होस् भन्ने चाहन्छन् र त्यसको वचन पनि दिन्छन् । इल्केयी गुन्डोगनको क्रसलाई प्रहार गर्न नसकेका उनले आफ्नो आलोचना गर्न पछाडि परेनन् ।

हल्यान्डको प्रशंसा गर्न वेस्ट ह्यामका प्रशिक्षक डेविड मोयसले पनि पटक्कै कन्ज्युस्याइँ गरेनन् । उनले भने, ‘हामी सबैले उनको खेल नजिकबाट हेरिरहेका छौं । उनको प्रदर्शनले उनी कति राम्रा खेलाडी हुन्, त्यो देखाउने गर्छ । सिटी आफैंमा निकै बलियो टिम हो । प्राविधिक रूपमा सिटीले हामीलाई यस खेलमा निकै पछाडि छाडेको देखियो । गत सिजन तुलनामा सिटीको प्रदर्शन फरक रह्यो, उसका दुवै फुलब्याकले मिडफिल्डरको जस्तो भूमिका निभाइरहेका थिए ।’

युनाइटेड भने घरमै ब्राइटनको हातबाट पराजित रह्यो । स्कोर थियो २–१ । ओल्ड ट्राफोर्डमा सामना गर्नुपरेको यो नतिजापछि प्रशिक्षक एरिक टेन हागले माने, यो टिम सम्हाल्नु भनेको निकै गाह्रो रहेछ, अपजस पाइने काम । टेन हागको पहिलो ईपीएल खेलमा भ्रमणकारी ब्राइटन पूर्णतः छाएको थियो । त्यसमा पास्कल ग्रासले ९ मिनेटको अन्तरमा मज्जाले दुई गोल गरे । युनाइटेडले एक गोल त फर्कायो, तर त्यो आत्मघाती रह्यो । एलेक्स म्याक एलिस्टरले आफ्नै पोस्टमा गोल गरेका थिए ।

टेन हागले भने, ‘हामीले अझ धेरै मिहिनेत नगरेर सुखै छैन । हाम्रो काम यो हारको विश्लेषण गर्ने हो र अगाडि बढ्ने हो । यस खेलमा हामीले राम्रो सुरुआत त लियौं, तर हाम्रो खेल विस्तारै खस्कन थाल्यो । हाम्रा खेलाडीले भुलहरू गर्न थाले । फुटबलमा जसले भुल गर्छ, उसले सजाय पनि पाउँछ ।’ युनाइटेडका लागि प्रि–सिजन राम्रै रह्यो, त्यसैले सायद केही हदसम्म लिगको पहिलो खेलमा आफ्ना खेलाडीको खेल खस्केकामा टेन हाग झसङ्ग परेको पनि देखियो ।

उनले भने, ‘यस्तो हुने गर्छ । निचोड हो, हामीले ब्राइटनविरुद्ध जसरी खेल्यौं, त्योभन्दा राम्रो खेल्न सक्नुपर्थ्यो । मलाई के पनि राम्रोसँग थाहा छ भने सुधार रातारात आउने गर्दैन, पक्कै हामीले प्रि–सिजनमा राम्रो प्रदर्शन गर्न सक्यौं । तर ब्राइटनविरुद्ध हाम्रो प्रदर्शन निकै खस्केको देखियो । हामीले यसबाट शिक्षा लिनुपर्छ ।’ यही प्रि–सिजनकै बेला टेन हागले के महसुस गरेका थिए भने खेलाडीको आत्मविश्वास कमजोर छ, त्यसमा छियाछिया परेको छ ।

यसको कारण के थियो भने अघिल्लो सिजनमा युनाइटेडको प्रदर्शन नाजुक थियो । यसले खेलाडीको मानसिक पनि कमजोर बनाएको थियो । यसै विषयमा टेन हागले भने, ‘मलाई पनि यस्तै लाग्छ, तर यो सामान्य हो । हामी टिमका रूपमा अझै विकास हुन बाँकी छ । किनभने हामीले पर्याप्त समय पाएका छैनौं ।’

सर एलेक्स फर्गुसनले छाडेयता युनाइटेड सम्हाल्न आठ व्यवस्थापक आइसके । त्यसमध्ये टेन हाग लिगको पहिलो खेलमै हार बेहोर्ने दोस्रोमात्र रहे ।

त्यसअघि यस्तै नियति लुइस भान गालको रह्यो । युनाइटेडलाई हराउन पाएकोमा ब्राइटन त खुसी हुने नै भयो । ओल्ड ट्राफोर्डमा ब्राइटनको यो १४ औं भ्रमण थियो, तर जित निस्केको भने पहिलोपल्ट । त्यसैले यो धेरै अर्थमा ब्राइटनका लागि ऐतिहासिक रह्यो । ब्राइटनमा नाम चलेका खेलाडी कम छन् । मानौं छैनन् नै । तर, एउटा टिमका रूपमा यो बलियो छ । अचेलमा टिममा महत्त्वाकांक्षा पनि बढेको छ । त्यसैले प्रशिक्षक गाह्रम पोटर भन्छन्, ‘हाम्रो टिम खुबै मजबुत छ ।’

प्रकाशित : श्रावण २४, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्

राहत महसुस गर्दै छन् फराह

‘फराहभित्र एक प्रकारको दुःख थियो, वृत्तचित्रमा बोलेपछि उनलाई राहत भएको छ’
द गार्डियन

लन्डन — सर मो फराहले अहिले निकै राहत महसुस गरिरहेका छन् । तत्कालको राहत हो, उनलाई बेलायतको गृह मन्त्रालयले कारबाही गर्ने छैन । उनी बेलायत गैरकानुनी तरिकाले आएका थिए । पूरा जीवनकै उनले महसुस गरेको राहत हो । आखिरमा उनले आफ्नो वास्तविक जीवनी बताउन सके । उनले केही लुकाएनन् । ओलम्पिक स्टार फराहले यसअघि भनेका थिए, आफ्नो वास्तविक नाम ‘हुसैन अब्दी कहिन’ हो । तर उनले बेलायतमा मोहम्मद फराहको नाममा नागरिकता लिए ।

फराहलाई यो नाम त्यो समूहले दिएको थियो, जसले गैरकानुनी तरिकाले उनलाई बेलायत ल्याएका थिए । उनले यो जानकारी बीसीसीको एक वृत्तचित्रमा बताएका हुन् । उनले त्यसमा के बताएका छन् भने उनका आमाबुवा कहिल्यै पनि बेलायत आएनन् । उनका बुवा अब्दी त सोमालिल्यान्डमा भएको गृहयुद्धका क्रममा मारिए । त्यति बेला उनी चार वर्षका मात्र थिए । अहिले पनि उनका दुई भाइ सोमालिल्यान्डको कुनै फार्ममा काम गरिरहेका छन् ।

फराहले आफ्नो यो वास्तविकता बताए पनि बेलायतको गृह मन्त्रालयले उनलाई कुनै कारबाही गर्ने छैन । अझ सबैभन्दा ठूलो कुनै जाँच पनि गरिने छैन । यसलाई लिएर फराहले प्रतिक्रिया दिएका छन्, ‘यसले मलाई तत्काल धेरै राहत दिएको छ । यो मेरो देश हो । यदि एलेन (पीई टिचर) ले मलाई समर्थन गर्दैन थिए त मैले यो कथा भन्ने हिम्मत पनि गर्दिनँ थिएँ । उनले मलाई सानो छँदा पनि साथ दिएका थिए । मेरो जीवनमा धेरैको ऋण लागेको छ, धेरैको सहयोग छ । विशेषतः मेरी श्रीमतीको ।’

उनले थपे, ‘विशेषतः श्रीमतीले मेरो खेलजीवनमा साथ दिए । उनले नै मलाई आफ्नो कथा सबैका अगाडि भन्न प्रेरित गरेकी हुन् । उनको हिसाबमा मैले यस्तो गर्नु नै ठीक थियो । मलाई आफ्नो कथा परिवारलाई भन्न पनि गाह्रो थियो । सार्वजनिक रूपमा म जहिले पनि आफूलाई एक्लो महसुस गरिरहेको थिएँ । तर अहिले म खुसी छु र धेरै राहत महसुस गरिरहेको छु । मैले वृत्तचित्रमा सबै भनेको छु, मेरो बाल्यकालमा वास्तवमै के भएको थियो भनेर ।’

त्यस वृत्तचित्रमा उनले आफू कसरी बेलायत आएँ, आफ्नो बाल्यकाल कसरी बित्यो र सन् २०१२ को लन्डन ओलम्पिकमा पदक जित्दाको अनुभवबारे खुलेर बताएका छन् । फराहका अनुसार उनी भाग्यमानी रहे, किनभने उनले खेलकुद रोजे । त्यसले उनलाई अन्तर्राष्ट्रिय ख्याति दियो । तर उनी जस्ता धेरै छन्, जो अहिले पनि लन्डनका गल्लीमा त्यसै घुमिरहेका छन् । यो आधुनिक गुलामीको नयाँ उदाहरण हो । उनीहरूको जीवन त्यसै खेर गइरहेको छ ।

पत्नी तानियाका साथ फराह ।

फराहकी श्रीमती हुन् तानिया । उनी पनि आफ्ना श्रीमानको कथा पहिलोपल्ट सुनेपछि स्तब्ध जस्तै भइन् । अनेक प्रकारका भावनात्मक आरोह अवरोहबाट गुज्रिइन् । तानियाले भनिन्, ‘पहिलोपल्ट कथा सुन्दा मलाई दुःख लाग्यो, म स्तब्ध भएँ । मलाई जसले फराहलाई यो परिस्थितिबाट गुज्रिन बाध्य पारे, उनीहरू देखेर रिस उठ्यो ।’ उनी के पनि मान्छिन् भने अन्ततः फराहले आफ्नो पूरा वास्तविकता भन्ने हिम्मत गरे र यो उनका लागि एकप्रकारले औषधि पनि हो ।

उनी भन्छिन्, ‘फराहभित्र एक प्रकारको दुःख थियो । वृत्तचित्रमा बोलेपछि उनलाई राहत भएको छ । यो एकप्रकारले उनका लागि औषधि हो ।’

बेलायतको कानुनअनुसार यदि कसैले गलत तरिकाले नागरिकता लिएको छ भने त्यसलाई रद्द गरेर देश निकाला गर्न सक्छ । तर फराहको घटनामा सरकारले यस्तो गर्ने छैन, किनभने जसरी गलत तरिकाले नागरिकता लिइएको थियो, यसमा तस्करी गरेर बेलायत पुगेका बच्चाहरूको कुनै दोष थिएन ।

फराहले अहिले आएर किन आफ्नो कथा भन्नुपरेको थियो त ? प्रश्न यो पनि रहन्छ । एक त उनी व्यक्तिगत रूपमा आफ्नो कथा भनेर पक्कै राहत महसुस गर्न चाहन्थे । दोस्रो उनी बेलायतमा हुने यस्तै मानव तस्करीलाई रोक्न चाहन्छन् । उनी भन्छन्, ‘म त धेरै भाग्यमानी रहें, किनभने मैले एथलेटिक्स रोजें र सफल भएँ । म अरूभन्दा अलग पनि थिएँ । तर यस्ता युवा अझै धेरै छन्, जसले सबै प्रकारका पीडा बेहोरेका छन् ।’

३९ वर्षे फराहले लन्डन २०१२ र रियो २०१६ ओलम्पिकमा ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।

प्रकाशित : असार ३१, २०७९ ०६:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×