कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ई–स्पोर्ट्स च्याम्पियनसिपमा पाँच स्पर्धा

काठमाडौँ — नेपाल ई–स्पोर्ट्स एसोसिएसन (नेसा) ले पाँच खेल समावेश गर्दै ‘नेपाल ई–स्पोर्ट्स च्याम्पियनसिप’को तेस्रो संस्करण असार २३ देखि २३ गतेसम्म आयोजना गर्ने भएको छ । कोभिड–१९ महामारीका कारण तीन वर्षयता पहिलोपल्ट गर्न लागिएको च्याम्पियनसिपका विजेताले विश्व च्याम्पियनसिप छनोट खेल्नेछन् ।

ई–स्पोर्ट्स च्याम्पियनसिपमा पाँच स्पर्धा

नेसाका अध्यक्ष सुरज डंगोलले भने, ‘तेस्रो नेपाल ई–स्पोर्ट्स च्याम्पियनसिपलाई १४ औं वल्र्ड ई–स्पोर्ट्स च्याम्पियनसिपको छनोट पनि हो । नेपाल च्याम्पियन हुनेले क्षेत्रीय (दक्षिण एसियाली) छनोटमा देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । क्षेत्रीय छनोट विजेताले वल्र्ड च्याम्पियनसिप खेल्नेछन् ।’ इन्टरनेसनल ई–स्पोर्ट्स फेडेरेसन (आईईएसएफ) ले १४ औं वल्र्ड च्याम्पियनसिप इन्डोनेसियाको बालीमा नोभेम्बर २७ देखि डिसेम्बर ९ सम्म आयोजना गर्दै छ ।

पछिल्लो विश्व च्याम्पियनसिपमा नेपाली खेलाडीले क्षेत्रीय छनोट पार गरेर डोटा २ मा प्रतिस्पर्धा गरेको थियो । यसपालि राष्ट्रिय प्रतियोगितामा डोटा २ सहित काउन्टर स्ट्राइक ग्लोबल अफेन्सिभ (सीएसगो), मोबाइल लिजेन्ड्स ब्याङ ब्याङ (एमएलबीबी), पब्जी मोबाइल, टेकन ७ लाई समावेश गरिएको छ । युवामा निकै लोकप्रिय भएको पब्जी मोबाइलले पहिलोपल्ट नेसाको राष्ट्रिय प्रतियोगितामा प्रवेश पाएको हो । पब्जीसहित यी पा“चै खेलको विजेता विश्व च्याम्पियनसिपका लागि क्षेत्रीय छनोटमा पुग्नेछन् । क्षेत्रीय छनोटमा नेपाली खेलाडीले भारत, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र बंगलादेशका टिमस“ग प्रतिस्पर्धा गर्नेछन् ।

बुधबार पत्रकार सम्मेलन नेपाल ई–स्पोर्ट्स च्याम्पियनसिपमा समावेश ५ खेलका उत्कृष्ट ५ खेलाडीलाई प्राइम कलेजले स्नातक तहमा पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ । प्राइम कलेजका प्रिन्सिपल एनपी शर्माले भने, ‘अचेल विद्यार्थीहरूमा ई–स्पोर्ट्स निकै लोकप्रिय भइरहेको छ । खेल शिक्षा प्रदान गर्ने माध्यम पनि हो । त्यसैले च्याम्पियनसिपका उत्कृष्ट ५ खेलाडीलाई हाम्रो कलेजमा ब्याचलर तहमा रहेका कुनै पनि कोर्समा पूर्ण छात्रवृत्ति दिनेछौं । नियमित उत्तीर्ण भएसम्म छात्रवृत्ति कायम रहने छ ।’

एसियाली ओलम्पिक परिषद् (ओसीए) ले एसियाली खेलकुदमा औपचारिक रूपमा पहिलोपल्ट ई–स्पोर्ट्सलाई समावेश गरेको छ । एसियाड २०२२ मा ई–स्पोर्ट्सका आठ स्पर्धा राखिएको छ । त्यसमध्ये नेसाले डोटा २, फिफा, हर्थस्टोन, एरिना अफ भेलोर (एओभी), ड्रिम थ्री किङडोम र पब्जी मोबाइलको छनोट दुई महिनाअघि नै सम्पन्न गरिसकेको छ । चीनको हाङझाउमा सेप्टेम्बर, २०२२ मा आयोजना गर्ने निश्चित भएको एसियाली खेलकुद महामारीको कारण स्थगित गरिएको छ । ओसीएले आयोजनाको नया“ मिति तोकेको छैन ।

प्रकाशित : असार १५, २०७९ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?