कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण अफ्रिका लिगमा सबै आईपीएल मालिकहरू

एएफपी

केपटाउन — इन्डियन प्रिमियर लिग (आईपीएल) को विश्वव्यापी प्रभाव दक्षिण अफ्रिकामा पनि देखिएको छ । सन् २०२३ को जनवरीमा हुने भनिएको दक्षिण अफ्रिकाको नयाँ ट्वान्टी–२० लिगमा खेल्ने सबै ६ फ्रेन्चाइज टिमको स्वामित्व आईपीएल टोलीका मालिकहरूले लिएका छन् ।

दक्षिण अफ्रिका लिगमा सबै आईपीएल मालिकहरू

समाचारमा जनाएअनुसार मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स (सीएसके), लखनउ सुपर जायन्ट्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सका एक लगानीकर्ताले दक्षिण अफ्रिकी ट्वान्टी–२० लिगको विभिन्न फ्रेन्चाइज टोलीको स्वामित्व खरिद गर्न सफल भएका हुन् । दक्षिण अफ्रिका क्रिकेटले टेलिभिजन ब्रोडकास्टर सुपर स्पोर्टससँग मिलेर यो लिग आयोजना गर्दै छ ।

मूल कम्पनी चेन्नई सुपर किंग्स स्पोर्टस लिमिटेडमार्फत सीएसकेले जोहानसबर्ग फ्रेन्चाइज लिन सबैभन्दा ठुलो रकम अक्सनमा लगाएको थियो । रिलायन्स इन्डियाको स्वामित्वमा रहेको मुम्बई इन्डियन्सले केपटाउन, सन टिभी ग्रुपको स्वामित्वमा रहेको सनराइजर्सले गुबेरहा (पूर्वनाम पोर्ट एलिजाबेथ) लिएको छ ।

त्यस्तै गत वर्ष आईपीएलमा लखनउको फ्रेन्चाइज लिन ७०९० करोड भारु लगाएको आरपी सन्जीव गोयन्का समूहले डर्बन, राजस्थान रोयल्सले पार्ल टिम तथा दिल्ली क्यापिटल्समा लगानी गरिरहेको जिन्दाल साउथ वेस्ट स्पोर्टसबाट पार्थ जिन्दालले अक्सनबाट प्रिटोरियाको स्वामित्व लिएका छन् । सीएसकेको हकमा तेस्रो प्रयासमा उनीहरू विदेशी भूमिमा फ्रेन्चाइज खरिद गर्न सफल भएका थिए । यसअघि सन् २०१७ मा क्यानडाको ग्लोबल टी–२० लिग र दक्षिण अफ्रिकाकै मजान्सी सुपर लिगमा फ्रेन्चाइज लिने चेन्नईको प्रयास खेर गएको थियो ।

क्रिकेट दक्षिण अफ्रिकाले नयाँ मालिक र सहरहरूको औपचारिक घोषणा गर्न बाँकी छ । दक्षिण अफ्रिकाका पूर्व कप्तान ग्रिम स्मिथलाई नयाँ ट्वान्टी–२० लिगको प्रमुख बनाइएको छ । फ्रेन्चाइजहरूको सुनिश्चितता गर्नु स्मिथको पहिलो लक्ष्य थियो ।

प्रकाशित : श्रावण ६, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?