कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरटीलाई सिक्ने मौका

काठमाडौँ — नेपालका फुटबल क्लबहरू मुस्किलले लिग खेल्ने खर्चको जोहो गर्छन् । त्यसैले आफ्नै खर्चमा देशबाहिर, विशेषगरी छिमेकी मुलुक भारतभन्दा टाढा गएर कुनै प्रतियोगिता खेल्ने हिम्मत नेपाली क्लबहरूले गर्दैनन् । यस्तो परम्परा तोडेर यसपालि मलेसिया पुगेको न्युरोड टिम (एनआरटी) ले दुवै खेल हार्‍यो, जसलाई क्लबले सिक्ने अवसरको रूपमा लिएको छ ।

एनआरटीलाई सिक्ने मौका

टीवाईटी कप २०२२ को पहिलो खेलमा बिहीबार इन्डोनेसियाको दोस्रो श्रेणीको क्लब कारो युनाइटेडविरुद्ध ५–१ ले हारेको एनआरटी तीन क्लबको प्रतियोगितामा शनिबार मलेसियन सुपर लिग टिम पेनाङ एफसीसँग ५–० ले पराजित भयो । यससँगै एनआरटीको मलेसिया यात्रा सकिएको छ । कारो र पेनाङले १–१ को बराबरी खेलेको थियो । त्यसैले राउन्ड रोबिन लिगको आधारमा भएको प्रतियोगितामा अंक बराबरी (४–४) भएपछि गोल अन्तरका आधारमा पेनाङ टीवाईटी कप च्याम्पियन भयो ।

अफ्रिकी चार, भारतीय एकसहित २१ खेलाडी लिएर मलेसिया पुगेको एनआरटीको उपलब्धि मेसुके ओलोमोउले कारोविरुद्ध गरेको गोल नै देखियो । प्रदर्शन कस्तो भयो ? प्रशिक्षक जीवन सिन्केमानले भने, ‘कारो र पेनाङ हाम्रोभन्दा धेरै राम्रा टिम हुन् । तर, यत्तिको फरक (गोल अन्तर) होला जस्तो लागेको थिएन । स्कोरलाइन नाजुक नै रह्यो । प्रदर्शन भने दुवै खेलमा नतिजाजस्तो खराब थिएन । हामीले दुवैमा बल पोसेसन राखेरै खेलेका थियौं । गोलका अवसर सिर्जना गरेका थियौं । तर, उपयोग गर्न सकेनौं ।’

पेनाङविरुद्धको खेलबारे उनले भने, ‘मेसुकेले छैटौं मिनेटमै पाएको अवसरमा खाली पोस्टमा गोल गन सकेनन्, बल बाहिर हाने । ४२–४३ मिनेटसम्म हामले खेलमा वर्चस्व राखेका थियौं । तर, पहिलो हाफको अन्त्यतिर दुई गोल खाएपछि गाह्रो भयो । सम्हालिन सकेनौं ।’ उक्त खेलमा ल्युकास सिल्भाले चार गोल गरे भने टी साराभाननको नाममा एक गोल रह्यो ।

मलेसिया यात्राका लागि एनआरटीले दुई साता तयारी गरेको थियो । तर, अन्तिम चार दिनको प्रशिक्षणमा मात्रै पूरा टिम सहभागी थियो । ‘तयारीमै कमजोरी देखियो । तयारी निकै छोटो भयो । टिममा गत वर्षका आधा खेलाडी थिए भने आधा नयाँ खेलाडी थिए । तैपनि टिमको संयोजन नमिल्ने भएन,’ प्रशिक्षक सिन्केमानले भने, ‘प्रतिस्पर्धी टिम हामीभन्दा माथिल्लो स्तर र सेट टिम थिए । पाएका अवसर उपयोग गर्न नसक्नु पनि हाम्रो कमजोरी रह्यो ।’

१२ वर्षअघि ढाकामा एएफसी प्रेसिडेन्ट कप खेल्दा सिन्केमान एनआरटीका मिडफिल्डर थिए । त्यसयता पहिलोपल्ट एनआरटी विदेश (भारतभन्दा टाढा) पुग्दा प्रशिक्षक भएका उनले भने, ‘पहिला प्रेसिडेन्ट कप खेले पनि यस्तो (टीवाईटी कप) खालको प्रतियोगितामा पहिलोपल्ट सहभागी भएको हो । नतिजा सोचेभन्दा धेरै फरक भयो । तर, सिक्ने अनुभव पाइयो । यसरी खेल्नु राम्रो हो तर त्यसका लागि राम्रो तयारी गर्नुपर्छ भन्ने भएको छ ।’

कप्तान रन्जित धिमालले भने, ‘सिक्नलाई आएका हौं, धेरै सिकियो । हामीभन्दा उनीहरू (कारो र पेनाङ) धेरै माथिल्लो स्तरका टिम हुन् । उनीहरूले त्यो स्तर देखाए पनि । यो स्तरमा प्रतिस्पर्धा गर्न हाम्रोजस्तो छोटो तयारीले गाह्रो रहेछ । फिटनेसमा पनि हामी कमजोर नै देखियो । यस्ता कुराई अर्कोपल्ट सच्याउनुपर्छ ।’ उनले गत सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेका थिए । उनीसहित मिडफिल्डर विशाल राई र डिफेन्डर छिरिङ गुरुङ मछिन्द्रबाट मलेसिया–थाइल्यान्ड भ्रमणका लागि एनआरटीमा पुगेका हुन् ।

एनआरटी आइतबार थाइल्यन्ड जानेछ, जहाँ उसले मैत्रीपूर्ण तीन खेल खेल्नेछ । एनआरटीले कासेम मान्डिट (जुलाई ७), चोनबुरी एफसी (जुलाई १०) र थोनबुरी एफसी (जुलाई १३) मा प्रतिस्पर्धा गर्नेछ । थाई फुटबल लिगमा चोनबुरी शीर्ष डिभिजनका क्लब हो भने कासेम र थोनबुरी तेस्रो श्रेणीका टिम हुन् ।

प्रकाशित : असार १९, २०७९ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?