कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्याडमिन्टन कभर्डहललाई राष्ट्रपतिले पहल गर्ने

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याडमिन्न दिवस (जुलाई ५) को अवसरमा शुभकामना दिँदै ब्याडमिन्टनको कभर्डहल निर्माणमा पहल गर्ने बताएकी छन् । नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र काठमाडौं ब्याडमिन्टन एकेडेमीका पदाधिकारी तथा एकडेमीका खेलाडीहरूसँग राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा भण्डारीले भनिन्, ‘ब्याडमन्टिन पुरानो र लोकप्रिय खेल हो ।

ब्याडमिन्टन कभर्डहललाई राष्ट्रपतिले पहल गर्ने

यसको विकासका लागि पूर्वाधारमा ध्यान दिनुपर्छ । ब्याडमिन्टनको कभर्डहल निर्माण गर्न तपाईंहरू जग्गा पत्ता लगाउनुहोस्, त्यसमा मैले सक्ने र सम्बन्धित मन्त्रालय, विभाग र निकायमा पहल गर्ने काम गर्नेछु ।’

राष्ट्रपतिलाई एकेडेमीका अध्यक्ष एवं पूर्वराष्ट्रिय खेलाडी रीता विष्टले मायाको चिनो, प्रशिक्षक शान्ति मानन्धरल पुष्पगुच्छा र संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले र्‍याकेट प्रदान गरे । त्यसपछि एकेडेमीका बालबालिकासँग र्‍याकेट उचाल्दै तस्बिर खिचाएकी राष्ट्रपति भण्डारीले भनिन्, ‘ब्याडमिन्टन दिवसको अवसरमा पुराना खेलाडीहरू भेट्न पाउनु खुसीको कुरा हो । साना खेलाडीसँग पनि भेट्न पाउँदा खुसी लागेको छ । तपाईंहरू भविष्यका तारा हुनुहुन्छ । तपाईंहरूले नै भविष्यमा सफलता हासिल गर्दै अन्तर्राष्ट्रियजगतमा नेपालको नाम फैलाउनुहुनेछ, नेपालीको शीर उँचो पार्नुहुनेछ ।’ उनले बालबालिकासँग अन्तरक्रिया गरेकी थिइन् ।

भेटमा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष एवं एकेडेमीका सचिव दीपक थापाले भने, ‘नेपालमा २००४ सालबाटै ब्याडमिन्टनको प्रतियोगिता सुरु भएको थियो । दोस्रो पुरानो संघको रुपमा राष्ट्रिय खेलकुद परिषदमा २००८ सालमा दर्ता भएको थियो । हाम्रो देशमा यत्तिका पुरानो र लोकप्रिय खेल ब्याडमिन्टनको विकासमा निरन्तर लागिरहेका छौं । उत्कृष्ट खेलाडी उत्पादनको लागि पूर्वाधार र व्यवस्थित एकेडेमीहरू आवश्यक छ ।’

विश्व ब्याडमिन्टन महासंघ (बीडब्लूएफ) ले यसपालि विश्व ब्याडमिन्टन दिवस जुलाई ५ मा मनाउने घोषणा गरेको थियो । त्यसैले यो नै पहिलो विश्व ब्याडमिन्टन दिवस हो । बीडब्लूएफका निर्णायक (लाइन जज) समेत रहेका थापाका अनुसार बीडब्लूएफmका १ सय ९८ सदस्य देशमा विश्व ब्याडमिन्टन दिवस मनाइएको छ ।


प्रकाशित : असार २१, २०७९ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?