१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
मकवानपुर गोल्डकप

उपाधि रक्षाको बाटोमा आर्मी

सुवास विडारी

मकवानपुर — साबिक विजेता त्रिभुवन आर्मी फुटबल क्लब हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार भएको खेलमा क्यामरुनी क्लब एभिनियर एफसीलाई पेनाल्टी शुटआउटमा ११–१० ले पराजित गर्दै विभागीय क्लब आर्मी फाइनलमा पुगेको हो । सोमबार हुने फाइनलमा आर्मीले स्थानीय टोली विजय युथ क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

उपाधि रक्षाको बाटोमा आर्मी

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णयका लागि पेनाल्टी शुटआउटको सहारा लिइएको थियो । सुरुआतीमा ३–३ गोलको बराबरीपछि खेल सडनडेथतर्फ अगाडि बढेको थियो । ११–११ खेलाडीले पेनाल्टी प्रहार गर्दा ८–८ गोलको बराबरी भयो । त्यसपछि आर्मीले तीनै पेनाल्टीमा गोल गर्दा एभिनियरको अन्तिम पेनाल्टी सदुपयोग हुन नसक्दा पराजित हुनपुग्यो ।

सुरुआती ५–५ पेनाल्टी प्रहारमा आर्मीका दीपक गुरुङ, सीमान्त थापामगर र दिनेश हेन्जनले गोल गर्न सफल भए । कमलबहादुर थापाको प्रहार पोलमा लाग्दै बाहिरिँदा सन्तोष केसीले गोल गर्न सकेनन् । सडन डेथमा आर्मीका युद्ध शाही, विकेश कुथु, सुरज बस्नेत, विमल पाण्डेय र भरत खवासले गोल गर्दा जितेन्द्र कार्कीले गोल गर्न सकेनन् । त्यसपछि पुन: दीपक गुरुङ, दिनेश हेन्जन र सीमान्त थापा गोल गर्न सफल भए ।

आर्मीलाई खेलको ४९ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, आर्मी अन्तिम समयमा सम्हालिन नसक्दा गोल खान पुगेको थियो । जिकाले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै क्यामरुनी टिमलाई खेलमा फर्काएको थियो । म्यान अफ द म्याच आर्मीका दिनेश हेन्जन भए । उनले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । एभिनियरका प्रशिक्षक आशिक थापा मगरले पटक–पटक पाएको मौकालाई सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको प्रतिक्रिया दिए । ‘खेलमा धेरै राम्रा मौका पाएका थियौं । त्यसलाई सदुपयोग गर्न सकेनौं । अन्तिम केही सेकेन्ड बाँकी हँुदा खेलमा फर्किएर पनि हार बेहोर्न बाध्य भयौं,’ उनले भने । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले अन्तिममा डिफेन्सलाइनमा चुक्दा खेल बराबरीमा पुगेको र जितका लागि सडनडेथसम्म कुर्नुपरेको प्रतिक्रिया दिए ।

विजय युथले शुक्रबार विभागीय नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १२ टोलीको सहभागिता रहेको प्रतियोगिता विजेताले उपाधिसहित १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : जेष्ठ २९, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?