कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जयरानीको दिनहुँ कीर्तिमान

राष्ट्रिय एथलेटिक्समा दोस्रो दिनसम्म जयरानीको पोल्टामा चार स्वर्ण

काठमाडौँ — त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा शनिबारसम्म दुई राष्ट्रिय कीर्तिमानसहित ४ स्वर्ण पदक जितिसकेकी छन् ।

जयरानीको दिनहुँ कीर्तिमान

दशरथ रंगशालामा जारी प्रतियोगितामा शनिबार जयरानीले महिला ४ सय मिटर हर्डल्समा १ मिनेट ०७.२ सेकेन्डमा दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाइन् । जयरानीले २०६८ सालमा भएको छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् । आर्मीकी निर्मला थापाले १ मिनेट ०८.७ दौड पूरा गर्दै दोस्रो स्थान हात पारिन् । एपीएफकी कल्पना श्रेष्ठ १ मिनेट ०७.७ सेकेन्डबाट तेस्रो भइन् ।

शुक्रबार पहिलो दिन जयरानीले १०० मिटर हर्डल्समा पनि राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले प्रमिला थारुको नाममा रहेको १६.३८ सेकेन्डको कीर्तिमान तोड्ने क्रममा १५.२० सेकेन्ड कायम गरिन् । उनलाई यस इभेन्टमा वाग्मती प्रदेशका प्रकृति श्रेष्ठ र मीना कुमालले चुनौती दिएका थिए । उनीहरू दोस्रा र तेस्रा भए ।

पुरुष ११० मिटर हर्डल्समा आर्मीका जीवन थारुले १४.९६ सेकेन्डको नयाँ कीर्तिमान बनाएका थिए । उनले आफ्नै नामको १५.६० सेकेन्डको कीर्तिमान सुधारेका हुन् ।

जयरानीले शनिबार थप दुई इभेन्टबाट स्वर्ण जितिन् । उनले लङजम्पमा शिला चौधरी र सीमा चौधरीलाई पछाडि पार्दै ५.१३ मिटरका साथ स्वर्ण जितिन् । एपीएफकी शिलाले ५.०३ र पुलिस क्लबकी सीमाले ४.७८ मिटर जम्प गर्दै क्रमशः रजत र कांस्य जितेका थिए ।

चार गुणा १०० मिटर रिलेबाट पनि जयरानीले स्वर्ण थपिन् । उनीसम्मिलित सरस्वती चौधरी, रमिता थारू र निर्मला थापाको आर्मी टिमले ५०.१४ सेकेन्डमा दूरी पार गर्दै पहिलो स्थान हात पार्‍यो । एपीएफका शिला चौधरी, रमिताकुमारी थारू, भागरथी थारू र सीमा चौधरीको टिमले ५२.५३ सेकेन्डको टाइमिङबाट रजत जित्यो । कांस्य जितेको वाग्मती प्रदेशले ५३.५६ सेकेन्ड लगाएको थियो । वाग्मतीबाट लुजला अमात्य, स्वागता खाइजु, रजिना दुलाल र प्रकृति सुवालले खेलका थिए ।

८०० मिटर दौडको स्वर्ण आर्मीका सोमबहादुर कुमाल र महिलातर्फ एपीएफकी फुलमती रानाले जितेका छन् । सोमले १ मिनेट ५६.१५ सेकेन्डमा दूरी पार गर्दा फुलमतीले २ मिनेट १६.८ सेकेन्डमा पूरा गरिन् । पुरुषतर्फ आर्मीका सुनील सुनार र पुलिसका तेजबहादुर कार्की दोस्रो र तेस्रा भए भने महिलामा कर्णाली प्रदेशकी राममाया बुढा र आर्मीकी राधिका श्रेष्ठले क्रमशः रजत र कांस्य जिते ।

पुरुष ४०० मिटर हर्डल्सको स्वर्ण आर्मीका रामप्रसा थारुले जिते । उनले ५५.९ सेकेन्डको टाइमिङ लगाए । ११० मिटरका कीर्तिमानी आर्मीका जीवन थारू दोस्रा भए । उनको टाइमिङ ५६.७ सेकेन्ड थियो । मधेश प्रदेशका मुकेश ठाकुर (६५.१ सेकेन्ड) तेस्रा भए ।

लङजम्पमा एपीएफका सलिम दिवाम (६.८५ मिटर) र शेरबहादुर विष्ट (६.७५ मिटर) पहिलो र दोस्रो हुँदा लुम्बिनी प्रदेशका सुदीप थारु (६.६५मिटर) तेस्रो भए ।

ज्याभलिन थ्रो महिलातर्फ पुलिसकी चन्द्रकला लाम्गादे विजेता भइन् । लामो समयदेखि ज्याभलिनमा वर्चस्व राख्दै आएकी उनले यसपालि ४४.१२ मिटर टाढा ज्याभलिन फाल्न सफल भइन् । आर्मीकी लक्ष्मी थारू (४२.६५ मिटर) र एपीएफकी सीमा थारू (४१.३० मिटर) दोस्रो र तेस्रो भए । सोही विधामा पुरुषतर्फ आर्मीका रोहित चौधरीले बाजी मारे । उनले ६१.६० मिटरबाट स्वर्ण जिते । सुदूरपश्चिमका रमेश पोखरेल (५५.९६ मिटर) र लुम्बिनीका सौरभ थारु (४९.९० मिटर) दोस्रा र तेस्रा भएका छन् ।

२०० मिटर दौडको पुरुषतर्फको स्वर्ण एपीएफका शिवराज पार्कीले जितेका छन् । उनले २१.९२ सेकेन्डबाट पहिलो स्थान हात पारे । कर्णालीका डिल्ली भण्डारी (२२.४१) र एपीएफका आशिष चौधरी (२२.५०) ले रजत र कांस्य जिते । महिलातर्फ आर्मीकी सरस्वती चौधरीले स्वर्ण जितिन् । ओलम्पियन सरस्वतीले २५.४८ सेकेन्डमा दौड पूरा गरिन् । एपीएफकी रमिताकुमारी थारूले २७.०२ सेकेन्डबाट रजत र वाग्मतीकी लुजला अमात्यले २७.४० सेकेन्डबाट कांस्य पदक जिते ।

शिवराज शनिबारै अर्को स्वर्ण पनि जिते । उनले ४ गुणा १०० मिटर रिलेमा युवराज बिक, आशिष चौधरी र नीरप्रताप महतोको टिममा रहेर ४३.२४ सेकेन्डबाट स्वर्ण जितेका हुन् । आर्मी (४३.६५ सेकेन्ड) ले रजत तथा वाग्मती प्रदेश (४५.६४ सेकेन्ड) ले कांस्य पदक जिते ।

प्रकाशित : असार १२, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?