क्यानमाथिको आर्थिक निलम्बन फुकुवा
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
ह्युस्टन, अमेरिका — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाउँदै आएको आर्थिक नियन्त्रण फुकुवा गरेको छ । यससँगै विश्व क्रिकेटको सर्वोच्च निकायले क्यानमाथि लगाउँदै आएको निलम्बन पूर्ण रूपमा फुकुवा भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![क्यानमाथिको आर्थिक निलम्बन फुकुवा](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/icc-can-1562022025934-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
आईसीसीले सरकारी हस्तक्षेप, विवादास्पद साधारणसभापछिको निर्वाचन, आर्थिक पारदर्शितालगायतका आरोप लगाउँदै क्यानलाई २०७३ साल वैशाखमा निलम्बन गरेको थियो । क्यानलाई निलम्बन गरे पनि आईसीसीले नेपाली क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भने खेल्न दिएको थियो ।
आईसीसीले बनाएको स्वतन्त्र समिति हुँदै सल्लाहकार समितिमार्फत २०७६ साल असोजमा गरेको क्यान निर्वाचनले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसको एक महिनापछि आईसीसीले क्यानमाथिको निलम्बन आंशिक रूपमा फुकुवा गरे पनि आर्थिक नियन्त्रण कायम राखेको थियो, जसका कारण त्यसयता क्यानले बनाएका कार्यक्रमहरूमा मात्र आईसीसीले रकम निकासा गर्ने गरेको थियो ।
‘निलम्बन फुकुवादेखि नै संघको निर्वाचन कार्यसमितिले आईसीसीको सम्पूर्ण मापदण्डहरूलाई क्रमश: पूरा गर्दै आर्थिक पारदर्शितामा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा आईसीसीले जेठ ३० मा पठाएको पत्रमार्फत संघको कन्ट्रोल फन्डिङ पूर्ण रूपमा हटाइसकेको जानकारी गराउँछौं,’ क्यानद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘अब उप्रान्त अन्य एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता एसोसिएट राष्ट्रहरूले सरह नेपालले आर्थिक अनुदान र गतिविधि गर्न पाउने जानकारी गराउँछौं ।’
अघिल्लो महिनामात्र आईसीसी एसियाकी वित्तीय तथा अप्रेसन अफिसर नितिशा कोठारी र आईसीसी एसियाका डेभलपमेन्ट म्यानेजर अमिनुल इस्लामले काठमाडौं भ्रमण गर्दै क्यानको पछिल्लो स्थितिका बारेमा जानकारी लिएका थिए ।
‘आईसीसीले क्यानमाथिको आर्थिक नियन्त्रण हटाउनु हाम्रा लागि गर्वको विषय हो, यो सबै एकै रातमा भएको होइन । हामी निर्वाचित भएर आएयता सुशासन र आर्थिक पारदर्शिता कायमै राख्दै हामी यो नतिजा हात पार्न सफल भएका हौं,’ अमेरिका भ्रमणमा रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘अब हामी आफैंले चाहेजस्तो योजना र नीति बनाएर अगाडि बढ्न सक्छौं ।’
चन्दसँगै आईसीसी विश्वकप लिग २ को म्याच हेर्न ह्युस्टन आएका क्यान कोषाध्यक्ष रोशन सिंहले नेपाली क्रिकेट अब पूर्ण रूपमा आईसीसीबाट फुकुवा भएको जनाउँदै क्यानलाई अब खुलेर काम गर्न सजिलो हुने बताए । ‘आईसीसीको आर्थिक नियन्त्रणमा रहेका कारण क्यानले चाहेर पनि केही गर्ने स्थितिमा थिएन, हामीले केही गर्नुपरे पनि आईसीसीबाट स्वीकृति लिनुपर्ने अवस्था थियो,’ सिंहले भने, ‘अन्य पक्षमा आईसीसी सहज भए पनि आर्थिक हिसाबमा निलम्बन रहेका कारण क्यान नै निलम्बन रहे जस्तो देखिन्थ्यो । आर्थिक नियन्त्रण फुकुवा भएसँगै क्यान अब नयाँ दिशामा अगाडि बढ्ने छ ।’
आईसीसीले क्यानलाई वार्षिक झन्डै ७ लाख ५० हजार डलरको फन्ड दिँदै आएको छ । मार्चयता आईसीसीले क्यानलाई वार्षिक फन्डमा थप ६ लाख २० हजार डलर थपिदिएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)