कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभ्यास खेलमा नेपालको हार

विनोद पाण्डे

ह्युस्टन, अमेरिका — आईसीसी विश्वकप लिग २ को तयारीको क्रममा अमेरिकामा रहेको नेपाली क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । नेपाली अल स्टार्सले बिहीबार नेपाललाई ४ विकेटले पराजित गरेको छ ।

अभ्यास खेलमा नेपालको हार

अल स्टार्सका कप्तान पृथु बाँस्कोटाले टस जितेपछि ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४५.५ ओभरमा ९ विकेट गुमाई १ सय ९० रनमात्र बनाउन सक्यो । ओपनर आसिफ शेख ४ बल खेली १ रनमात्र बनाएको अवस्थामा रिटायर्ड आउट भए । उनलाई बलले घुँडामा लागेको थियो । चोटपछि मैदान छाडेका आसिफ स्क्यान गराउन अस्पताल पुगेका थिए । चोटको रिपोर्ट आउन बाँकी रहेको छ ।

अर्का ओपनर कुशल भुर्तेलबाट पनि नेपाल निराश हुन पुग्यो । उनी खेलको पहिलो बलमा पाकिस्तानी मोहम्मद इल्यासबाट आउट भए । देव खनालले २० रन बनाए । एक पटक क्याच फुत्किएर पाएको जीवनदानको उनले फाइदा उठाउन सकेनन् । उनले ५६ बल खेली १ चौका प्रहार गरे ।

उपकप्तान रोहित पौडेल १६ र सुनील धमला ४ रनमा आउट भएपछि नेपाल १९औं ओभरमा ६२-४ को स्थितिमा पुगेको थियो । आरिफ शेख र विनोद भण्डारीले पाँचौं विकेटमा ४७ रनको साझेदारी गरे । पृथुले सानदार क्याच गरेपछि पेभेलियन फर्किएका विनोदले ५१ बल खेली ३ चौकासहित ५६ रन बनाए ।

आरिफले ६० रनको अविजित इनिङ्स खेले । उनले ७४ बल खेली ५ चौका प्रहार गरे । सोमपाल कामी २ रनमै आउट भए । आदिल अन्सारीले दुई छक्का प्रहार गर्दै ११ बलमा १६, करण केसीले १७ बलमा २ छक्का र १ चौका प्रहार गर्दै २१ र कप्तान सन्दीप लामिछानेले ७ रन बनाए । नेपाली अल स्टार्सबाट मार्टी केइनले ६ ओभरमा १ मेडन राख्दै ३ तथा इल्यास र आदिल भाटीले २–२ विकेट लिए ।

इन्डियन प्रिमियर लिगमा पञ्जाब किंग्स ११ र हैदराबादबाट खेलिसकेका विपुल शर्माले ५० रन बनाएपछि पेरिरी भ्यु क्रिकेट कम्प्लेक्स मैदानमा नेपाली अल स्टार्सले ३३.५ ओभरमै लक्ष्य पूरा गर्‍यो । प्लेयर अफ द म्याच शर्माले ५१ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे ।

एन्ड्रेज गाउज र उदय कौलले पहिलो विकेटमा आक्रामक हिसाबले ९ ओभरभित्र ५५ रन जोडेर अल स्टार्सको विजयको आधार तयार पारेका थिए । कौल १३ रनमा आउट भए भने गाउसले ३३ बल खेली ९ चौकासहित ४५ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले कौल र गाउससहित नितीश कुमार (९), पृथु (०) र केइन (१२) लाई आउट गरी ५ विकेट लिए पनि शर्माको इनिङ्स अल स्टार्सलाई विजय दिलाउन पर्याप्त बनेको थियो ।

सन्दीपले सोक्रममा १० ओभरमा १ मेडन राख्दै ४९ रन खर्चेर ५ विकेट लिए । नेपालबाट अर्को एक ओभर किशोर महतोले लिए । अल स्टार्सका गौरव बजाजले ५८ बल खेली २ चौकासहित अविजित ४० रन बनाए । विजयी र उपविजयी टोलीलाई गैह्रआवसीय नेपाली समाजका अध्यक्ष बुद्धिसागर सुवेदी र ह्युस्टन नेपाली समाजका अध्यक्ष विष्णु नेपालले पुरस्कृत गरे ।

नेपालले शनिबार यही मैदानमा ह्युस्टन हरिकन्ससँग दोस्रो अभ्यास खेल खेल्ने छ । विश्वकप लिग २ को खेल जुन ८ बाट सुरु हुनेछ । नेपालले जुन ९ मा ओमानसँग आफ्नो पहिलो खेल खेल्ने छ । त्यस्तै जुन ११ मा अमेरिका, १४ मा ओमान र १५ अमेरिकासँग लिग २ का खेलहरू खेल्ने छ ।

प्रकाशित : जेष्ठ २०, २०७९ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?