कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

१३ खेलाडीलाई प्रोत्साहन पुरस्कार

काठमाडौँ — पारा ओलम्पिक २०२० मा पदक नजिक पुगेकी पलेशा गोवर्द्धनसहित १३ खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले ‘खेलाडी प्रोत्साहन पुरस्कार’ प्रदान गरेको छ ।

१३ खेलाडीलाई प्रोत्साहन पुरस्कार

राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रमसँगै सोमबार त्रिपुरेश्वरस्थित कभर्डहलमा पलेशा र विश्व जुनियर ब्याडमिन्टनका पूर्वनम्बर एक प्रिन्स दाहाललाई समान १ लाख ५ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरियो । पारा ओलम्पिकमा पाँचौं स्थानमा रहेकी पलेशाले एसियन युथ पारा तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । प्रिन्स गत जनवरी ( २०२२) मा जुनियरको वरीयतामा शीर्षस्थानमा पुग्ने पहिलो नेपाली भएका थिए । अहिले उनी सातौं स्थानमा छन् । उनी सिनियरको वरीयतामा ४९९ औं स्थानमा छन् ।

त्यस्तै, पारा तेक्वान्दोकी सिर्जना घिसिङ तथा बक्सिङका नारिका राई, स्वस्तिका तिरुवा र छिरिङ शेर्पाले १–१ लाखको प्रोत्साहन पुरस्कार प्राप्त गरे । सिर्जनाले इरानमा भएको वर्ल्ड प्रेसिडेन्ट कपमा रजत जितेकी थिइन् । नारिका, स्वस्तिका र छिरिङले यूएईमा सम्पन्न एसियन जुनियर बक्सिङ च्याम्पियनसिपमा कांस्य हात पारेका थिए ।

एथलेटिक्सका राजपुरा पछाईं र पुष्पा भण्डारी, राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही, ट्रायथलनका सोनी गुरुङ र वसन्त थारु तथा पारा तेक्वान्दोका रन्जना धामी र विशाल गर्बुजाले पनि प्रोत्साहन पुरस्कार पाए । उनीहरूले जनही ५० हजार प्राप्त गरे । राजपुराले भारतमा सम्पन्न दक्षिण एसियाली क्रसकन्ट्रीमा रजत जितेकी थिइन् भने पुष्पा ढाका म्याराथनमा दोस्रो भएकी थिइन् । ढाकामा भएको एसियन सेन्ट्रल जोन वुमेन्स भलिबलको उपाधि विजेता नेपाली टिमका महत्त्वपूर्ण खेलाडी हुन् अरुणा ।

सोनी र वसन्तले पोखरामा सम्पन्न नवौं दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा कांस्य जितेका थिए । रन्जनाले एसियन गेम्सको छनोट र विशालले युथ एसियन गेम्सको छनोटमा तेस्रो स्थान हासिल गरेका थिए । खेलाडीहरूलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका महासचिव नीलेन्द्रराज श्रेष्ठलगायतले पुरस्कार वितरण गरे ।

राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा चेलीबेटी बेचबिखनविरुद्ध अभियान चलाइरहेकी चरिमाया तामाङ, तेजाब आक्रणबाट पीडित मुस्कान खातुन, छनोट पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी संगीना वैद्य र अल्ट्रा रनर मीरा राईले महिला आवाजलाई सशक्त रूपमा उठाउन र महिला खेलाडीलाई अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित : असार २८, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?