कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
च्याम्पियन्स लिग फाइनल

'लिभरपुलको यात्रा जादु होइन'

रियल म्याड्रिड कीर्तिमानी १४ औं पटक च्याम्पियन बन्ने होडमा हुँदा लिभरपुल बदला लिने दाउमा हुनेछ
एएफपी

लिभरपुल — योर्गन क्लोप भन्छन्, ‘हामी त्यसै युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेका होइनौं, यसमा जादु छैन । हामी यसका लागि हकदार छौं ।’ स्टाडे डे फ्रान्समा शनिबार हुने फाइनलमा लिभरपुलको बाटोमा चुनौती तेर्साएर बसेको हुनेछ रियल म्याड्रिड । चार वर्षअगाडि पनि लिभरपुलले च्याम्पियन्स लिग खेलेको थियो । क्लबका गुरु थिए तिनै क्लोप । किभमा सम्पन्न उक्त फाइनलमा लिभरपुल उही रियलसँग ३–१ ले पराजित रह्यो । 

'लिभरपुलको यात्रा जादु होइन'

त्यसमा गोलरक्षक लोरिस कुरियसले दुई ठूला गल्ती गरे अनि मोहम्मद सलाह चोट बोक्दै चाँडै मैदान छाड्न बाध्य रहे । क्लोप त्यो खेल सम्झेर अहिले भन्छन्, ‘त्यो रात हाम्रा लागि खुबै पीडादायी रह्यो ।’

तर त्यसको एक वर्षपछि नै लिभरपुलका लागि खुसी फर्केको थियो । म्याड्रिडमा भएको खेलमा लिभरपुलले टोटेनहमलाई हराएर छैटौंपल्ट च्याम्पियन्स लिग जित्यो । त्यो फाइनलका लागि लिभरपुलले आफ्ना सबै समस्या सच्याएको थियो । त्यसपछि त क्लोपले लिभरपुलको लिग उपाधिका लागि ३० वर्षको पखाईमा पनि पूर्णविराम लगाए । सन् २०२० मा लिभरपुल इंग्लिस प्रिमियर लिग जित्न पनि सफल रह्यो । लिभरपुल आएबित्तिकै क्लोप भन्थे, ‘यदि म लिभरपुलमा चार वर्ष रहें भने कम्तीमा एक उपाधि जित्नेमा म विश्वस्त छु ।’

अहिले त्यसो भनेको पनि ७ वर्ष भइसक्यो । अहिले तत्काल लिभरपुल एकै सिजन तीन ठूला उपाधि जित्ने संघारमा छ । त्यसमध्ये लिग कप र एफए कप त जितिसकेको छ । शनिबार फाइनल खेल लिभरपुलले यो सिजन खेल्ने ६३ औं खेल हुनेछ । त्यसको अर्थ लिभरपुलले आफू सहभागी सबै प्रतियोगिताको अन्तिम खेल खेलेको छ । घरका दुई कप जिते पनि लिरभपुललाई इंग्लिस प्रिमियर लिग जित्न म्यानचेस्टर सिटीले रोकेको थियो । व्यवस्थापक क्लोप भन्छन्, ‘च्याम्पियन्स लिग सफलताविना पनि हाम्रा लागि यो सिजन राम्रो रहने छ । यदि हामी च्याम्पियन्स लिग जित्न सक्यौं भने हाम्रा लागि यो सिजन वास्तवमै उत्कृष्ट रहनेछ ।’

लिभरपुलको यो यात्राको श्रेय उनै क्लोपलाई मात्र जान्न । यसका लागि धेरैलाई धन्यवाद दिनुपर्ने हुन्छ । त्यसमध्ये एक हुन्, क्लब छाड्न लागेको स्पोर्टिङ डाइरेक्टर मिचेल एडवार्ड्स । उनले ट्रान्सफर मार्केटमा खुबै मज्जाले खेल्दै एकपछि अर्को उत्कृष्ट खेलाडी अनुबन्ध गर्न मदत गरेका छन् । लिभरपुलको यो सफलतामा खेलाडीको योगदान त झन कसरी बिर्सन सकिन्छ र ? पूर्व खेलाडी जिमी कारिघर भन्छन्, ‘सबैभन्दा ठूलो श्रेय त खेलाडीलाई नै जान्छ ।’ उनी थप्छन्, ‘तर लिभरपुलको सबैभन्दा माथिल्लो पदमा त्यस्ता व्यवस्थापक छन्, जसलाई विशेष मान्न सकिन्छ ।’

लिभरपुल सम्हालेयता क्लोपले ६ ठूला उपाधि जितिसकेका छन् । यदि यस बाटोमा लिभरपुललाई बाधा तेर्स्याउने पेप ग्वार्डिओलाको सिटी नभएको भए अझ के के हुन्थ्यो, त्यो कल्पनामात्र गर्न सकिन्छ । क्लबका पूर्वकप्तान स्टेफेन जेरार्डले ठीकै भनेका छन्, ‘क्लोप त्यस्ता फुटबल प्रशिक्षक हुन्, जसलाई लाखौंमा एक पाइन्छ ।’

प्रकाशित : जेष्ठ १४, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?