कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरटीलाई मलेसियाका लागि बिदाइ

काठमाडौँ — सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी) प्रि–सिजन टुर खेलका लागि सोमबार मलेसिया प्रस्थान गर्दैछ ।

प्रि–सिजन टुरका लागि मलेसिया र थाइल्याण्ड जाने एनआरटीको टोलीलाई सोमबार बिदाइ गरिएको छ । एनआरटीले सोमबार एक कार्यक्रमको आयोजना गरेर मलेसिया र थाइल्याण्ड जाने ३० सदस्यीय टोलीलाई बिदाइ गरेको हो ।

क्लबका अध्यक्ष सुन्दरनरसिंह जोशी, पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठ लगायत क्लबका पदाधिकारीले टोलीलाई बिदाइ गरेका थिए ।

एनआरटीको टोली सोमबार राति ८ बजे मलेसिया प्रस्थान गर्नेछ । एनआरटीले मलेसियाको पेनाङमा आयोजनामा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्नेछ । जसमा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको लिग–२ क्लब कारो एफसीसँग प्रतिष्पर्धा गर्नेछ । एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाइमा पेनाङ एफसीसँग प्रतिष्पर्धा गर्नेछ ।

लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुंगो लाग्नेछ । प्रतियोगिता पेनाङका सहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको हो । प्रतियोगिता २८ जुनदेखि २ जुलाइसम्म हुनेछ । २० हजार दर्शक क्षमता भएको पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ ।

उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । यस्तै एनआरटीले थाइल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । जसमध्ये एक खेल थाइ लिग वान क्लब चोनबुरी एफसीसँग खेल्ने छ । एनआरटीको टोली मलेसियाबाटै थाइल्याण्ड जाने तालिका रहेको छ । टुरका लागि मिडफिल्डर विशाल

राई, डिफेन्डर रन्जित धिमाल, डिफेन्डर छिरिङ गुरुङ, मिडफिल्डर गौरव श्रेष्ठ र रुमेश बर्तौलालाई समेत अनुबन्ध गरेको छ । त्यस्तै एनआरटीले मिडफिल्डर सुवास गुरुङ, मिडफिल्डर निकालोस फर्नान्डेज, सन्जोक राई र क्यामरुनका गोलकिपर टोलो ल्यान्ड्रीलाई समेत अनुबन्ध गरेको छ ।

प्रकाशित : असार १३, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?