सुवास नेम्वाङ भन्छन् : यस पटक अर्जेन्टिनाले विश्वकप जित्छ- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुवास नेम्वाङ भन्छन् : यस पटक अर्जेन्टिनाले विश्वकप जित्छ

कान्तिपुर संवाददाता

काठमाडौँ — यही नोभेम्बर २१ देखि कतारमा सुरु हुने विश्वकप फुटबलका लागि आयोजकले १८ लाख टिकट बिक्री गरिसकेको छ । फिफाका अनुसार मंगलबारदेखि अर्को चरणको टिकट बिक्री हुने भएको छ ।

आयोजक राष्ट्र कतार र खाडी मुलुकका दर्शकका लागि भने विशेष दर्जाको टिकट उपलब्ध हुनेछ । २८ दिनसम्म चल्ने उक्त प्रतियोगितामा ३० लाख टिकट बिक्री हुने अपेक्षा गरिएको छ । विश्वकप खेल्ने ३२ टिमको टुंगोसमेत लागिसकेको छ ।

यसैबीच कतार विश्वकपलाई लिएर विभिन्न अड्कलबाजी हुन थालेका छन् । यसैबीच शुक्रबार एक कार्यक्रममा एमाले संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले यस पटक अर्जेन्टिनाले विश्वकप उपाधि जित्ने बताएका छन् । कुनै जमानामा आफै फुटबल खेलाडीसमेत रहेका नेम्वाङले कतारमा हुने विश्वकपको उपाधि लियोनल मेसीको टिम अर्जेन्टिनाले जित्ने बताएका हुन् ।

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकप उपाधि जितेको छ । क्लब फुटबलमा निकै सफल भएका मेसीले अर्जेन्टिनालाई भने विश्वकपमा उपाधि दिलाउन सकेका छैनन् । सन् १९३०, १९९० र २०१४ मा भने अर्जेन्टिना फाइनल पुगेको थियो । सन् २०१४ मा मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना फाइनलमा जर्मनीसँग १-० ले स्तब्ध भएको थियो ।

शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवस कार्यक्रममा फुटबल प्रतियोगिताको पुरस्कार आफ्नो रुचिअनुसार आफैलाई बाँड्न दिएको हो कि भन्दै नेम्वाङले ठट्टासमेत गरेका थिए । इलाम बहुमुखी क्याम्पसलगायतका विभिन्न टिममा रहेर उनले कप्तानी भूमिकासमेत निर्वाह गरेका थिए ।

अर्जेन्टिना र मेसी पहिलो रोजाइमा परे पनि क्रिस्टियानो रोनाल्डोसमेत उनलाई मन पर्ने खेलाडी हुन् । अहिले पनि उनले विभिन्न विदेशी लिगहरू हेर्ने गर्छन् । उनले भने, 'अहिले पनि राति १२/१ बजेतिर उठेर फुटबल हेर्छु । इंग्लिस प्रिमियर लिग, लालिगा...। आजकल मलाई साह्रै मन पर्ने खेलाडी पीएसजी पुगेको हुनाले बार्सिलोना हेर्न छाडेको छु । अर्जेन्टिना र पीएसजीको फुटबल हेर्छु । कतिबेला आउँछ यहाँहरूलाई थाहै छ ।'

त्यस्तै ४ महिनापछि हुने कतार विश्वकपमा अर्जेन्टिनाले बाजी मार्ने उल्लेख गर्दै उनी भन्छन्, 'यो तालि अर्जेन्टिना, मेस्सीले विश्व फुटबल जित्छन् भन्ने लाग्छ । त्यसैले कतारमा ४ महिनापछि हुने विश्वकप फुटबल तपाईं हामी आ-आफ्नो घरमा बसेर होस् वा सकिएछ भने कतार पुगेर हेरौँला ।'

प्रकाशित : असार १७, २०७९ १९:००
प्रतिक्रिया
पठाउनुहोस्

अब परिवर्तनकै लागि कुनै आन्दोलन आवश्यक छैन : नेम्वाङ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालमा अब परिवर्तनकै लागि कुनै आन्दोलन गर्न आवश्यक नरहेको बताएका छन् । उनले परिवर्तन चाहनेहरूले जनताको मन जितेर सहजैरुपमा मुलुकमा जुनसुकै खालको परिवर्तन पनि ल्याउन सक्ने बताए ।

नेपाल ल क्याम्पसको स्थापना दिवस समारोहमा बोल्दै नेम्वाङले नयाँ संविधान जारी भएपछि जनता सबैभन्दा शक्तिशाली भएको र जनताले चाहे संसद्‌बाटै जस्तोसुकै खालको परिवर्तन ल्याउन सक्ने बताए । उनले नेपालमा अब पहिलेको जस्तो पाँच–सात वर्षमै व्यवस्था परिवर्तन हुन्छ, अस्थिरता छ भनेर भन्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

‘अब कसैले पनि परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन । जो परिवर्तन चाहनुहुन्छ, जनताको मन जित्नुस्, जनताको आशीर्वाद लिनुस् । संसदमा पुगेर संविधान संशोधन गरेर जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ,’ नेम्वाङले अघि भने, ‘अब व्यक्ति मन पर्दैन, व्यक्ति फेर्नुस् । पार्टी मन पर्दैन भने नयाँ पार्टी खोल्नुस् । तर व्यवस्था परिवर्तनका लागि, संविधान फेर्नका लागि कसैले पनि आन्दोलन गर्नुपर्दैन । संविधानले सहजै परिवर्तन गर्न सक्ने अधिकार दिएको छ । संविधानले जनतालाई सर्वशक्तिशाली बनाएको छ ।’

उनले नेपालको संविधान जारी भएको छ वर्षमै सर्वस्वीकार्य भएको बताए । ‘भारतले बनाएको संविधान सर्वस्वीकार्य हुन दश वर्ष लागेको थियो । दक्षिण भारतले संविधान बनेको दश वर्षपछि मात्रै संविधान स्वीकार गरेको थियो, तर हामी कहाँ छ वर्षमै संविधान सर्वस्वीकार्य भइसकेको छ,’ उनले भने ।

उनले अहिलेको संविधान जनताको चाहना बमोजिमको संविधान भएकाले पनि यसको कार्यान्वयन महत्त्वपूर्ण रहेको बताए । ‘यो संविधान पहिलो पटक जनता कानुनको स्रोत भएर बनाइएको संविधान हो । पहिले पहिले पाँच–दश वर्षमा व्यवस्था परिवर्तन हुन्छ भनेर भनिन्थ्यो । अब त्यस्तो अपेक्षा नगरे हुन्छ । नेपालमा अब त्यस्तो हुनेवाला छैन, किनकि यो नेपाली जनताको चाहना बमोजिम बनेको संविधान हो,’ उनले भने ।

प्रकाशित : असार १७, २०७९ १८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×