किरणबाहेकको फुटबल टोली घोषणा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किरणबाहेकको फुटबल टोली घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — कप्तान तथा गोलरक्षक किरण लिम्बूबिना नै एसिया कप छनोट तेस्रो चरणका लागि शुक्रबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरिएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेको २३ सदस्यीय टिममा किरण परेनन् । उनले पनि प्रशिक्षकविरुद्ध आवाज उठाएका खेलाडीको पक्षमा बोलेका थिए ।

ती विद्रोही १० खेलाडीको अनुपस्थितिमा टिममा चार नयाँ अनुहारले स्थान पाएका छन् । त्यसमा विकास तामाङ, शिव गुरुङ, नीरकुमार राई र रोशन रानामगर छन् । नेपालले एसिया कप छनोट तेस्रो चरणको समूह ‘ए’ का खेलमा जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्नेछ । समूहका सबै छनोट खेल कुवेतमा हुनेछ ।

घोषित टिमका खेलाडीमा दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा, विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल, आकाश बुढामगर, एरिक विष्ट, नीरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदम्बे, सुनील बल, सुरजज्यू ठकुरी, आयुश घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनीष डाँगी र नवयुग श्रेष्ठ छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

चौथो खेलमा जितको स्वाद

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘डेब्यु’ गरिरहेकी हिरनमायी रोयले सानदार बलिङ प्रदर्शन गरेपछि नेपाली महिला क्रिकेट टोलीले युगान्डासँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो जित हात पारेको छ । पहिलो तीन खेल नै हारेर शृंखला गुमाइसकेको नेपालले शुक्रबार चौथो खेलमा युगान्डामाथि १५ रनको विजय नतिजा निकाल्यो । 

अघिल्लो दिनको वर्षाले मैदान भिजेका कारण १८–१८ ओभरमा छोट्याइएको खेलमा टस जितेको नेपाल १७.५ ओभर खेल्दै ९७ रनमा अलआउट भयो । जबाफमा युगान्डाले निर्धारित पूरा ओभर खेल्दै ८ विकेट गुमाई ८२ रनमात्र बनाउन सक्यो ।

नेपालबाट ओपनर ज्योति पाण्डेले सर्वाधिक १७ रन बनाइन् । उनले १३ बल खेली ४ चौका प्रहार गरिन् । अर्का ओपनर विन्दु रावलले ३५ बलमा १६ र सीता रानामगरले ११ रन बनाए । उपकप्तान इन्दु बर्मा १, सरिता मगर २, कप्तान रुबिना क्षेत्री १, अप्सरी बेगम ४, डली भट्ट र अस्मिना कर्माचार्यले ६–६ रन बनाए । कविता कुँवर ६ रनमा अविजित रहिन् ।

युगान्डाकी कप्तान कोन्की अवेकोले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् । सराह अकिटेङले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर २ तथा फिओना कुलुमे र जेनेट एमबाबाजीले १–१ विकेट लिए । १५ वर्षीया लेग स्पिनर हिरनमायीले ३ ओभरमा ११ रनमात्र खर्चेर २ विकेट लिएपछि युगान्डा विजय गति रोकिएको थियो । उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) की वित्तीय एवं अप्रेसन अफिसर नितिशा कोठारीले प्लेयर अफ द म्याचको पुरस्कार प्रदान गरिन् । कविता कुँवर, अस्मिना र रुबिनाले १–१ विकेट लिए ।

युगान्डाबाट सर्वाधिक २१ रन बनाएकी जेनेटलाई हिरनमायीले बोल्ड गरेकी थिइन् । रिता नयनगेन्डो र इभेलिन एनिइपोले १६–१६ तथा केभिन अविनोले ११ रन बनाए । पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।

प्रकाशित : जेष्ठ ७, २०७९ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×