३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

इंग्ल्यान्डको नयाँ क्रिकेट अध्याय

लन्डन — जम्माजम्मी तीन सातामा बेन स्टोक्सले त्यो उपलब्धि आत्मसात् गरेका छन् । जुन जो रुट र क्रिस सिल्भरउडले तीन वर्षमा पनि हात पारेका थिएनन् । स्टोक्सले इंग्लिस क्रिकेटका लागि टेस्ट नयाँ परिचय थपिदिएका छन् । यो वास्तवमै फरक छ ।

इंग्ल्यान्डको नयाँ क्रिकेट अध्याय

सायद अहिलेसम्म कोही पनि कप्तानले यति समयमा यति धेरै आफूलाई स्थापित गर्न सके । उनले इंग्ल्यान्डको खेल्ने शैलीमै परिवर्तन ल्याए । यसलाई क्रान्तिकै नाम दिँदा पनि केही फरक पर्दैन ।

तेस्रो तथा अन्तिम टेस्टमा इंग्ल्यान्ड ७ विकेटले विजय भएको औपचारिकता पूरा भएपछि विश्व च्याम्पियन न्युजिल्यान्डमाथि उनको ह्वाइटवास पनि सम्भव भयो । सन् २०११ यता इंग्ल्यान्डले दुई वा त्यो भन्दा बढीको टेस्ट शृंखलामा यस्तो एकपक्षीय जित निकालेको यो पहिलोपल्ट हो । यो सफलताको श्रेय स्टोक्सले इंग्ल्यान्डकै एकदिवसीय कप्तान इयोन मोर्गनलाई दिन चाहे, जसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।

मोर्गनले एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डका लागि यस्तै क्रान्ति रचेका थिए । त्यो न्युजिल्यान्डविरुद्ध नै थियो । स्टोक्स मान्छन्, एकदिवसीय टिमका लागि मोर्गनले जे जस्तो गरे आफूले पनि टेस्ट क्रिकेटमा त्यसलाई पछ्याए । टेस्ट क्रिकेट मनपराउने र त्यसमा आफूलाई सिद्ध गर्न खोज्ने इंग्लिस खेलाडीका लागि अब सबथोक स्पष्ट भएको छ, त्यो भनेको आफ्नो काम र जिम्मेवारी । अझ ठ्याक्कैभन्दा ब्याटर हो भने सकारात्मक रहने र रन बटुल्ने ।

बलर हो भने आक्रामक पारामा खेल्ने । खासमा यो अस्ट्रेलियाली पाराको क्रिकेट हो, जसलाई न्युजिल्यान्डमा जन्मेका स्टोक्स र ब्रेन्डन म्याकलमले इंग्लिस क्रिकेटमा पनि भित्र्याए । प्रशिक्षक म्याकलमले इंग्लिस क्रिकेट टिमको जिम्मेवारी सम्हालेको पनि धेरै भएको छैन खाली २५ दिन । अचेल कप्तान स्टोक्स र प्रशिक्षक म्याकलमबीच खुबै कुरा मिल्छ । उनीहरूबीच विचार मिलेको देखिन्छ, किनभने दुवै धेरै बोल्न खालका होइनन् ।

तर, स्टोक्स र म्याकलमले ठीक समयमा ठीक बोलेका छन् । जसलाई सबै खेलाडीले बुझेका छन् । परिस्थितिले पनि इंग्लिस क्रिकेटलाई अहिले मदत गरेको छ । सबै तीनै टेस्टका लागि प्रयोग भएका पिच ‘फ्लाट’ रहे । त्यसैले पूरा शृंखलामा १५ ड्युक बल प्रयोगमा आयो । विश्व टेस्ट च्याम्पियनसिपपछि न्युजिल्यान्ड त्यस्तो टिम रह्यो, जसले आफ्नो दिशा गुमायो । त्यही समय इंग्ल्यान्डले लय समातेको छ । सायद न्युजिल्यान्डलाई आफ्ना खेलाडीप्रति विश्वास कम हुन थालेको छ ।

त्यसैले त जहाँ इंग्ल्यान्डले आफ्नो स्पिनरमाथि पूर्ण विश्वास देखायो, त्यहीं न्युजिल्यान्ड कप्तान केन विलियम्सनले एजाज पटेललाई खेलाएनन् । लर्डसमा भएको खेलमा स्टोक्सले उनीमाथि निर्ममतापूर्वक रन बटुलेका थिए । उनको स्थानमा आए माइकल ब्रेसवेल । उनी पनि उत्तिकै महँगा साबित भए । प्रत्येक ओभरमा ६ को हाराहारीमा रन दिए । पिचले बलरलाई मदत गरिरहेको नभए पनि इंग्ल्यान्डले शृंखलामा ६० विकेट लियो । त्यहीं ब्याटिङ पनि उत्तिकै आक्रामक रह्यो ।

तीन टेस्टमा इंग्ल्यान्डले प्रतिओभर ४.५४ को औसतले रन बनाएको थियो । सन् २००५ यता घरेलु मैदानमा इंग्ल्यान्डको यो प्रदर्शन अहिलेसम्मकै उच्च हो । इंग्ल्यान्डको यस्तो सबै प्रदर्शन न्युजिल्यान्डले पहिले ब्याटिङ गरेपछि हो । इंग्ल्यान्डले पहिलो ब्याटिङ गर्छ भने उसको प्रदर्शन कस्तो हुनेछ, त्यो हेर्न लायक रहनेछ । विश्वास गर्न सकिन्छ, यो आक्रामक शैली हराउने छैन । अर्को साता इंग्ल्यान्डले भारतको सामना गर्नेछ र यो भारतीय टिम न्युजिल्यान्डभन्दा पक्कै केही सुदृढ देखिन्छ ।

लगातार तीन टेस्टको चौथो इनिङ्समा २ सय ५० रनभन्दा माथिको स्कोर सफलतापूर्वक पछ्याउने काम हुन्छ भने इंग्ल्यान्डको प्रदर्शनलाई भाग्यले साथ दिएको मात्र पक्कै भन्न मिल्दैन । यस्तो खेल्ने सोचका लागि केही हदसम्म मोर्गनलाई धन्यवाद दिर्नैपर्छ । मार्चतिर वेस्ट इन्डिजविरुद्ध निकै खराब खेलेका खेलाडी नै अहिलेको इंग्लिस टिममा छन् । यस्तोमा यो प्रदर्शनको परिवर्तनको खास श्रेय स्टोक्स र म्याकलमलाई नै दिनुपर्छ ।

पूरा शृंखलामा त्यस्तो मोड प्रत्येक खेलमा आयो, जतिबेला न्युजिल्यान्डले प्रतिस्पर्धामाथि आफ्नो पूर्ण पकड राख्न सक्थ्यो । तर, पाहुना टिम प्रत्येकपल्ट चुकेको थियो । पूरा शृंखलामा खास त्यस्ता मोड धेरै छन्, जसले देखाउँछ यसमा इंग्ल्यान्डले वास्तवमै धेरै सुदृढ खेल प्रदर्शन गरेको छ । अन्त्यमा म्याकलमले ठीकै भनेका छन्, ‘म त्यस्तो प्रशिक्षक होइन, जसले खेलाडीलाई कसरी खेल्ने भनेर सिकाउने गर्छ । म रणनीतिमात्र तय गर्ने गर्छु ।’

इंग्ल्यान्डको यो शृंखला जितले सम्भवतः घरेलु काउन्टी क्रिकेटका लागि पनि सकारात्मक सन्देश हुनसक्छ । कप्तान स्टोक्सले भनेका छन्, अहिले इंग्ल्यान्डले अहिले जसरी खेलेको छ, त्यसरी खेल्न रूचाउनका लागि इंग्लिस टेस्ट टिमको ढोका खुला छ । उनी भन्छन्, ‘अब हामी त्यसरी खेल्नेछौं, जसको उद्देश्य तथ्यांकका लागि हुने छैन । कोही कसैले कसरी खेल्छ, त्यो नै महत्त्वपूर्ण हुनेछ ।’ इंग्ल्यान्डले लेखेको नयाँ क्रिकेट अध्याय यही त हो, जुन वास्तमवै रोचक छ ।

प्रकाशित : असार १५, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?