दिलीप प्रतिष्ठान च्याम्पियन- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिलीप प्रतिष्ठान च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — दिलीप स्मृति प्रतिष्ठान प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा आइतबार ६ स्वर्ण र ३ रजत पदक जित्दै टिम च्याम्पियन बनेको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा ३ स्वर्ण, १ रजत र १ कांस्यसहित कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो भयो । तेस्रो स्थानको मूलपानी तेक्वान्दो डोजाङले २ स्वर्ण, ३ रजत र २ कांस्य हात पार्‍यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाॅ पुरस्कार प्राप्त गरे ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्पन्न प्रतियोगिताको पुरुषमा कोटेश्वरका सागर घिमिरे र महिलामा प्रतिष्ठानकी भवानी बुढाथोकी उत्कृष्ट खेलाडी चुनिए । दुवैले जनही ५ हजार पुरस्कार पाए । पुरुष/महिलाका ८–८ विधामा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक मनोज खड्गीले जनाएका छन् ।

प्रकाशित : असार २०, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्

एसियाली पदक जितेको त्यो दिन

विनोद भण्डारी

विराटनगर — बिर्तामोडकी सीता राईलाई २८ वर्षअघि जापानको हिरोसिमामा जीवनकै सबैभन्दा बढी खुसी र उत्साह हात लागेको थियो । उनले मुलुकलाई पहिलो एसियाली पदक दिलाएकी थिइन् । ‘आफ्नो जितसँगै मुलुकमा खेलकुदले छलाङ मार्ला भन्ने सोचेको थिएँ तर देशको खेलकुद झन् अधोगति गतिमा छ,’ पूर्व कराते खेलाडी सीताले त्यो दिन स्मरण गर्दै भनिन्, ‘अहिलेको खेलकुद गतिविधि हेर्दा ऊबेलाको त्यो खुसी बिर्सिन थालेको छु ।’

बाह्रौं एसियाली खेलकुदमा कांस्य पदक जितेकी सीता राई सम्मान थाप्दै।

सन् १९९४ मा हिरोसिमामा भएको १२ औं एसियाली खेलकुदमा सीताले सितोरियो करातेको विधाबाट दिलाएको कांस्य पदक करातेमा मुलुककै पहिलो अन्तर्राष्ट्रिय पदक थियो । ‘त्यतिबेला १९ वर्षको थिएँ, अहिले ४५ वर्ष पुगेँ,’ उनले भनिन्, ‘मेरो उमेरमात्र बढ्यो मुलुकको खेलकुद बढ्दै बढेन । उतिबेला देशको खेलकुद जहाँ थियो, अहिले त्योभन्दा तल झरेको देख्दा दुःख लागेर आउँछ ।’

कुमिते ६० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी सीताले बाइ पाएर सिधैं क्वाटरफाइनलमा सिंगापुरकी प्रतिद्वन्द्वीसँग भिडेकी थिइन् । ‘सिंगापुरलाई १–० अंकले हराएर सेमिफाइनल पुगेँ,’ उनले सुनाइन्, ‘सेमिफाइनलमा जापानी हिरोमी हिरोसीसँग ६–० अंकको नमीठो हार स्विकार्दै मुलुकका लागि कांस्य पदकमा चित्त बुझाएकी थिएँ ।’ त्यही प्रतियोगितामा सीतापछि तेक्वान्दोमा मानबहादुर शाहीले पनि नेपालका लागि कांस्य पदक जितेका थिए । ‘मुलुकलाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएको त्यो दिन र तत्कालीन राजा वीरेन्द्रको हातबाट पुरस्कार थापेको दिन मेरो जीवनको सबैभन्दा अविस्मरणीय क्षण हो,’ सीताले आइतबार विराटनगरमा कान्तिपुरसँग भनिन्, ‘त्यस्तो क्षण फेरि मेरो जीवनमा आउला न आउला ।’ तत्कालीन सरकारले एसियाली खेलकुदमा स्वर्ण जित्नेलाई ३ लाख, रजत जित्नेलाई २ लाख र कांस्य जित्नेलाई १ लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरेको थियो । सीताले त्यो पुरस्कार राजा वीरेन्द्रको हातबाट थापेकी थिइन् ।

आफूले कांस्य पदक जितेपछि राज्यले गरेको सम्मानप्रति सीता खुसी छिन् । आइतबार पनि प्रदेश १ खेलकुद विकास बोर्डले ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी भएर खेलकुद इतिहासको गरिमा बोकेका प्रदेशका खेलाडीलाई सम्मान गर्दा सीता निकै उत्साहित देखिन्थिन् । उनी भन्दै थिइन्, ‘लामो समयपछि राज्यले फेरि एक पटक सम्झियो, पुराना साथीसँगीसँग भेट गर्ने अवसर जुराएकोमा खुसी लाग्यो ।’ उनीसँगै प्रदेशका सयभन्दा बढी अन्तर्राष्ट्रिय खेलाडीलाई बोर्डले सम्मान गरेको हो ।

‘जोसुकै खेलाडी पनि सम्मानको भोको हुन्छ तर राज्यले खेलाडीलाई सम्मान मात्र दिएर पुग्दैन, उसको जीविकोपार्जनको व्यवस्था गर्ने दायित्व पनि राज्यकै हो,’ करातेकी पदकधारी सीताले भनिन्, ‘भोको पेटमा कुनै पनि खेलाडीले देशका लागि खेल्न सक्दैन, खेलाडी गाँस रबासको पिरलोमा छन् ।’

राज्यले दीर्घकालीन सहयोग नगर्दा अधिकांश खेलाडी विदेशिनुपरेको उनको गुनासो छ । एसियाली पदक जितेपछि सीतालाई राज्यले रोजगार नदिएको होइन, २०५२ सालमा सरकारले उनलाई करारमा करातेको सहायक प्रशिक्षकमा नियुक्ति दिएको थियो । बिर्तामोड माइती र अर्जुनधारा–११ घर भएकी उनले भनिन्, ‘म अझै करार सेवामै कार्यरत छु, न स्थायी भएको छु, न त मेरो बढुवा नै भएको छ ।’ सीता गोर्खा दक्षिणबाहु त्रिशक्तिपट्टबाट २०५२ सालमा सम्मानित भइसकेकी खेलाडी हुन् ।

प्रकाशित : असार २०, २०७९ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×