कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अगाडि आए शुक्रबहादुर

काठमाडौँ — शुक्रबहादुर राईले गोकर्ण गल्फ क्लबमा ६ अन्डर ६६ स्कोर गर्दै सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन बुधबार शीर्षस्थानमा उक्लिएका छन् । उनले समग्रमा १६ अन्डर २०० खेल्दै अघिल्लो दिन शीर्षस्थानमा रहेका नीरज तामाङलाई एक स्ट्रोकले उछिनेका हुन् ।

अगाडि आए शुक्रबहादुर

सूर्य नेपाल गल्फ टुर २०२१–२२ को आठौं प्रतियोगितामा नीरज १५ अन्डर २०१ को स्थितिमा छन् । उनले तेस्रो चरणमा तीन अन्डर ६९ को कार्ड बनाए । एमेच्योर वान्चेन ढोन्डुप दुई अन्डर ७० स्कोर गर्दै तेस्रो स्थानमा रहे । उनको कुल स्कोर १२ अन्डर २०४ भएको छ ।

प्रोफसेनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) ‘कार्ड’ हासिल गरेका शुक्रले सुरुका ९ होलमा ४ अन्डर ३२ स्कोर गरे भने पछिल्ला ९ होलको स्कोर दुई अन्डर ३४ मा राखे । त्यसक्रममा उनले पहिलो, तेस्रो, पाँचौं, छैटौं, बाह्रौं, सोह्रौं र अठारौं होलमा बर्डी गरे । उनले दिनको एकमात्र बोगी ११ औं होलमा बेहोरे । नीरजले सुरुका ९ होलमा दुई अन्डर ३४ खेल भने त्यसपछि एक अन्डर ३५ स्कोर गरे । उनले तेस्रो, नवौं, तेह्रौं र १७ औं होलमा एक–एक स्ट्रोक जोगाएर बर्डी गरेका उनी १४ औं होलमा एक शट बढी खेल्दै बोगीमा परेका थिए । दुई अन्डर ७० खेलेका भुवन नगरकोटी समग्रमा १० अन्डर २०६ सहित चौथोमा छन् । पूर्ण शर्मा र एमेच्योर महेन्द्र फगामी समान सात अन्डर २०९ स्कोरसहित शीर्ष पाँचमा रहे । तेस्रो चरणमा पूर्णले १ अन्डर ७१ र महेन्द्रले चार अन्डर ६८ स्कोर गरे । भुवनकुमार रोका र एमेच्योर आरभ शाह समान ५ अन्डर २११ सहित सातौंमा छन् ।

तेस्रो चरणमा आरभले १ अन्डर ७१ र भुवनले इभन पार ७२ को कार्ड बनाए । त्यस्तै, ५ अन्डर ६७ खेलेका सूर्यप्रसाद शर्मा र दुई अन्डर ७० स्कोर गरेका रवि खड्का समान चार अन्डर २१२ को स्थितिमा शीर्ष दसमा अटाए ।

सुरुका दुई दिन उत्कृष्ट प्रदर्शन गरेका एमेच्योर सदभाव आचार्यले अन्तिम ९ होलमा लय गुमाएपछि सात ओभर ४३ खेल्न पुगे । त्यसैले तेस्रो दिन ६ ओभर ७८ खेलेका उनी समग्रमा तीन अन्डर २१३ सहित ११ औं स्थानमा रहे । अर्का एमेच्योर सुभाष तामाङको प्रदर्शन पनि औसतमात्रै रह्यो । एक अन्डर ७१ खेलेका उनी समग्रमा दुई अन्डर २१४ सहित १२ औं स्थानमा छन् । बिहीबार टुंगिने सिजनको यो अन्तिम प्रतियोगितामा कुल पुरस्कार १४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित : जेष्ठ १२, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?