कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठूलो लक्ष्यमा इंग्ल्यान्ड सफल

‘यो जित आफैंमा अद्वितीय छ,  टेस्ट क्रिकेट कसरी परिवर्तन भइरहेको छ, त्यो सबैले बुझ्नेछन्’
द गार्डियन

एजबास्टन — हल्का चिसो र पानी पर्नसक्ने सम्भावनाबीच पाँचौं तथा अन्तिम दिन । पुनर्जन्म पाएको इंग्ल्यान्डले आफ्नो क्रिकेट इतिहासमै चौथो इनिङ्समा सबैभन्दा ठूलो लक्ष्य पछ्याएर मंगलबार ऐतिहासिक जित निकालेको छ ।

ठूलो लक्ष्यमा इंग्ल्यान्ड सफल

इंग्ल्यान्डले भारतलाई ७ विकेटले हराउन ३ सय ७८ रनको लक्ष्य प्राप्त गरेको थियो । यसक्रममा टोलीको जित यस्तो थियो । मानौं, त्यसका लागि कुनै प्रकारको कडा मिहिनेत नै आवश्यक थिएन । यो जितका नायक एकपल्ट फेरि जो रुट र जोनी बेरिस्टो रहे ।

यो जितले इंग्ल्यान्ड र भारतबीचको ५ टेस्टको शृंखला २–२ को बराबरीमा छुट्यो । यसै कारण शृंखला घरेलु टिमको नाममा बस्यो । बाँकी विश्व क्रिकेटका लागि भने इंग्ल्यान्डले तय गरेको यो यात्रा अविश्वसनीय रह्यो । अविश्वसनीयभन्दा पनि स्तब्धपूर्ण । कप्तान बेन स्टोक्स र प्रशिक्षक ब्रेन्डन म्याकलम आएपछि त यो टिम चौथो इनिङ्समा विजय लक्ष्य पछ्याउन सबैभन्दा माहिर बनेको छ । जुन केही दिनअघिसम्म पनि असम्भव जस्तै देखिन्थ्यो ।

भर्खर जस्तो, इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको तीन टेस्ट शृंखलामा लगातार २ सय ७७, २ सय ९९ र २ सय ९६ रनको लक्ष्य चौथो इनिङ्समा सफलतापूर्वक पछ्याएको थियो । यससँगै इंग्ल्यान्ड विश्व टेस्ट च्याम्पियनसिपमा ह्वाइटवास रच्न पनि सफल रह्यो । यतिमात्र होइन, हेडिङ्लेमा अहिलेका कप्तान स्टोक्सको बहादुरीपूर्ण ३ सय ५९ रनको लक्ष्य पछ्याए पनि ओझेलमा परेको छ । त्यो नाटकीय जित थियो । तर, एजबास्टनमा त्यस्तो केही पनि भएन ।

बरु भइदियो केभन्दा स्टोक्स बार्दलीमा बसेर खेल हेरिरहे । विकेट झरेको खण्डमा ब्याटिङका लागि मैदानमा ओर्लिन । उनको पालो नै आएन । यता मैदानमा भने रुटले नटआउट रहेर १ सय ४२ रन बनाए । त्यो पनि १ सय ७३ बलमात्र सामना गरेर । अर्का नटआउट ब्याट्सम्यान बेरिस्टोले १ सय १५ बलमा १ सय १४ रन जोडे । सन् २०२१ यता रुटको यो ११ औं शतक हो भने समग्रमा २८ औं ।

अर्कोतर्फ बेरिस्टो भने आफ्नो खेलजीवनकै सबैभन्दा उच्च लयमा छन् । उनले पछिल्ला पाँच इनिङ्समा चौथो शतक बनाए । शृंखलाको यस अगाडिका चार टेस्टमा भारत २–१ ले अगाडि थियो । भारतले लर्डस र ओभलमा भएको टेस्ट जित्ने क्रममा निकै राम्रो प्रदर्शन गरेको थियो । तर, लगभग यही टिम दुई योर्कसायर ब्याटर जोडी अगाडि फितलो देखियो । पाँचौं दिन ९० मिनेटको खेलभित्र उनीहरूले १ सय १९ रन बनाए । उनीहरूको प्रदर्शन कति धेरै उत्कृष्ट रह्यो भने भारतीय बलर लगातार लाचारजस्तै रहे ।

दुवै ब्याटरले दिनको सुरआत ७० रनको छेउछाउबाट गरेका थिए । गत साता न्युजिल्यान्डविरुद्ध लिड्समा प्राप्त जितमा यी दुई खेलाडीले जस्तो प्रदर्शन गरेका थिए, एजबास्टनमा त्यसको ठीक उल्टो रह्यो । रुट यसपल्ट बढी आक्रामक रहे । उनले १ सय ३६ बलमा नै आफ्नो शतक पूरा गरे । यसक्रममा उनले केही बहादरीपूर्ण ड्राइभ पनि खेले । उनको केही प्रहार प्रतिष्ठाको ठीक विपरीत गैरपारम्परिक रहे । यो कस्तोसम्म रह्यो भने रिर्जभ स्कुपमा पनि रुटले छक्का प्रहार गरे ।

कमालका बेरिस्टो

बेरिस्टोले सन् २०२२ का आठ टेस्टमा बनाएको यो छैटौं शतक रह्यो । यस जितका क्रममा इंग्ल्यान्डको ‘बिज बल’ रणनीतिको कमाल स्पष्ट देखियो । यो रणनीति इंग्ल्यान्डका अहिलेका प्रशिक्षक म्याकलमको नाममा राखिएको छ । यो रणनीतिमा सबैभन्दा सफल ब्याटर रहे उनै बेरिस्टो । उनले जितपछि भने, ‘यो निकै उत्साहबर्द्धक जित रह्यो । पछिल्लो समय मैले जति पनि समय मिडियासँग कुराकानी गर्ने अवसर पाएको छु, त्यो सुखद नै रहेको छ ।’

उनले थपे, ‘मलाई विश्वास छ, यो क्रम जारी रहनेछ । रुटले पनि निकै राम्रो खेलिरहेका छन् । हामी दुवैले जसरी दुई दिन खेल्यौं, यो निकै खुसी दिने खालेको छ । तीन विकेट गुमाएर ३ सय ७८ रनको लक्ष्य पछ्याउनु भनेको आफैंमा ऐतिहासिक अवसर हो । हामी यो टेस्टलाई कहिले पनि भुल्ने छैनौं । यो जित पछाडि पहिलो विकेटका लागि भएको शतकीय साझेदारी पनि जिम्मेवार छ । त्यसैले ज्याक क्राउली र एलेक्स लेसलाई धन्यवाद ।’

उनी खेलका प्लेयर अफ द म्याच पनि रहे । प्लेयर अफ द सिरिज भने इंग्ल्यान्डबाट रुट र भारतबाट जसप्रित बुमराह रहे । बुमराहकै नेतृत्वमा भारतले यो टेस्ट खेलेको थियो । खेलपछि हारमा बुमराह निराश देखिए । उनले भने, ‘टेस्ट क्रिकेट कहिले पनि सजिलो हुन्न । त्यसैले हामी यसलाई माया पनि गर्छौं । तीन दिन पछाडि रहेर पनि टेस्ट क्रिकेटमा फर्कने अवसर हुन्छ । यो टेस्टमा यस्तै भयो । चौथो दिनबाट खेल हाम्रो हातबाट बाहिरियो र इंग्ल्यान्डले त्यसको भरपूर फाइदा लियो ।’

बुमराहको कीर्तिमान

कोभिड संक्रमणका कारण पछाडि धकेलिएको एजबास्टन टेस्टपछि बुमराहले भारतका लागि नयाँ कीर्तिमान पनि बनाएका छन् । उनी इंग्ल्यान्ड भ्रमणमा जाने भारतीय टिमका लागि एक शृंखलामा सबैभन्दा बढी विकेट लिने बलर भएका छन् । उनले इंग्ल्यान्डको पहिलो इनिङ्समा तीन विकेट लिए र सन् २०१४ मा भुवनेश्वर कुमारले लिएको १९ विकेटको प्रदर्शनलाई उछिने । उनले दोस्रो इनिङ्समा थप दुई विकेट लिए र शृंखलामा लिएको विकेट संख्या २३ पुर्‍याए ।

बुमराहकै नेतृत्वमा खेलेको यस टेस्टमा भारतको पक्षमा जित भने रहेन । उनको इंग्लिस समकक्षी स्टोक्सले शृंखला जितलाई ऐतिहासिक माने । स्टोक्सले भने, ‘जतिबेला एक टिमका रूपमा लक्ष्य स्पष्ट हुन्छ, त्यतिबेला धेरै कुरामा सजिलो हुन्छ । कसरी खेल्ने हो, त्यो प्रस्ट हुन्छ । यस टेस्टमा हामी जितका लागि जस्तै लक्ष्य पनि पछ्याउने क्रममा थियौं, त्यसैले त्यही मानसिकताले खेल्यौं । यो जित आफैंमा अद्वितीय छ । टेस्ट क्रिकेट कसरी परिवर्तन भइरहेको छ, त्यो सबैले बुझ्ने छन् ।’

प्रकाशित : असार २२, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?