धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर एकेडेमीलाई- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर एकेडेमीलाई

चित्रांग थापा

धनगढी — शनिबार धनगढीमा भएको क्लबस्तरीय धनगढी सुपर लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि जितेको हो । विजेता टिम महेन्द्रनगरले २ लाख पुरस्कार रकम प्राप्त गरेको छ भने उपविजेता बनेको लिटल फ्लावरले १ लाख प्राप्त गर्‍यो ।

कैलालीको धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ थालेको महेन्द्रनगर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले १८.३ ओभरमा १ सय १८ रन मात्रै बनाउन सक्यो । उसका लागि दीपक बोहराले सर्वाधिक ४१ रन बनाए । नरेन भट्टले १८, अभिषेक पालले टिमलाई १३ र सन्दीप खत्रीले १२ रनको योगदान दिए । बलिङतर्फ महेन्द्रनगरका सन्तोष भट्टले ४ विकेट लिए । हेमन्त धामी र विपिन धामीले समान २/२ तथा राहुल भण्डारी र विकास आग्रीले समान १/१ विकेट लिए ।

त्यसअघि महेन्द्रनगरका लागि विशाल ऐरले ३३ र सन्तोष भट्टले २१ रन बनाए । उसका राहुल भण्डारी, हेमन्त धामी र विकास आग्रीले समान १३/१३ रन बनाए । बलि तर्फ लिटल फ्लावरका कृष्ण कार्कीले ३, दीपक बोहरा र कुशल रुपाखेतीले २/२ तथा प्रकाश जैसी र सन्दीप खत्रीले समान १/१ विकेट लिए । फाइनल खेलको प्लेयर अफ दि म्याच सन्तोष भट्ट घोषित भए ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी लिटल फ्लावरका दीपक बोहरा घोषित भए । उनले १५ हजार प्राप्त गरे । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान धनगढी क्रिकेट एकेडेमीका राजु रिजाल, धनगढी क्रिकेट एकेडेमीका हिक्मत महरा उत्कृष बलर तथा प्रतियोगिताका उदयमान खेलाडीसमेत बन्न सफल भए । उनीहरूले जनही ७ हजार ५ सय पुरस्कार रकम प्राप्त गरे । विजेताहरूलाई एक समारोहकाबीच सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका लगायतले पुरस्कार वितरण गरेका थिए ।

जेठ ६ गतेबाट सुरु भएको टी–२० क्लब क्रिकेट प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुंगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी, महेन्द्रनगर क्रिकेट एकेडेमी, लिटल फ्लावर क्रिकेट क्लब धनगढी र कैलाली जिल्ला क्रिकेट क्लब धनगढीले सहभागिता जनाएका थिए ।

प्रकाशित : जेष्ठ १५, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्

सचिवालय सुदृढीकरण पहिलो काम : नवनिर्वाचित मेयर हमाल

चित्रांग थापा

धनगढी — सुदूरपश्चिम प्रदेशको एक्लो उपमहानगरपालिका धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले विजयी भएका छन् । उनले सत्ता गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य एवं निवर्तमान नगरप्रमुख नृपबहादुर वडलाई झन्डै दोब्बर मतले पराजित गरेका हुन् । आँप चुनाव चिह्न पाएका हमालले २६ हजार ८ सय ६५ मत र वडले १४ हजार ८ सय १७ मत पाए । उनै नवनिर्वाचित मेयर हमालसँग गरिएको संक्षिप्त कुराकानी :

पद बहालीपछि पहिलो महत्त्वपूर्ण काम के गर्नुहुन्छ ?

मेरो पहिलो प्राथमिकता उपमहानगरपालिकाको सचिवालय सुदृढीकरण गर्नेछ । आर्थिक वर्षको अन्त्यतिर आइपुगेका छौं । चालु आर्थिक वर्षका अधुरा योजना पूरा गर्ने गरी काम गर्नेछौं ।

भोट माग्दा गरेका वाचा पूरा गर्न कत्तिको चुनौती देख्नुभएको छ ?

शिक्षा, स्वास्थ्य सेवा र अव्यवस्थित सहरी क्षेत्रको विकास चुनौतीपूर्ण नै छन् । बेरोजगारी अर्को ठूलो समस्या छ । जसरी पनि धनगढी बनाउने योजना हो । चरणबद्ध रूपमा सबैबाट सहयोग लिएर अघि बढ्छु ।

विकासका कुरा गर्दा सबै काम एकैपटक सम्भव छ र ?

म आफू पूर्णरूपले समर्पित भएर काममा जुट्छु । विकासको कुरा गर्दा प्रणालीको विकास प्रमुख कुरा हो । सचिवालयलाई जवाफदेही बनाएर नगरको पञ्च वर्षीय योजनासँगै गुरुयोजना तयार गरेर अघि बढ्ने मेरो प्रतिबद्धता छ ।

नगरका प्रमुख समस्या के हुन् ?

अव्यवस्थित सहरीकरण प्रमुख समस्या हो । ऐलानी जग्गा व्यवस्थापन, तटबन्ध निर्माण, ढल निकासजस्ता सहरी क्षेत्रका समस्या समाधान गर्नका लागि हामी योजनाबद्ध तरिकाले अगाडि बढेमा पक्कै समाधान हुने विश्वास छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ १०:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×