कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पारा भारोत्तोलनमा दुर्गामानको कीर्तिमान

काठमाडौँ — दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजीमुनि तौलमा दुर्गामानले ९० केजी उचाल्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गरे । राजाराम सिलवाल दोस्रो भए ।

पारा भारोत्तोलनमा दुर्गामानको कीर्तिमान

राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा अर्जुन दोङ पहिलो भए । उनले ६० केजी तौल उठाए । दीपक तिमल्सिना दोस्रो तथा सोमनाथ राई तेस्रो भए । ६५ केजीमा ठाकुर श्रेष्ठले शीर्षस्थान हात पारे । उनले ९० केजी उचाले । निर्मल श्रेष्ठले रजत र विष्णुपुकार श्रेष्ठले कांस्य जिते । ७२ केजीमाथि किरणकिशोर सापकोटाले ९० केजी उचाल्दै स्वर्ण जिते । शरद पौडेल दोस्रो र भरत बिसी तेस्रो बने ।

महिला खुलामा सरिता थुलुङ पहिलो भइन् । सरिताले ५२ केजी उचालिन् । निर्मला भण्डारी दोस्रो र टिना महर्जन तेस्रो भए । विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, काठमाडौं जिल्ला शारीरिक सुगठनका अध्यक्ष सुरेश सुवेदी, आयोजक संघका अध्यक्ष टेकबहादुर गुरुङले पुरस्कृत गरे ।

एकदिने प्रतियोगिताको पुरुषको चार स्पर्धामा ३२ खेलाडी र महिलाको एक स्पर्धामा ५ खेलाडी सहभागी थिए । पारा राष्ट्रिय खेलकुदअन्तर्गत ५ खेल प्रतियोगिता हुन बाँकी छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?