कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वकपको टिकट हुनेलाई कतार छिर्न भिसा नचाहिने

विश्वकप अवधिभर नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्मका लागि यो व्यवस्था लागु हुने
कान्तिपुर संवाददाता

काठमाडौँ — ‘त्यो एक महिना विशेष हुनेछ’ उनले भने, ‘पुरै अरब लिगको सीमाना हुने छैन, जानलाई कुनै भिसा चाहिने छैन । बस टिकट लिनुस् र तपाईं उड्नुस् ।’ नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतार जान भिसा नचाहिने योजनाको घोषणा गर्दा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमद अल–हेल उत्साहित देखिए ।

विश्वकपको टिकट हुनेलाई कतार छिर्न भिसा नचाहिने

आफ्नो देशमा हुन लागेको विश्वकप फुटबल हेर्न टिकट काट्नेलाई कतारमा मात्रै होइन, यूएई, साउदी अरब, ओमन, बहराइन, इरानलगायत अरब देशमा भिसाविनै घुम्न पाइने योजना एक महिनासम्म लागू हुन्छ भन्दा उनका आँखा उत्साहले चम्किएका थिए ।

बढ्दो कोरोना महामारीले भाँजो हालेर खेल रोकिन पुगेन भने कतार विश्वकप आयोजना गर्ने पहिलो अरब राष्ट्र हुनेछ । राजदूत मोहम्मद खेल निर्धारित समयमा सुरु हुनेमा आशावादी छन् ।

‘कतारको स्वास्थ्य व्यवस्था राम्रो छ, हामीले विश्वकपलाई नै मध्यनजर गरेर देशमा बस्ने स्वदेशी/विदेशी सबैलाई चौथो पटक खोप लगाइसक्यौं,’ उनले भने, ‘त्यसो हुनाले कुनै संकट आउलाजस्तो मलाई लाग्दैन ।’

कतारले मात्रै नभएर सिंगै अरब मुलुकले गर्वका साथ लिएको विश्वकपको तयारीमा नेपालीको ठूलो योगदान रहेको भन्दै दूतावासले कृतज्ञता प्रकट गरेको छ । ‘विश्वकप खेलाउन हामीले आठवटा रंगशाला बनाएका छौं,’ राजदूत युसुफ बिन भन्छन्, ‘ती सबै रंगशालामा धेरै देशका मानिसको श्रम परेको छ, जसमा नेपालीको पसिना उल्लेख्य रूपले मिसिएको छ ।’ सबै रंगशालाहरू निकै भव्य भएको र ती सौर्य पाताहरूबाट निक्लिने बिजुलीबाट सञ्चालित हुने भएकाले आफैंमा गर्व गर्न लायक भएको राजदूतको बुझाइ छ । नेपाली कामदारको श्रममा ठडिएका ती रंगशाला वातानुकूलित छन् ।

‘रंगशाला निर्माणमा सहयोग पुर्‍याएकोमा कतार नेपाल र नेपालीप्रति आभारी छ,’ सोमबार कतार दूतावासको कार्यालयमा पत्रकारसँग राजदूतले भने, ‘नेपालीहरूले कतारमा राष्ट्र निर्माणमा सहयोग गरेका हुनाले कतारी जनता उनीहरूलाई हृदयदेखि नै आदर गर्छन् ।’

विश्वकप चल्ने महिनाभर दिनको एकमात्रै जहाज नेपालबाट कतार उड्ने व्यवस्था मिलाइएको उनले बताए । हाल हरेक दिन नेपालबाट चार जहाजले कतारको उडान भर्छ ।

‘हामीलाई अरू देशबाट पनि दर्शकलाई ओसार्नुपर्ने हुनाले जहाजको सबैतिर परिचालन गर्ने चुनौती छ,’ उनले भने, ‘विश्वकपकै लागि भनेर नयाँ जहाज किन्ने कुरा पनि भएन, त्यसैले एक महिनाभर नेपालबाट दोहाका लागि एकमात्रै जहाज चल्नेछ ।’

प्रकाशित : श्रावण १८, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?