कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३
महिला युरो २०२२

इंग्ल्यान्डलाई घरमा जर्मन चुनौती

‘महिला फुटबलको माध्यमबाट देशलाई नै खुसी हुने अवसर दिन चाहन्छौं’
एएफपी

लन्डन — वेम्बली स्टेडियम । इंग्ल्यान्डविरुद्ध जर्मनी । यो खेलले इतिहासका धेरै पल सम्झाउन गर्छ । अनि यसले महिला फुटबलको बढ्दो लोकप्रियता पनि प्रमाणित गर्नेछ । आयोजक देशका रूपमा इंग्ल्यान्डले आइतबार आफ्नै घरमा महिला युरो २०२२ को फाइनलमा जर्मनीको सामना गर्नेछ । यो खेललाई कीर्तिमान ९० हजार दर्शकले हेर्ने तय छ । प्रतियोगिता आफैं महिला फुटबलमा सबैभन्दा बढी दर्शकले हेरेको प्रतियोगिता साबित भइसकेको छ ।

इंग्ल्यान्डलाई घरमा जर्मन चुनौती

यसअघि पूरा प्रतियोगितामा दर्शकको कीर्तिमान उपस्थिति २ लाख ४० हजार थियो । इंग्ल्यान्डमा यो कीर्तिमान समूह चरणमै भंग भइसकेको थियो । जर्मन प्रशिक्षक मार्टिना भोस टेकलेनबर्ग भन्छिन्, ‘यो सबैखाले विशेषताले भरिएको खेल हुनेछ, इंग्ल्यान्डविरुद्ध जर्मनी । यो फुटबलको महोत्सव पनि हुनेछ ।’ इंग्ल्यान्डको महिला फुटबलले आफ्नो इतिहासमै पहिलो ठूलो उपाधि जित्ने अवसर छ । उसले त्यही मैदानमा खेल्न लागेको छ, जहाँ पुरुष टिमले सन् १९६६ को विश्वकपमा पश्चिम जर्मनीलाई हराएर उपाधि जितेको थियो ।

यो नै इंग्लिस फुटबलको अहिलेसम्मकै एकमात्र उपलब्धि रहेको छ । जर्मनीले भने आठपल्ट महिला युरोको उपाधि जितिसकेको छ । त्यसमध्ये सन् २००९ को फाइनलमा जर्मनीले इंग्ल्यान्डलाई ६–२ ले हराएको थियो । तर, पछिल्लो समय विश्व महिला फुटबलमा धेरै परिवर्तन आएको छ र यसको शक्ति सन्तुलन पनि फेरिएको छ । इंग्लिस फुटबलले महिलाको लिगमा अत्यधिक लगानी गरेको छ, त्यसैले इंग्लिस महिला फुटबल आफैं अहिले सर्वाधिक बलियो देखिएको छ ।

इंग्ल्यान्डको सजिलो यात्रा

इंग्ल्यान्डको फाइनल यात्रा निकै सजिलो रहेको छ । यसक्रममा टोलीले २० गोल गरिसकेको छ । त्यसमध्ये सबैभन्दा ठूलो जित नर्वेविरुद्ध थियो ८–० को । नर्वे आफैं पूर्व युरो विजेता हो । यो समूह चरणमा प्राप्त जित थियो । सेमिफाइनलमा पनि इंग्ल्यान्डले स्विडेनलाई ४–० ले पराजित गरेको थियो । जर्मनीलाई हराएर उपाधि जित्नुको अर्थ इंग्ल्यान्डका लागि पूर्णतः सफल प्रतियोगिता साबित हुनेछ । यससँगै नयाँ इतिहास पनि बन्नेछ ।

पछिल्लो फेब्रुअरीमै पनि इंग्ल्यान्डले उल्भसमा भएको खेलमा जर्मनीलाई ३–१ ले हराएको थियो । संयोगले यो जर्मनीमाथि इंग्ल्यान्डको पहिलो जित थियो, आफ्नो घरमा । जर्मनीलाई उपाधि जित्ने बानी भने छ, तर जर्मन महिला फुटबल त्यस्तो रहेन, जस्तो पहिले रहने गर्थ्यो । यसको शक्तिमा धेरै प्रतिद्वन्द्वीले सफल धावा बोलिसकेका छन् । सन् २०१६ मा जर्मनीले ओलम्पिक स्वर्ण जितेको थियो, त्यसयता अहिले नै हो, जर्मनी टिमले क्वाटरफाइनल चरण पार गरेको ।

प्रमुख खेलाडी

अलेक्जान्ड्रा पोप र एलेसिया रुसोले जर्मन टिमका लागि फरक खाले योगदान दिएका छन् । विशेषतः कप्तान पोप सबैभन्दा घातक देखिएकी छन् । उनले जर्मनीले खेलेका अहिलेसम्मका सबै पाँचै खेलमा गोल गरेकी छन्, जुन आफैंमा कीर्तिमान हो । उनी डेनमार्कविरुद्धको पहिलो खेललाई छाडेर बाँकी सबैमा सुरुदेखि खेलेकी छन् । रुसोले यस्तै समान अवसर पाएकी छैनन्, तर जतिबेला उनले मौका पाएकी छन्, त्यतिबेला आफ्नो छाप छोड्न सफल भएकी छन् ।

पोपले सन् २०१३ र २०१७ को युरो खेल्न पाएकी थिइनन् चोटका कारण । अहिले त्यही गुमेको अवसर बिर्सने अर्को अवसर तयार भएको छ । पोपले अहिलेसम्म प्रतियोगितामा ६ गोल गरेकी छन् । सर्वाधिक गोल गर्ने खेलाडी सूचीको संयुक्त रूपमा शीर्षस्थानमा छन् उनी । इंग्ल्यान्डकी बेथ मेडले पनि ६ गोल गरेकी छन् । रुसोले भने सब्स्टिच्युट खेलाडीका रूपमा निर्णायक भूमिका खेलिरहेकी छन् र अहिलेसम्म प्रतियोगितमाा चार गोल गरिसकेकी छन् ।

मेडले ६ गोल गरिसकेको नाताले उनी इंग्लिस टिमकी प्रमुख खेलाडी त हुन् नै । विशेषतः स्विडेनविरुद्ध सेमिफाइनलमा गरेको पहिलो गोल निकै उत्कृष्ट थियो । सम्भवतः उनी नै ‘गोल्डेन बुट अवार्ड’ का लागि सबैभन्दा बलियो प्रत्याशी हुन् । फाइनलमा इंग्ल्यान्डको प्रदर्शन धेरै अर्थमा यिनै आर्सनल खेलाडीमा भर पर्नेछ । तर, इंग्ल्यान्डको अहिलेसम्मको प्रदर्शन कोही एक खेलाडीमा टिकेको छ भन्नु भन्दा टिममै टिकेको छ । खासमा यो टिमको सम्पत्ति पनि हो ।

वेगमनविरुद्ध टेकलेनबर्ग

पछिल्लो एक दशकभन्दा बढी समयदेखि जर्मन टिमको जिम्मेवारी सम्हालिरहेकी प्रशिक्षक हुन् मार्टिना भोस–टेकलेनबर्ग । उनी जति प्रभावशाली खेलाडी थिइन्, प्रशिक्षकका रूपमा उनको प्रदर्शन उत्तिकै उम्दा छ । उनको दाबी छ, ‘इंग्ल्यान्डले अहिलेसम्म खेलेका खेलमा सुरुआत कमजोर गर्ने गरेको छ । हामीले त्यसबाट फाइदा लिन सक्नुपर्छ । यो नै हाम्रो रणनीतिको मुख्य आधार हुनेछ ।’ सरिना वेगमन आएयता इंग्लिस महिला फुटबल पनि उत्तिकै फेरिएको छ ।

यी प्रशिक्षक आफ्नो जमानामा डच टिमका प्रमुख खेलाडी थिइन् । प्रशिक्षक भएयता उनले सन् २०१७ मा नेदरल्यान्ड्सलाई युरो उपाधि पनि दिलाइन् । अहिले उनको काँधमा इंग्लिस टिम छ । उनी प्रशिक्षक भएयता इंग्ल्यान्ड लगातार अपराजित रहेको छ । उनी भन्छिन्, ‘मैले प्रतियोगिता सुरु हुनु अगाडि भनेकी थिएँ, अहिले पनि भन्छु, हामी महिला फुटबलको माध्यमबाट देशलाई नै खुसी हुने अवसर दिन चाहन्छौं । हामीले सायद यो काम गरेका छौं । हामीले अहिलेसम्म जे जस्तो यात्रा तय गरेका छौं, त्यसमा हामी सबैलाई गर्व नै छ ।’

प्रकाशित : श्रावण १५, २०७९ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?