कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओल्ड ट्राफोर्डमा ब्राइटनको पहिलो जित

म्यानचेस्टर युनाइटेड पहिलो खेलमै स्तब्ध
एएफपी

म्यानचेस्टर — ब्राइटनले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई २–१ ले स्तब्ध पारेको छ र यो ओल्ड ट्राफोर्डमा उसको पहिलो ऐतिहासिक जित हो । म्यानचेस्टरका लागि भने मुख्य प्रशिक्षक एरिक टेन हागले हारसँगै लिगको सुरुआत गरेका छन् ।

ओल्ड ट्राफोर्डमा ब्राइटनको पहिलो जित

ब्राइटनका लागि पहिलो हाफमा पास्कल ग्रसले दुई गोल गरे । उनले ३० औं मिनेटमा गोलको खाता खोलेको नौ मिनेटपछि नै दोस्रो गोल थपे । ग्राहम पोटरको टिमले खेलको सुरुमा म्यानचेस्टरलाई पूर्णतः दबाबमा राखेको थियो । मे महिनामा मात्र एमेक्स स्टेडियममा ब्राइटनले म्यानचेस्टरलाई ४–० ले हराएको थियो । दोस्रो हाफमा म्यानचेस्टरले खेलमा फर्कने प्रयास गरे पनि त्यो पर्याप्त रहेन ।

गत सिजन लिगको नवौं स्थानमा रहेको ब्राइटनले ५८ औं मिनेटमा आत्मघाती गोल गरेपछि म्यानचेस्टरले दबाब बढाएको थियो । म्याक एलिस्टरले त्यसमा आत्मघाती गोल गरे । दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका क्रिस्टियानो रोनाल्डोले पनि खेलमा कुनै परिवर्तन गर्न सकेनन् ।

आइतबारकै अर्को खेलमा लेस्टर सिटी र ब्रेन्टफोर्डले २–२ को रोमाञ्चक बराबरी खेलेको छ । लेस्टरले दुई गोलको अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन र ब्रेन्टफोर्डले उत्कृष्ट पुनरागमन रच्यो । ब्रेन्टफोर्डका लागि इभान टोनीले पहिलो गोल फर्काएयता जोस डालिस्भाले ८६ औं मिनेटमा बराबरी गोल गरे । त्यस अगाडि लेस्टरका लागि टिमोथी काग्स्टने र किरनान ड्वसबरीले गोल गरेका थिए ।

यस अगाडि खराब प्रि–सिजनलाई ओझेलमा पार्दै चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार एभरटनमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ । पहिलो हाफको इन्ज्युरी समयमा जोर्जिन्होले पेनाल्टीबाट गरेको गोल नै निर्णायक रह्यो । नयाँ सिजनको तयारीका लागि अमेरिका गएको चेल्सीले त्यहाँ खराब प्रदर्शन गरेको थियो ।

यसक्रमा व्यवस्थापक थोमस टुचेलले टिम लिगका लागि तयार हुन नसकेको चेतावनी दिएका थिए । तर गुडसन पार्कमा जितले चेल्सीलाई ठूलो राहत भएको छ र क्लबमा स्वामित्व परिवर्तन भएयता लिगमा विजयी सुरुआत लिन सफल रह्यो । एभरटनको घरमा चेल्सी विजयी रहेको यो पाँच वर्षयता पहिलोपल्ट हो ।

टोटनहमको अग्रता

अघिल्लो दिन टोटनहमले साउथह्याम्पटनलाई ४–१ ले पराजित गरी प्रिमियर लिगमा अग्रता बनाएको थियो । आफ्नो प्रमुख दुई स्ट्राइकर कप्तान ह्यारी केन र सन हेउङ मिनले गोल गर्न नसके पनि टोटनहमले घरेलु मैदानमा प्रभावशाली जित हात पारेको हो । जेम्स वार्ड प्रावसीको गोलमा साउथह्याम्पटनले १२ औं मिनेटमा अप्रत्याशित अग्रता लिए पनि रायन सेसेगनले क्लबका लागि पहिलो गोल गरेपछि टोटनहम २१ औं मिनेटमा बराबरीमा आएको थियो ।

इरिक डायरले तीन वर्षयता पहिलो गोल गरेपछि स्पर्शले ३१ औं मिनेटमा अग्रता लियो । सनको क्रसमा उनले फ्लिक हेडरमा गोल गरेका थिए । इमर्सन रोयलको क्रसमा साउथह्याम्पटनका मोहम्मद सलिसुले आत्मघाती गोल गर्न पुगे । प्रभावशाली प्रदर्शन गरेका कुलुसेभ्सकीले ६३ औं मिनेटमा गोल गर्दै टोटनहमको जित निश्चित गरे । शनिबारका अन्य खेलमा बर्नमाउथले एस्टन भिल्लालाई २–० ले, लिड्सले वोल्भसलाई २–१ ले र न्युक्यासलले नवप्रवेशी नटिङ्घम फोरेस्टलाई २–० ले पराजित गरेका थिए ।

फ्रान्स

पेरिस– लियोनल मेसीले गरेको दुई गोल मद्दतले पेरिस सेन्ट जर्मेन (पीएजी) ले शनिबार फ्रान्सेली लिग वानमा क्लेरमोन्टलाई ५–० ले हराएको छ र यससँगै लिग उपाधिको रक्षा अभियान सुरु गरेको छ । पीएसजीका लागि नेयमरले गोलको खाता खोलेपछि अचराफ हकिमी र मारक्विन्होसले पहिलो हाफमा गोल थपे ।

दोस्रो हाफको अन्त्यतिर मेसीले दुई गोल गरे । त्यसमध्ये एक गोल उत्कृष्ट ‘ओभर हेड किक’ को मद्दतले भएको थियो । पीएसजीले फ्रान्सको माथिल्लो डिभिजनको लिग उपाधि यसपल्ट पनि सजिलै जित्ने विश्वास गरिएको छ । टुलोस र निसबीचको अर्को खेल भने रोमाञ्चक १–१ को बराबरीमा छुट्यो ।

जर्मनी

मार्को रेउसले गरेको एक मात्र गोल मद्दतले बोरुसिया डर्टमुन्डले शनिबार जर्मन बुंडेसलिगामा बायर लेभरकुजनलाई १–० ले हराएको छ । रेउसले नवौं मिनेटमा गरेको गोल नै खेलमा निर्णायक सावित भयो । अर्को खेलमा फ्राइबर्गले असबर्गको घरमा ४–० को प्रभावशाली जित निकाल्दै नयाँ सिजनमा सानदार सुरुआत लिन सफल रह्यो ।

प्रकाशित : श्रावण २३, २०७९ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?