कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालविरुद्ध ओमानको पहिला ब्याटिङ

विनोद पाण्डे

ह्युस्टन, अमेरिका — ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेललाई समावेश गर्दै नेपालले विश्वकप लिग २ क्रिकेटमा ओमानविरुद्ध खेल्न लागेको छ । ओमानले मोसा क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । अमेरिका भ्रमणमा लिग २ को पहिलो खेलमा नेपाल बिहीबार ओमानसँग १३ रनले पराजित हुँदा आसिफ र कुशल दुबै चोटका कारण खेल खेलेका थिएनन् ।

नेपालविरुद्ध ओमानको पहिला ब्याटिङ

अभ्यास खेलहरुमा यी दुई घाइते भएपछि सुवास खकुरेललाई नेपालबाट झिकाई ओमानसँगको खेलमा उनले र सुनिल धमलाले ओपनिङ ब्याटिङ गरेका थिए । दुबैले सम्झनलायक प्रदर्शन गर्न सकेका थिएनन् ।

अमेरिकासँग शनिबार दोस्रो खेलमा टिममा फर्किएर आसिफ र कुशल दुवैले ब्याटिङ गरेका थिए । आसिफले कुशलसँग मिलेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । यी दुईले १२ ओभरभित्र पहिलो विकेटमा ५६ रन जोडेका थिए । कुशलले ३६ बलमा १९ र आसिफले ७० बल खेली ६ चौकासहित ६१ रन बनाएका थिए ।

तर दुबै फिल्डिङका क्रममा घाइते भएका थिए । विकेटकिपिङका क्रममा आसिफलाई उनको चोटग्रस्त घुँडामा बलले लागेको थियो । कुशल फिल्डिङका क्रममा घाइते भएका थिए । जसका कारण दुबैले प्रतियोगिताको थप खेल खेल्नेमा शंका गरिएको थियो । तर दुवैले सोमबार नेट्समा ब्याटिङका लागि समय बिताएका थिए ।

नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । सुशन भारीको स्थानमा अर्का देव्रे हाते स्पिनर सागर ढकाललाई समावेश गरिएको छ । पहिलो दुई खेलमा सुशनले कुनै विकेट लिन सकेका थिएनन् ।


लिग २ को ३ वर्षे साइकलमा यो ओमानको अन्तिम खेल हो । ३५ खेल खेलेको ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ । नेपालले १४ खेल मात्र खेलेको छ र १३ अंकसहित सात राष्ट्र सहभागी प्रतियोगिताको छैटौं स्थानमा छ ।

लिग २ अर्को वर्ष हुने एकदिवसीय विश्वकप छनोट र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको आधार हो । अमेरिकामा भइरहेको लिग २ नेपालको चौथो शृंखला हो । लिग २ मा सहभागि ७ टोलीले ९ शृंखला अर्थात् ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नु पर्ने प्रावधान छ ।

लिग २ को शीर्ष ३ टोली सोझै जुलाईमा हुने एकदिवसीय विश्वकप छनोटमा पुग्नेछन् भने चौथो र पाँचौं हुने टोलीले शीर्ष तीन टोलीले जस्तै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्दै विश्वकप छनोटमा पुग्ने अर्को मौका पाउने छन् ।

पहिलो खेलमा अमेरिकासँग १ सय १४ रनले पराजित ओमानले त्यसपछि नेपाल र अमेरिकालाई समान १३ रनले पराजित गरेको थियो । नेपाल र अमेरिका बीचको अघिल्लो खेल ‘टाई’मा टुंगिएको थियो ।

प्रकाशित : जेष्ठ ३१, २०७९ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?