कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४४

डुंगा दौडमा सुनसरी विजेता

रामेछाप — रामेछापको मन्थली नगरपालिका ६ सुनकोसी नदीमा सम्पन्न प्रथम खुला डुंगाचाल प्रतियोगितामा नेपाल माझी उत्थान संघ सुनसरीले उपाधि जितेको छ ।

राष्ट्रिय खेलकुद परिषदले आयोजना र रामेछाप जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा भएको डुंगा दौड प्रतियोगिताको एकल र डबल्स दुवै प्रतिस्पर्धा सुनसरीले जितेको हो ।

एकलतर्फ चन्द्रबहादुर माझी र जीवन माझीले १ सय २० मिटर दुरी १ मिनेट २२ सेकेन्डमा पूरा गरेका थिए । सुनकोसीको भेल ठूलो भएकाले एकल प्रतिस्पर्धामा २ जना र डबल्समा ४ जना राखेर प्रतिस्पर्धा गराइएको थियो ।

नेपाल माझी उत्थान संघ रामेछापका जनक माझी र बुद्धिमान माझी (१ मिनेट ३२ सेकेन्ड) दोस्रो तथा नेपाल माझी उत्थान संघ सिन्धुलीका दीपक माझी र साजन माझी (१ मिनेट ३३ सेकेन्ड) तेस्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

डबल्सतर्फ पनि सुनसरी टिम (चन्द्र, जीवन, जितेन्द्र र भेषबहादुर माझी) ले १ मिनेट ५३ सेकेन्डमा नदी वारपार गरेर पुरस्कार जितेको थियो ।

सुनकोशी नदीमा वारिपारि पुगेर फर्केर आउनुपर्ने उक्त प्रतियोगितामा २० टोलीको सहभागिता थियो । युगलतर्फ नेपाल माझी उत्थान संघ सुनसरीका चन्द्रबहादुर माझी, जीवन माझी, जितेन्द्र माझी र भेषबहादुर माझी पहिलो बने । उनीहरूले निर्धारित १२० मिटर दूरी १ मिनेट ५३ सेकेन्डमा पार गरे । नेपाल माझी उत्थान संघ रामेछापका रामबाबु माझी, कुशमान माझी, काले माझी र भरत माझी १ मिनेट ५९ सेकेन्डमा दोस्रो भए । तेस्रो स्थानका नेपाल माझी उत्थान संघ रामेछापका सन्तोष माझी, बलबहादुर माझी, शान्ति माझी र कुमार माझीले २ मिनेट १२ सेकेन्डमा दूरी पूरा गरे । पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाए ।

माझी जातिको परम्परागत पेशा डुंगा तार्ने भएता पनि पुलको विकासले उक्त पेसा संकटमा परेको छ । सेलेघाटमा रहेको सिमलको परम्परागत डुंगा हेलेर सुनकोसी वारिपारि गर्ने उक्त प्रतियोगितामा युवकदेखि वृद्धसम्मले भाग लिएका थिए । प्रतियोगितामा भाग लिन माझी नै हुनुपर्ने नियम थियो ।

माझी पेसा र परम्परागत खेललाई जगेर्ना गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता गर्न मन्थली नगरपालिकाले सहयोग गरेको थियो ।

प्रकाशित : असार ७, २०७९ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×