कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करोडौंको खेलमैदानमा गतिविधि शून्य

डम्बरसिं राई

खोटाङ — खेलमैदान निर्माणमा करोडौं खर्च गरे पनि प्रयोग भएको छैन । खोटाङका प्रायः सबै पालिकामा खेलमैदान बनाइए पनि खेलकुद गतिविधि भने शून्य छ ।

करोडौंको खेलमैदानमा गतिविधि शून्य

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको राजाबासस्थित यलम्बर रंगशाला नामले आव २०७५/७६ बाट निर्माण सुरु गरिएको थियो । उक्त रंगशालाका लागि प्रदेश सरकारको एक करोड ४० लाख रुपैयाँ खर्च भएको छ । आव २०७५/७६ मा ४० लाख, २०७६/७७ मा ५० लाख र २०७७/७८ मा ५० लाख खर्चिएको वडाध्यक्ष दिनेशकुमार राईले बताए । उनका अनुसार अहिलेसम्म पहिलो जिल्ला लिग फुटबल प्रतियोगिताबाहेक अन्य खेल हुन सकेको छैन ।

उक्त नगरपालिका–२ सोल्मामा करिब ६० लाख रुपैयाँको लागतमा तयार गरिएको खेलमैदानमा अहिलेसम्म कुनै प्रतियोगिता हुन सकेको छैन । उक्त ठाउँमा भवन, शौचालयलगायतका पूर्वाधार निर्माण गरिए पनि बजेट अभावले खेलमैदानले पूर्णता नपाएको स्थानीय तथा जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राईले बताए ।

त्यस्तै उक्त नगरपालिका–५ लफ्याङमा करिब ५० लाख रुपैयाँको ‘रणजितमान राई’ खेलमैदान निर्माण गरिएको छ । उक्त ठाउँमा पनि खेलकुद गतिविधि भने कमै छ । २०७८ फागुनमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको जिल्लास्तरीय फुटबल प्रतियोगिताबाहेक अन्य ठूलो खेल हुन सकेको छैन । पहिलोलाई एक लाख ५१ हजार, दोस्रोलाई एक लाख एक हजार र सेमिफाइनलिस्ट दुई टिमलाई ३०/३० हजारका दरले पुरस्कार वितरण गरिएको थियो । उक्त मैदान स्थानीय रणजितमान राईका नातिहरू पञ्चशेर, सर्वजित, बालाचन्द्र र हर्कराजले निःशुल्क उपलब्ध गराएको ३० रोपनी जग्गामा निर्माण गरिएको हो । यो खेलमैदान अझै निर्माणाधीन अवस्थामा भएको र यो वर्ष पनि सामाजिक विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ उपलब्ध गराएकाले काम भइरहेको स्थानीय निर्मल राईले बताए ।

साकेला गाउँपालिकामा पनि तीनवटा ठूला खेलमैदान निर्माण गरिएको छ । उक्त पालिकाको वडा १ बाँझेच्यानडाडाँ, वडा न.ं ४ मात्तिमस्थित मानेभन्ज्याङ नौलाखर्क र दारुलाटारमा ठूला खेलमैदान निर्माण गरिएको छ । बाँझेच्यानडाडाँमा दस लाख, मानेभन्ज्याङ नौलाखर्कमा १५ लाख, दारुलाटारमा २० लाख रुपैयाँको लागतमा मैदान निर्माण गरिएको छ । यसमध्ये मानेभन्ज्याङ नौलाखर्कमा एकचोटि राष्ट्रपति रनिङ सिल्डबाहेक अन्य कार्यक्रम नभएको पूर्वगाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए ।

यसबाहेक उक्त नगरपालिका–१० पाथेकाको पाथेका खेलमैदान निर्माणमा दस लाख, वडा–११ स्थित खार्मीको शिखर खेलमैदानमा २० लाख, वडा–७ को दोर्पा खेलमैदानमा तीन लाख, वडा–३, बाम्राङको सिरिसे खेलमैदान र वडा ९, निर्मलीडाँडाको बेंसीटोल खेलमैदानमा पाँच/पाँच लाख गरी नगरपालिकाले बजेट लगानी गरेको छ । मैदान निर्माण भए पनि गतिविधि भने हुन सकेको छैन ।

कोभिड, वर्षालगायत कारण खेलकुद गतिविधि कम भएको जिल्ला फुटबल संघका अध्यक्ष राईको दाबी छ । यसबाहेक बजेट अभाव, खेलकुदप्रति राज्यको उदासीनता, पूर्वाधार तथा बाटोघाटोको समस्यालगायतले पनि प्रभाव पारेको उनी बताउँछन् । ‘खेलमैदान हुनेबित्तिकै खेलकुद गतिविधि भइहाल्छ भन्ने छैन,’ राईले भने,‘खेलकुदका लागि आवश्यक बजेट, पूर्वाधारलगायतले पनि निर्धारण गर्छ ।’

व्यस्त हलेसी तुवाचुङ

हलेसी तुवाचुङ नगरपालिकामा भने खेलकुद क्रियाकलाप तीव्र रूपमा भइरहेको छ । फुटबल, भलिबल, सितोरियो कराते र एथलेटिक्सको प्रशिक्षक नै नियुक्ति गरेर खेलकुद गतिविधि बढाइएको नगरप्रमुख विमला राईले बताइन् । फुटबल र भलिबल प्रशिक्षक सागर राई र कराते तथा एथलेटिक्स प्रशिक्षक मिलन कसजुलाई नियुक्त गरेर खेलकुद गतिविधि गरिरहेको राईले बताइन् ।

उक्त नगरपालिकाको हरेक वडामा खेलमैदान निर्माण गरिएको छ । वडा–५ दुर्छिममा रंगशाला निर्माणाधीन अवस्थामा छ । स्थानीय कृष्णराम राईले आठ रोपनी, मोतीप्रसाद राईका छोराहरू डडाकसिं, गान्दिपसिं, वीरबहादुर, देवबहादुर र हेमबहादुर राईले आठ रोपनी गरी १६ रोपनी जग्गामा कृष्णराम–मोतीप्रसाद रंगशाला निर्माण भइरहेको हो । उक्त कामका लागि नगरपालिकाको पाँच लाख, स्थानीयको पाँच लाख, प्रदेश सरकारको दस लाख, खेलकुद मन्त्रालयको दस लाख, भूसंरक्षण तथा जलाधारको आठ लाख गरी करिब ३८ लाख खर्च भइसकेको स्थानीय जनकराज राईले बताए ।

उक्त रंगशालाको नाम जग्गादाताहरूको नामबाट राखिएको राईले बताए । यो खेलमैदानमा २०७३ देखि २०७५ सम्म गोल्डकप फुटबल भएको छ । पहिलो टिमलाई एक लाख, दोस्रोलाई पचास हजार र सेमिफाइनलिस्टलाई १५/१५ हजार राशिको पुरस्कारको प्रायोजन पनि जनकराज राईले नै गरेका थिए । त्यसयता भने कोरोनाले खेल आयोजना गर्न नसकिएको प्रायोजक राईको भनाइ छ ।

प्रकाशित : असार १३, २०७९ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?