कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खड्का विश्व तेक्वान्दोमा निर्णायक

काठमाडौँ — नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले विश्व तेक्वान्दो च्याम्पियनसिप (जी ७) मा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । यसका लागि सेकेन्ड क्लासका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक खड्का आइतबार बुल्गेरियाको सोफिया जाँदै छन् ।

खड्का विश्व तेक्वान्दोमा निर्णायक

प्रतियोगिताअन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म हुनेछ । साउन १७ देखि २२ सम्म जुनियरको खेल हुनेछ । दुवैमा अशोकले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । प्रतियोगिता लक्षित गरी साउन १० र ११ गतेसम्म रेफ्री रिफ्रेसर कोर्स हुनेछ । कोर्समा पनि खड्काले सहभागिता जनाउने छन् ।

निर्णायकका लागि विश्व तेक्वान्दोले नै छनोट गरेको खड्काले बताए । उनका अनुसार दक्षिण एसियाबाट उक्त प्रतियोगिताका लागि निर्णायकमा छनोट हुने उनी एक्ला हुन् ।

वैशाखयता खड्काले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेको पाँचौं पटक हो । यसअघि उनले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले बिदाइ गरेका थिए ।

प्रकाशित : श्रावण ७, २०७९ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?