कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि सिटीविरुद्ध लिभरपुल

द गार्डियन

लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजन २०२२–०२३ सुरु हुन अब एक महिनामात्र बाँकी छ । क्लबहरूले त्यसको तयारी पनि सुरु गरिसकेका छन् । खेलाडीहरूले अभ्यास थालिसकेका छन् । कस्तो हुनेछ त यसपल्टको ईपीएल । कस्को कस्तो प्रदर्शन हुनेछ ? यसकै रोमाञ्चबीच सबैले लिग पर्खिरहेका छन् । अहिले समय चलिरहेको छ, त्यसैले मैदानमा खेल छैन । तर, मैदानबाहिर भने सबै खाले खेल चलिरहेको छ, विशेषतः खेलाडी स्थानान्तरणको ।

फेरि सिटीविरुद्ध लिभरपुल

यसमध्ये केहीले आफूले चाहेका खेलाडी पनि किनिसकेका छन् । केही भने अझै पर्खिरहेका छन् । कसले के गर्नेछ, त्यसलाई नजिकबाट हेरिरहेका छन् । यही खेलाडी स्थानान्तरणबाटै लिग कसले जित्छ भन्ने अनुमान गर्ने हो भने म्यानचेस्टर सिटी र लिभरपुल अगाडि रहेका छन् । सिटीले इर्लिङ हल्यान्ड किनेको छ भने लिभरपुलको भागमा परेको छ डार्विन नुनेज । यी दुवै निकै राम्रा खरिद हुन् । यसको प्रभाव लिगमा पक्कै देखिनेछ ।

डिफेन्डिङ च्याम्पियनका रूपमा सिटी खुसी देखिन्छ । टिमका रूपमा सिटी आफैंमा बलियो छ । टोलीका लागि एउटा यस्तो नाम चाहिएको थियो, जसलाई बजारमा बेच्न सकियोस् । सिटीले यो नाम पाएको छ । यो अरू कोही होइनन्, हल्यान्ड नै हुन् । लिगमा यी नर्वेली खेलाडी ‘गेम चेन्जर्स’ हुन सक्नेछन् । हल्यान्ड आफैं पनि अन्ततः त्यो मोडमा आइपुगेका छन्, जहाँबाट उनले आफूलाई विश्व फुटबलका महान खेलाडी साबित गर्न सक्छन् ।

सिटीले पछिल्ला दुई लिग उपाधि जित्दा टिममा खासै नाम चलेका स्ट्राइकर थिएनन् । तर, अहिले त्यो पनि भएको छ । त्यसैले तय छ, सिटीले फेरि एकपल्ट लिग जित्छ भने त्यसमा आश्चर्य नमाने हुन्छ । त्यसो त सिटीले गाब्रियल जेसस आर्सनललाई र रहिम स्टर्लिङ चेल्सीलाई बेचेको स्थिति छ । तर यी दुई खेलाडीको अनुपस्थितिले कुनै हानी पुर्‍याउने छैन । सिटीसँग यति धेरै राम्रो खेलाडी छन् कि तिनलाई हेरेर प्रतिद्वन्द्वीको काम झस्कने नै हो ।

सिटीको प्रतिद्वन्द्वी फेरि एकपल्ट उही लिभरपुल नै हुनेछ । यो प्रवृत्ति फेरि एकपल्ट अबको लिगमा पनि देखिनेछ । लिभरपुल आफैं खुसी देखिन्छ, किनभने उसको पनि टिम नै यस्तो छ कि त्यसमा धेरै फेरबदल चाहिन्न । साडियो मानेलाई गुमाउनु पक्कै पनि लिभरपुलका लागि ठूलै धक्का हो, तर क्लबले यसको विकल्प तयार पार्न धेरै ढिलो गरेन । विकल्प तिनै डार्विन हुन् । यी उरुग्वेली खेलाडी विश्व फुटबलको अर्को ठूलो नाम हुनसक्छ । बेन्फिकामा देखाएको उनको प्रदर्शनले यस्तै भन्छ ।

लिभरपुलका लागि खुसीको समाचार के पनि छ भने टिममा मोहम्मद सलाह छन् नै । उनले नयाँ अनुबन्ध गरेका छन् । सलाह, नुनेज, डिएगो जोटा, लुइस डियाज, रोबर्टो फिरमिनोको नाम हेर्दा सिटीलाई लिग उपाधि जित्नबाट केही सक्षम छ भने त्यो लिभरपुल मात्र रहने देखिन्छ । अझ टिमले क्लेभिन राम्सी र फाबियो कार्भाल्हो पनि भित्र्याएको छ । त्यस अर्थमा यसपल्टको लिग सिटी भर्सेस लिभरपुल मात्र होइन, पेप ग्वार्डिओला भर्सेस योर्गन क्लोप पनि हुनेछ ।

सायद प्रि–सिजनमा दुई लन्डन क्लबले राम्रै गरेको देखिन्छ, टोटनहम र आर्सनलले । बरू आत्तिने स्थितिमा हुनसक्छ चेल्सी । अहिले बजारमा हल्ला छ, सायद क्रिस्टियानो रोनाल्डो चेल्सी आउन सक्छन् । गत सिजन केही हदसम्म तहल्का मच्चाउन सफल वेस्ट ह्याम सायद यसपल्ट त्यही रहने छैन । बरू विश्वास गर्न सकिन्छ, लेस्टर सिटीको प्रदर्शन सुधारिने छ । एउटा तथ्य के पनि निश्चित छ भने फेरि एकपल्ट म्यानचेस्टर युनाइटेडलाई सजिलो हुने छैन ।

प्रकाशित : असार २६, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?